योजना दिगो वनाउनमा उपभोक्तालाई तालिम

जाजरकोट , यहाँका १९ वटा योजनाका उपभोक्ता समितिलाई तालिम दिईएको छ । योजनाको दिगोपन र उपलब्धीमुलक बनाउन उपभोक्तालाई तालिम दिईएको हो । नेपाल सरकार तथा स्वीस सरकारको आर्थिक सहयोगमा जिल्ला विकास समिति अन्र्तगतको साना सिंचाई कार्यक्रमले १९ सिंचाई कुलो योजनाका १ सय उपभोक्तालाई निर्माण गुणस्तर, मर्मत, संरक्षण का विषयमा प्रशिक्षण दिईएको हो ।
हचुुवामा विकास योजना निर्माणले द्वीगो नहुने र बजेट मात्र सकिने परिपाटीलाई न्यूनीकरण गर्न उपभोक्तालाई तालिम दिएको कार्यक्रम संयोजक ईन्जिनियर महेश ढुंगानाले बताउनुभयो ।
यहाँका उपभोक्तामा योजनालाई कसरी द्वीगो रुपमा प्रतिफल दिने बनाउने भन्ने ज्ञान कमीका कारण अधिकांश योजना छिटो नै भत्किने अवस्थामा पुग्ने देखिएकोले यस्तो तालिम दिनुपरेको ढुंगानाले वताउनुभयो । एउटै योजनामा पटक पटक बजेट जाने तर निर्माण गुणस्तर नहुने समस्या देखिएको अव तालिम पछि कमी ल्याउन सकिने अपेक्षा लिईएको छ । उपभोक्तालाई योजनाको डिजाइन इस्टीमेट, निर्माण कार्यको गुणस्तर नियन्त्रण, गुणस्तरीय औजार तथा समाग्रीको खरीद, वित्तीय पक्ष, श्रमदान, रकम निकासा तथा ब्यबस्थापन, योजना प्रति अफनत्व, समावेशी सहभागिता लगाएत बारे प्रशिक्षित गरिएको छ ।
ताालिम लिएका उपभोक्ताले योजनामा निकासा भएको रकमको सदुपयोग गर्ने बताएका छन् । कार्यालय सग सम्झौता भैसकेका योजनाका अध्यक्ष, कोषाध्यक्ष, सचिव, ज्यामी लगाएत लाई ३ दिन सम्म उक्त तालिम दिईएको छ । चालु आर्थिक बर्षमा ३५० हेक्टर खेती योग्य जमिनका १९ सिंचाई आयोजनाका लागि ५ करोड ३५ लाख खर्च हुने छ । योजना अवधी भरका लागि २ सय ५० मजदुरको बीमा समेत गरिने छ । यस जिल्लामा स्थानीय उपभोक्ताद्वारा निर्मित अधिकांश योजनाबाट द्वीगो उपलब्धि नहुने गरेको छ ।
सिमेण्ट, छड, काठ लगाएत कम्सल निर्माण सामाग्रीको प्रयोग र अदक्ष उपभोक्ता तथा ज्यामीले निर्माण गरेका सिंचाई कुलो, खानेपानी, भवन र सडक योजना बर्ष नपुग्दै मर्मत गर्न बजेटको माग हुने गरेको छ । जिल्ला विकास समिति, नगरपालिका, गाउ विकास समिति, शिक्षा लगाएत कार्यालय अन्र्तगत संचालन हुने अधिकांश योजनाको निर्माण गुणस्तरहीन हुने गरेका छन् ।
हेमन्त के सी रासस










