जाजरकोटवासीको सडक सपना अधुरै, आधा दर्जन सडक र पुल अलपत्र , यथासिघ्र निर्माण गर्न माग

जाजरकोट, सम्बन्धित निकायको उदासिनता , ढिलासुस्ती र लापरवाहीले जिल्लाका महत्वपुर्ण सडक र पुलहरुको निर्माण कार्य अलपत्र परेपछि जिल्लाबासीको सडक सपना अधुरै रहेको छ । लामो समय देखि सुरु भएपनि अलपत्र अवस्थामा रहेका आधा दर्जन वढी सडक र पुलको निर्माण कार्य यथासिघ्र सम्पन्न गर्न स्थानियले माग गरेका छन् । जिल्लाका रणनैतिक सडक र पुलमा प्रयाप्त बजेट विनियोजन नहुनु , बिनियोजित बजेटको पनि निर्माण कम्पनीको ढिलासुस्ती तथा लापरवाहीले म्याद सकिदा समेत काम सम्पन्न नहुनु र सडक डिभिजनको उदासिनताले गर्दा ति आयोजना अलपत्र परेका हुन् । जिल्ला सदरमुकाम गाडी पुगेको १० बर्ष विति सक्दा पनि सदरमुकाम बाहिरका स्थानमा यातायात सेवा पुग्न सकेको छैन ।
निर्माण शुरु भएको १० वर्ष सम्म पनि गुणस्तरीय काम नहुँदा अलपत्र अवस्थामा रहेको खलंगा– पाँचकाटिया सडक , खलंगा–पाँचकाटिया–पैक– ब्याउलीढुङ्गा–जुम्ला , खलंगा–पाँचकाटिया–बारेकोट–जुम्ला र छेडा–चाँदे–जुम्ला सडक जस्ता रणनैतिक सडक , जाजरकोट–डोल्पा भेरीकरिडोरमा अलपत्र बैरीताल चिसापानी पुल , छिन्चु –जाजरकोट सडकमा अलपत्र पासागाड सिम्ली खोलामा मोटरपुल समयमा नबन्दा जाजरकोटबासीको यातायात सपना पुरा हुन पाएको छैन । सदरमुकाम खलंगा आउन अहिले पनि ग्रामिण भेगका बासिन्दा पैदल हिड्नुको विकल्प छैन । कार्कीगाँउ ६ का अमरबहादुर बस्नेतले भने सडक निर्माणले गति लिन नसक्दा अधिकांश बासिन्दा पैदल हिड्न बाध्य छन् । विरामीलाई उपचारमा लैजान र उपभोग्य समान लिन अहिले पनि डोकोमा बोक्नु पर्ने बाध्यता छ ।
जाजरकोट–डोल्पा सडकको रिम्ना खण्डमा करीव ४ सय मिटर सडक पुलको पहुँच मार्ग नबनाएर बषौं देखि अलपत्र पार्दा सिधा यातायात संचालनमा समस्या भएको छ । रणनैतिक महत्वका छेडा –चाँदे –जुम्ला र खलंगा– पाँचकाटिया– जुम्ला सडकमा चालु आर्थिक बर्षमा रकम विनियोजन नै नगरेपछि स्थानिय आक्रोशित भएका छन् । अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने भन्दै सडक डिभिजनलाई आशयपत्र लेखिपठाएपछि करीव ७÷७ करोडका दुई ओटा टेण्डर भएका थिए तर रकम आउने निश्चित नभएको र अन्य प्रक्रिया पनि पुरा नभएको भन्दै ति ठेक्का रद्ध भएका छन् । आर्थिक बर्ष शुरु भएको ६ महिना विति सक्दा पनि जुम्ला जोड्ने रणनैतिक सडकमा बजेट नआएपछि स्थानिय बासिन्दा सडक डिभिजन र नेता प्रति आक्रोशित भएको नागरिक अगुवा राजेन्द्र बिक्रम शाहले बताए । जाजरकोटमा शहरी , क्षेत्रिय र प्रादेशिक गरी चार दर्जन बढी सडक आयोजनामा बजेट विनियोजन गरिएको भएपनि सम्भावित रणनैतिक सडकमा हाल सम्म बजेट विनियोजन नभएको डिभिजन प्रमुख अशिस थापा मगरले बताए । हामीलाई अर्थले बजेटको लागी आशय पत्र दिएको छ रद्ध भएको सडकको पनि पुनः टेण्डर गर्ने तयारीमा छौ डिभिजन प्रमुख थापाले भने । ‘तपाईहरुको सडक आयोजनाको काम प्रतिको चासो र चिन्ता स्वभाविक छ । एउटै कार्यालयले जाजरकोट , रुकुम र डोल्पा हेर्नु पर्ने भएकोले जनशक्तिको हिसावले पनि हामीलाई केही समस्या छ । ठेकेदार कम्पनीहरुको लापरवाहीले कतिपय काम लामो समय देखि हुन नसकेको साँचो हो अव कुनै हालतमा काम सुचारु गछौ अन्यथा काम नगर्ने ठेकेदारलाई कारवाही हुन्छ ।’
सुर्खेत दैलेख हुदै जुम्ला जाने सडक भन्दा जाजरकोट जुम्ला सडक दुरीको हिसावले निकै छोटो छ । जाजरकोट र जुम्ला जोड्ने रणनैतिक सडक निर्माण भएमा कर्णाली सँगको ढोका खुल्ने र आर्थिक विकासमा महत्वपुर्ण उपलब्धी हुने जिल्लावासीको विश्वास छ । मैले रणनैतिक सडक र पुललाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छु डिभिजन प्रमुखले भने, ‘म सरुवा भएर आएको केही महिना मात्र भएको छ , यस क्षेत्रको यातायात विकासमा केही काम गरेर देखाउँछु ।’
जिल्ला सदरमुकाम खलंगामा गाडी पुगेको १० बर्ष पुगिसक्दा समेत सदरमुकाम जोड्ने कुनैपनि सडक बन्न सकेका छैनन् । जिल्ला सदरमुकाम आउन अहिले पनि स्थानिय पैदल हिड्न बाध्य भएको र सडक निर्माणले गतिलिन नसकेपछि सडक सरोकार समिति गठन गरेर जिल्लावासी जुर्मुराएका हुन् । जिल्लाबासीका माग सुनुवाई नभए कडा संघर्षमा उत्रिन बाध्य हुने सरोकार समितिले चेतावनी दिएको छ । बषौं देखी अलपत्र परेका सडक र पुल निर्माणको माग गदै जाजरकोटबासीको तर्फबाट सडक सरोकार समितिले रुकुमको चौरजहारी स्थित सडक डिभिजन कार्यालय पुगेर सरकारको ध्यानाकर्षण गराएको छ । सम्बन्धित निर्माण कम्पनीको लापरवाहीले अलपत्र पारिएका विभिन्न सडक र मोटरेबल पुल यथासिघ्र निर्माण गर्न माग गदै सडक डिभिजन मार्फत सरकारको ध्यानाकर्षण गराईएको सडक सरोकार समिति जाजरकोटका संयोजक अमरसिंह राठौरले बताए ।
विभिन्न वहाना देखाउदै निर्माण व्यावसायीले काम अलपत्र पार्ने गरेको र सरकारी निकायले पनि वेवास्ता गर्ने गरेको कारण आफुहरुले ठुलो समस्या भोग्नु परेको स्थानीयको दुखेसो छ ।










