नियमावलीले अस्थायी शिक्षकको माग सम्बोधन गर्ने: मन्त्री पौडेल


काठमाडौं   मंसिर १८   । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा नियमावलीले अस्थायी शिक्षकको माग सम्बोधन गर्ने बताएका छन् । अस्थायी शिक्षकको समस्या अब नरहने गरी शिक्षा नियमावलीमा नयाँ व्यवस्था गरिने मन्त्री पौडेलले स्पष्ट पारेका छन् ।
अस्थायी शिक्षकको समस्या नियमावलीबाट गरिने प्रतिवद्धता जनाउँदै मन्त्री पौडेलले नियमावली आएपछि मुलुकमा अस्थायी शिक्षक र उनका समस्या नरहने दावी गरे ।
नेपाल शिक्षक महासंघको विधान अधिवेशनमा बोल्दै मन्त्री पौडेलले नियमावली आएपछि इसिडी, विद्यालय कर्मचारी एवं अस्थायी शिक्षकको समस्या स्थायी रुपमा समाधान हुने बताए । सवैका समस्या समाधानको प्रयास गर्दा नियमावली आउन ढिलाई भइरहेको भन्दै अस्थायी शिक्षकको समस्या ऐन संशोधन गरेर भएपनि गरिने स्पष्ट पारेका छन् ।
एक पल्ट नभए दुईपल्ट त्यसमा नभए तीनपल्ट भएपनि एैन संशोधन गरेर अस्थायी शिक्षकको समस्या सधैंका लागि समाधान गरिन्छ । मन्त्री पौडेलले भने । अब पनि अस्थायी शिक्षकको समस्या लम्बाउने दिशामा सरकार लाग्दैन ।
कार्यक्रममा एमाले नेता प्रदिप ज्ञवालीले ऐन संशोधन गरेर भएपनि अस्थायी लगायतका शिक्षक र विद्यालयकर्मचारीहरुको समस्या समाधान हुनुपर्ने बताए । शिक्षकमा समस्या रहेसम्म शिक्षामा पनि समस्या रहने भन्दै शिक्षकका समस्या समाधानमा राज्य गम्भिर भएर लाग्नुपर्नेमा उनको जोड थियो ।
कांग्रेसका युवानेता प्रदिप पौडेलले अस्थायी शिक्षकको समस्या समाधान नभएसम्म शिक्षा सुधार र शान्तिक्षेत्र नबन्ने भन्दै एकपटकका लागि अस्थायी शिक्षकहरुलाई परीक्षापछिविधा दिने विशेष व्यवस्थागर्न सकिने बताए । सरकारले शिक्षकका समस्या समाधानमा उदाशिनता देखाउनु हुदैन । नियमावलीले सम्बोधन गर्न नसके ऐन संशोधन गरेर भएपनि शिक्षकका समस्या समाधान गरिनुपर्नेमा पौडेलको जोड थियो ।
नेकपा माओवादीका शिक्षा विभाग प्रमुख मोहन कार्कीले अस्थायी, राहत, इसिडी लगायतका शिक्षक र विद्यालयकर्मचारीको समस्या समाधान गर्न नसके शिक्षामन्त्री कै कार्यक्षमतामाथि प्रश्न चिन्ह खडा हुने बताए । अस्थायी शिक्षकको समस्या समाधान बिना शिक्षा मन्त्रालयले अन्य शैक्षिक उपलब्धि हासील गर्नेमा उनले शंका व्यक्त गरे ।
सदभावना पार्टीका महासचिव मनिस सुमनले अस्थायी शिक्षकको माग पुरा नभएसम्म अन्य शिक्षकका हक र अधिकारको कुरा गर्नुको कुनै अर्थ नरहने स्पष्ट पारे । शिक्षा विकास बिना मुलुक विकास नहुने र अस्थायी शिक्षकको समस्या समाधान बिना शिक्षाको विकास नहुने भन्दै महासचिव सुमनले अस्थायी लगायतका शिक्षकको समस्या तत्काल समाधान गर्न आग्रह गरे ।
नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले अस्थायी शिक्षक समस्या समाधानका लागि शिक्षा मन्त्रालयलाई पटक पटक ध्यानाकर्षण गराईएको भन्दै निमावलीले नसमेटे ऐन संशोधन गरेर भएपनि अस्थायी शिक्षकका समस्या समाधान हुनुपर्ने बताए ।
विधान अधिवेशनले महासंघको आगामी विधान बनाउने भन्दै अध्यक्ष निरौलाले महासंघ शिक्षकका पेशागत कर्तव्य पुरा गर्दै पेशागत हक अधिकारका लागि निरन्तर संघर्षमा रहने स्पष्ट पारे । विधान अधिवेशन दुईदिनसम्म चल्ने  महासंघका महासचिव तिलक कुँवरले जानकारी दिए । अधिवेशनमा मुलुकभरका २९ जिल्लाका महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको कुँवरले जानकारी दिए ।

 





error: Content is protected !!