न्याय खोज्दै दलित महिला सदरमुकाममा

पुस १७
रामचन्द्र न्यौपाने
डोल्पा– डोल्पाको ग्रामिण भेगमा बसोबास गर्ने एक महिलालाई श्रीमानले मरणाशन्न हुनेगरी कुटेपछि न्यायको खोजीमा ६ दिनको पैदलयात्रा गरेर सदरमुकाम दुनै पुगेकी छन् ।
काईगँउ गाविस वडा नं ९ बस्ने २४ बर्षिया बिसाकुमारी बि।क आफ्नै श्रीमान्को कुटाइबाट सख्त घाइते भएपछि न्याय माग्न सदरमुकाम दुनै आएकी हुन् ।काखकोे २ बर्षिया छोरा च्यापेर सदरमुकाम पुगेकी बिसाकुमारीलाई घरका श्रीमान,सासु,ससुरा र नन्द समेतले बारम्बार कुट्ने तथा गाली बेईज्जती गर्ने गरेको पीडित महिलाले बताइन ।
बर्षौदेखि बिभिन्न वहानामा अमानविय ढङ्गबाट कुटाईखाने गरेपनि गाँउका भद्रभलाद्मीको अनुरोधमा मिलाउँदै आएकोमा यसपटक भने सहनै नसेकेर न्यायको ढोका घच्घच्याउँन प्रहरीकहाँ पुगेको उनले बताईन् ।
‘श्रीमानले रोटी बनाउने तावाले टाउकोमा हिर्काएर रक्ताम्य बनाएको छ’ उनले रुँदै भनिन् ।
श्रीमानको कुटाबाट घाइते भएकी उनको अनुहार तथा शरीरमा निलडाम परेका देखिन्छन् । श्रीमान गणेश बि।क संग प्रेम विबाह भएको उनको एक बर्ष नबित्दै यस्तो घटना भएको हो ।
पटक पटक कुटाइ खानुपरेको भन्दै उनले अव श्रीमानसंग नबस्ने निधो गरेकाले छुटाईदिन आग्रह समेत गरेकी छन् ।
गम्भिर कुटाई खाएर आएकी बिकको अनुहार र टाउकोमा गम्भिर चोटलागेकाले उपचारको व्यबस्था मिलाईएको महिला तथा बालबालिका कार्यालय डोल्पाले जनाएको छ ।
दिनरात नभनेर जंगलको बाटो भोकभोकै न्याय खोज्न पुगेकी उनि अहिले आफन्तकोमा राखिएको महिला कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पीडितको उजुरीपछि पीडकलाई पक्राउ गरिएको छ । सरोकारवालाहरुको छलफलबाट पीडित महिलालाई राहत मिल्नेगरि न्यायको व्यबस्था मिलाईने जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रमुख नायव उपरीक्षक सुमित खड्काले जनाए ।
पछिल्लो समयमा महिला माथि हुने घरेलु हिंसा संङ्ख्यात्मक हिसाबमा बढेहेपनि न्युनिकरणका लागी जिल्लामा स्थापित सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुले काम गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् ।








