डिन सिंहकाे राजीनामा, केसीकाे अनसन भने जारी

काठमाडौँ, मंसिर १७ गते । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा डा केशवप्रसाद सिंहले आज राजीनामा दिनुभएको छ ।

शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गर्दै उहाँले प्रा डा गोविन्द केसीको जीवनरक्षाका लागि आफूले त्रिविका उपकुलपति डा तीर्थ खनियाँसमक्ष राजीनामा दिएको बताउनुभयो । प्रा डा केसी २० दिनदेखि त्रिवि उपकुलपति र आइओएमका डिनको राजीनामा माग गर्दै आमरण अनशनमा बस्नुभएको छ ।

उहाँले डा केसीले आइओएममा ३० वर्षदेखि आफूले गुणस्तरीय चिकित्सा शिक्षामा पुर्याएको योगदान अवमूल्यन गरी केही अस्वाभाविक समूहको दबाबमा परी आफ्नो विरोध गर्नु दुःखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘“मैले डा केसीको यसअघिका अनशनमा पूर्ण सहयोग गर्दै आएको थिएँ । यसअघि निष्कलङ्क रहँदै आएको उहाँको विचार यस पटक भने अस्वाभाविक समूहको दबाबमा प¥यो जुन दुःखद् हो ।”

यसअघिका डिनको नियुक्तिमा कुनै फरक नपर्ने तर आफ्नो योग्यतामा प्रश्न उठाउँदै ‘नियुक्तिमा यसरी बालहठ प्रदर्शन गर्नु’ निकै अस्वाभाविक लागेको उहाँले बताउनुभयो । डिन नियुक्त भएलगत्तै आफूले केसीले भने झैँ सबै कलेजलाई सरकारले निर्धारण गरेको गत वर्षकै शुल्क लागू गर्न परिपत्र गरिसकेको पनि उहाँले उल्लेख गर्नुभयो ।

अनशन जारी
यता केसी पक्ष भने वरिष्ठताका आधारमा नयाँ डिन नियुक्ति नभएसम्म अनशन नतोडिने अडानमा छ । प्रा डा केसीका वार्ता टोली सदस्य डा लिजन महर्जनले आफूहरुको माग अझै पूरा नभएको बताउँदै उपकुलपतिको राजीनामा र वरिष्ठताका आधारमा नयाँ डिन नियुक्त नगर्दासम्म अनशन जारी रहने स्पष्ट गर्नुभयो । रासस





error: Content is protected !!