संशोधनमा दुई तिहाई पुर्‍याएर देखाउन एमाले नेता खनालको चुनाैती

  प्रकाश अधिकारी, सुर्खेत
मंसिर १७, २०७३- प्रमुख प्रतिपक्षी दल एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्ताव पारित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । ‘एमालेलाई एक्ल्याएर सत्ता पक्षले ल्याएको संशोधन प्रस्ताव राष्ट्रघाती छ । गैर–संवैधानिक छ’ उनले भने, ‘यस्तो प्रस्तावमा जनताको समर्थन छैन । सरकारले पनि दुई तिहाई मत पुर्‍याउन सक्दैन् ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले विधयेक पारित गर्न कुनै हालतमा तयार नहुने प्रष्ट पारे । उनले ५ नम्बर प्रदेशको विभाजनमात्र नभई विधेयक भित्रका अन्य अन्तरवस्तुसमेत आपत्तिजनक भएकाले एमालेले त्यस्तो राष्ट्रघाती प्रस्तावमा समर्थन नगर्ने बताए ।

सुर्खेतको वीरेन्द्रनगरमा ६ नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै नेता खनालले क्रमश: तराईलाई पहाडबाट टुक्र्याउँदै जाने र अलग राष्ट्र घोषणा गर्ने बदनियतका साथ ५ नम्बर प्रदेश विभाजन गरिएको दाबी गरे । ‘तराईवासी पहाडबाट अलग हुन चाहेका छैनन् । केही मधेसवादी दलका नेताले जबरजस्ती सिंगो तराई एक प्रदेश गराउँदैछन्’ उनले भने, अब जनताको व्यापक खबरदारी जरुरी छ । व्यापक विरोध भएपछि वर्तमान सरकार अंगीकृतलाई राज्यका उच्च पद दिलाउनबाट पछाडि हटेको उनको भनाइ थियो ।

नेता खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको पार्टी माओवादी केन्द्र वर्षौंदेखि मिलेर बसेको तराई, पहाडी समुदाय र अनेकौं जातजातिबीच द्वन्द्व बढाउन उन्मुख रहेको आरोप लगाए । भेलामा प्रदेश संयोजक एवं पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, यामलाल कँडेल लगायतको उपस्थिति छ । घण्टाघरमा शुक्रबारदेखि सुरु प्रशिक्षण कार्यक्रम शनिबारसम्म चल्नेछ ।

कान्तिपुरवाट .





error: Content is protected !!