जनचेतना जगाउन करदाता शिक्षा

जाजरकोट पुस १० ।
करदातालाई आवश्यक जनचेतना जगाउन जाजरकोटमा करदाता शिक्षाको आयोजना गरिएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगंजको सहयोग र जाजरकोट उद्योग बाणिज्य संघको आयोजनामा सदरमुकाम खलंगामा ब्यापारी र ब्यवसायी सँग आईतवार करदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रमा प्रमुख कर अधिकृत नारायण प्रसाद सुवेदीले राष्ट निर्माणमा करदाताको महत्वपुर्ण भुमिका हुने भएकोले ब्यवसायीहरुले नाफा बाटै कर तिर्ने भएकोले डराउनु नपर्ने बताए । उनले कर सम्बन्धी आवश्यक जनचेतना बढाउन नसक्दा राजश्व संकलनमा समेत असर परिरहेकोले खुसीका साथ कर तिर्ने बानीको विकास गर्न सवैले इमान्दारी पुर्वक काम गर्नु पर्ने बताए । कर अधिकृत सुवेदीले कतिपय ब्यापारीले कर छलि गर्ने तर्फ संकेत गदै त्यस्ता ब्यापारीलाई कारवाही गरिने बताए । संबृद्ध नेपाल निर्माणमा करदाताको महत्वपुर्ण भुमिका रहने भएकोले ब्यवसायीको नाफा अनुसार नै कर तिर्ने भएकोले सरकारको पहिलो प्रतिनिधी पनि ब्यवसायी नै भएको उनको भनाई छ ।
अर्का कर अधिकृत नन्दबहादुर भण्डारीले नक्कली विजक जारी गर्ने ब्यवसायीलाई कानुन अनुसार कारवाही हुने भन्दै सचेत हुन आग्रह गरे । कर पहिलो पटक जिल्लामा आयोजना गरिएको कार्यक्रममा जिल्लाका ब्यवसायीले कर तिर्न नेपालगंज जानु पर्ने झन्झट हटाउन जिल्लामै शाखा कार्यालय वा अनलाईन सिस्टमबाट कर बुझाउने ब्यवस्था मिलाउन माग गरेका छन् । हामीलाई नेपालगंज जान आउन समय र रकमको हिसाबले खर्चिलो र झन्झटिलो भएकोले जिल्लाबाटै करतिर्ने ब्यवस्था लागु गर्न आग्रह गरिएको जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष कमानबहादुर खड्काले बताए ।










