माओवादी नेताले हिजो शिलान्यास गरेको पुल आज फेरि ओलीले

दमक झापा पामा यतिबेला विकासे योजनाको शिलान्यास गर्ने होडबाजी नै चलेको छ । होडबाजीकै क्रममा झापाको एउटै पुलको दुई पटक शिलान्यास भएको छ। झापाका धेरै योजना एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र शिलान्यास तथा उद्घाटन गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा ९माओवादी केन्द्र० ले प्रतिकात्मक विरोध सुरु गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उन्छिन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरीले बुधबार शिलान्यास गरेको झापाको बेतिनी मावा आम्बारी खोलाको पुलको बिहीबार ओलीले शिलान्यास गरेका छन् ।
माओवादी नेताले आफूहरुको पहलमा पारेको योजनाको पुल एमालेले थाहा नदिई उद्घाटन गर्न लागेको भन्दै बुधबार शिलान्यास गरेका थिए ।
ओलीले बिहीबारको शिलान्यास कार्यक्रममा अघिल्लो दिनको शिलान्यासको बिषयप्रति कुनै प्रतिक्रिया दिएनन् । माओवादी नेताले बुधबार खोलाको पश्चिम तिर पुलको शिलान्यास गरेका थिए भने बिहीबार ओलीले पूर्वतर्फ शिलान्यास गरे ।
ओलीले कार्यक्रममा बोल्दै विकासमा कसैले राजनीति गर्न नहुने बताएका छन् । उनले विकासमा राजनीति गरे कुनै पनि काम सफल नहुने समेत प्रष्ट पारेका छन् ।
उनले क्षेत्र नम्बर ७ लाई नमुना विकास क्षेत्र बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँदै यसमा सहयोग गर्न सबैलाई आग्रह गरे । क्षेत्र नम्बर ७ का निर्वाचित सांसद ओलीले बिहीबार सोही क्षेत्रका तीन वटा योजनाको शिलान्यास गरेका छन् ।
दमक १७ को बेतिनी मावा आम्बारी पुल, १९ को सेतुमारी कोहबरा जोड्ने रतुवा खोलाको पुलको शिलान्यासका साथै ओलीले लखनपुरको मंगलबारे धरमपुर शिवगञ्ज सडकको स्तरोन्नतीको शिलान्यास गरे ।
ओलीले सरकारी बजेट बाट आएको रकमले हुने विकास निर्माण कसैको एकलौटी नहुने समेत बताएका छन्।
ओलीलाई आदिवासीको कालो झण्डा
झापाको लखनपुरस्थित आदिवासी रंगशालाका बिषयमा ओलीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै लखनपुरका आदिवासी जनजातीहले विरोध स्वरुप कालो झण्डा देखाएका छन् ।
लखनपुरको मंगलबारे–धरमपुर शिवगञ्ज जोड्ने सडकको ग्राभेल सुरुवात गर्न ओली आउने कार्यक्रम थाहा पाएपछि विरोध स्वरुप आदिवासी जनजातीले कार्यक्रमस्थलमा कालोझण्डा गाडेर विरोध जनाएका हुन् ।
संघीय समाजवादी फोरमका झापा जिल्ला उपाध्यक्ष दिपेनवाला राईले ओलीले रंगशालाको नाम परिवर्तन गरेको भन्दै सांकेतिक विरोधका रुपमा सो क्षेत्रमा कालोझण्डा गाडेको बताए ।
ओली कार्यक्रम स्थलमा पुग्नुअघि नै कालो झण्डा गाडिएको थियो । पछिल्लो समय गृहनगरमै ओलीका कार्यक्रम विवादित बन्न थालेका छन् ।










