सडक डिभिजन कार्यालयलाई बुझायो ध्यानाकर्षण पत्र जिल्लाको सरोकार समितिले

रुकुमको चौरजहारीमा रहेको सडक डिभिजन कार्यालयलाई शुक्रवार बुझाएको ध्यानकर्षण पत्रमार्फत आफुहरुले भेरी कोरीडोर भित्र पर्ने रुपैडिया, छिन्चु, जाजरकोट हुदै डोल्पा मरिम तेन्जे सहायक राजमार्ग अन्तरगत पर्ने खलंगा रिम्नामा भईरहेको कालोपत्रेको काम शान्तीचौतारावाट सुरु गर्नुपर्ने, पासागाड र बैरीतालको पुल यथासक्य निर्माण कार्य सम्पन्न गर्नु पर्ने, रिम्ना देखी छेपारेसम्मको मोटरबाटोको ट्रयाक तत्काल खोल्नु पर्ने माग राखेको जिल्ला सडक सरोकार समितिका अध्यक्ष अमरसिंह राठोरले जानकारी दिए । सम्भावित रणनैतिक सड्क अन्तरगत पर्ने छेडा चांँदे जुम्ला सडक, खलंगा पांचकाटिया कंयाल्दापाखा वारेकोट हुदै जुम्ला सडक र खलंगा पांचकाटिया पैंक व्याउलीढुंगा हुदै जुम्ला सडकको लागि सर्वे डिजाईन, ट्रयाक खोल्ने र स्तरउन्नतीका कामलाई एक साथले अगाडी बढाई गाडी सञ्चालनको प्रक्रियालाई पनि अगाडी बढाउनु पर्ने माग राखिएको अध्यक्ष राठोरको भनाई रहेको छ । त्यसैगरी खलंगा– पांचकाटिया सडक अन्तरगत गारराङसी देखि नाउली सम्मको रेखाङकन परिवर्तनको माग गरिएको राठोरले जानकारी दिए । चालु आर्थिक बर्षमा जिल्लाका लागि स्वीकृत क्षेत्रिय तथा शहरी सडकहरुको गुणस्तरीय निर्माण कार्यमा सुनिश्चितताका लागि नियमित प्राविधिक परिचालन गर्नुका साथै सुपरीवेक्षण गर्नु पर्ने माग राखिएको अध्यक्ष राठोरले जानकारी दिए ।
जिल्लाको सडक सरोकार समितिले बुझाएको ध्यानकर्षण पत्र प्रति आफु निकै गम्भिर भएको वताउदै चौरजहारी सडक डिभिजन प्रमुख आशिष थापा मगरले भने्–“पासागाडको पुलका बिषयमा विभागमा कुरा चलिरहेको छ, सम्भवत अब छिट्टै टुङगो लाग्छ होला । खलंगा रिम्ना सडक खण्डकमा कालोपत्रेका लागि भईरहेको कामलाई आईतवार देखि नै शान्तिचौतारावाट काम सुरु गराईने छ । रिम्ना देखि छेपारे सम्मको मोटरबाटोको ट्रयाक खोल्ने काम सडक डिभिजन कार्यालयवाटै गर्ने र केहि दिन भित्रै त्यसको सर्वे डिजाईमा सडक डिभिजन कार्यालय लाग्ने छ ।”
त्यसैगरि सम्भावित रणनैतिक सड्क अन्तरगतको छेडा चांँदे जुम्ला सडक र खलंगा पांचकाटिया जुम्ला सडकको लागि कार्यालयले तत्कालै टेण्डर खोली यसैबर्ष भित्र पश्चिमको थलह र यताको पाँचकाटिया सम्म बस चल्नेगरि काम गराउने डिभिजन प्रमुख थापाले जानकारी दिए । चालु आर्थिक बर्षमा जाजरकोट जिल्लाका लागि स्वीकृत भएर आएका ४ लाखका दरले बजेट रहेका शहरी सडक १३ वटा र ८ लाखका दरले बजेट रहेका क्षेत्रिय सडक १५ वटा रहेको डिभिजन प्रमुख थापाले बताए ।
साहयक राजमार्ग र बाई रोडको सेन्टर प्वान्टवाट १५ मिटरको दुरीमा दाँया र बाँया साईट छोड्नु पर्ने कानुनी प्रावधान रहेको सडक डिभिजन प्रमुख थापाले जानकारी दिए । सडक डिभिजन कार्यालयले मुख्य तथा सहायक राजमार्ग र रणनैतिक पुलहरुको मर्मत, सम्भार गर्ने कानुनले तोकेको जिम्मेवारी भएता पनि ब्यबहारिक रुपमा सडक डिभिजन कार्यालयले धेरै काम गर्नु परिरहेको प्रमुख थापाले जानकारी दिए ।
सडक डिभिजन कार्यालयवाट अगाडी बढाईने फाईलहरु क्षेत्रिय कार्यालय, बिभाग, मन्त्रालय हुदै अन्ततः राष्ट्रिय योजना आयोग सम्म पुर्याउनका लागि २० औं खुट्कीला पार गर्नु पर्ने भएको हुदा योजना स्वीकृत गर्न निकै लामो समय लाग्नुका साथै केहि जटिलता पैदा हुने प्रमुख थापाले जानकारी दिए ।
रुकुमको चौरजहारीमा रहेको सडक डिभिजन कार्यालयले बिगत २०७१ साल देखि डोल्पा, जाजरकोट र रुकुम जिल्ला भित्र पर्ने सहायक राजमार्ग, सम्भावित रणनैतिक सड्क, क्षेत्रिय सडक तथा शहरी सडकहरुको कामलाई हेर्दै आई रहेको छ ।











