पत्रकार भण्डारीसहित ३२ जनालाई सम्मान

काठमाडौं, माघ ९ – राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार शरच्चन्द्र भण्डारीसहित ३२ जना सम्मानित भएका छन् । पत्रकार भण्डारीलाई पत्रकारिताका माध्ययमबाट समाजको विकासमा महत्वपूर्ण योगदान पुर्याएबापत नीति अनुसन्धान प्रतिष्ठान नेपालले सम्मान गरेको हो ।
भारतीय शैक्षिक संस्थानमा अध्ययनपछि नेपालका विविध क्षेत्रमा लामो समयदेखि सेवामा रही राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याएबापत तिनलाई प्रतिष्ठानले सम्मान गरेको हो । भण्डारीले भारतीय जनसञ्चार प्रतिष्ठानबाट विकास पत्रकारितामा डिप्लोमा गर्नुभएको छ । यहाँ शनिबार प्रतिभा सम्मान कार्यक्रम–२०७३ मा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले उहाँहरूलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा मन्त्री शाहीले सम्मानित प्रतिभाले नेपालको उन्नतिका लागि केही गर्नुपर्ने सुझाव दिँदै नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री शाहीले नेपालसँग भारतको बीच नजिक सम्बन्ध भएकाले कहिलेकाहीँ किचलो पनि हुने बताउँदै नेपालमा अस्थिरता भयो भने दुवै छिमेकीलाई नोक्सान हुने जिकिर गर्नुभयो । “नेपाल गरिब भयो भने दुवै छिमेकीलाई फाइदा हुुँदैन”, उहाँले भन्नुभयो, “छिमेकीको पहिलो उद्देश्य नेपालको राजनीतिक स्थिरता कायम हुनुपर्दछ भन्ने पर्नुपर्दछ ।”
मन्त्री शाहीले नेपालका पढेलेखेका बुद्धिजीवीलाई अगाडि बढ्न नदिइएका कारण विकासमा प्रगति हासिल गर्न नसकेको उल्लेख गर्दै नेपालको विकासका लागि भौतिक पूर्वाधार बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालको विकासका लागि आफूले भारत सरकारसँग पुलको काम गरिरहेको बताउँदै नेपालको जलविद्युत् क्षेत्रमा सहयोग गरेर भारतले काम गर्न चाहेको जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष दीपक अधिकारीले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । सम्मानित हुनेमा तपनाथ शुक्ला, डा चन्द्रमणि अधिकारी, डा आशा सिं, जगदीशप्रसाद अग्रवाल, तुलसी घिमिरे, लक्ष्मीनाथ शर्मालगायत रहनुभएको छ ।










