खर्च अभावमा आगो लागेकी अनिशाको उपचारमा समस्या


नेपालगन्ज । आफ्नै श्रीमान राजेन्द्र खटिकले आगो लगाएर गम्भीर घाइते भएकी नेपालगन्ज–१२ की २२ वर्षीया अनिशा खटिकको उपचारमा समस्या भएको प्रहरीले जनाएको छ ।
श्रीमान श्रीमतीको झगडामा विहिबार राति श्रीमानले बलिरहेको टुकि बक्तिबाट मट्टितेल खन्याएर आगो लगाएपछि अनिसाको शरिरको आधा भन्दा बढी भाग जलेको नेपालगन्जका वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन गौतमले खबरडबलीलाई जानकारी दिएका छन् । स्तन, मुख र टाउकोमा बढि जलेको छ । घाँटिको भित्रसम्म जलेकाले बढी सुन्निएको छ ।
भेरी अस्पतालमा उपचार भइरहेको अनिसालाई थप उपचारका लागि राजधानी लैजानका लागि चिकित्सकले सुझाव दिए पनि आर्थिक अभावका कारण अहिलेसम्म रिफर गर्न नसकिएको बताइएको छ । उनको उपचार संग्लन चिकित्सकले टिचिङ हस्पिटल, काठमाडौँ लैजान सुझाव दिएका थिए । श्रीमतीलाई आगो लगाउने राजेन्द्र फरार छन् ।
जिल्लामा महिलाको नाममा थुप्रै संघ संस्था भएपनि अनिसाको थप उपचारको लागि कुनै पहल भएको छैन् । यहाँको महिला विकास कार्यालयलेसमेत कुनै चासो नदिएको बुझिएको छ । महिलाको लागि विभिन्न शिर्षकमा लाखौं रुपैयाँ सरकारले छुट्याउने गरेको छ ।
शरीरमा आगो लागेको २१ घन्टा बितिसक्दा समेत थप उपचारका लागि बाहिर लैजान नसक्दा उनको स्वास्थ्य अवस्था झनै बिग्रन थालेको छ ।










