पुल बन्यो, छेपारे रिम्ना सडक बनेन

जाजरकोट पुस ८, जाजरकोट–डोल्पा सडकको रिम्ना छेपारे खण्डमा यात्रुले सधैं सास्ती खेप्नुपरेको छ । यस खण्डमा सम्बन्धित पक्षले सडक निर्माणमा बेवास्ता गर्दा यात्रु आवतजावत गर्न कठिनाइ भएको हो । यही खण्डको भेरी नदीमा ५ महिना अघि नै पक्की पुल बनेको छ । तर रिम्ना–छेपारे सडक निर्माण अझै सुरु भएको छैन ।

उक्त सडक निर्माण गरेर यातायात सञ्चालन गर्नु त परै जाओस, कसले बनाउने भन्नेमै विवाद देखिन्छ । ६ सय मिटर दूरीको सडक सम्बन्धित निकायले बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको स्थानीय जीवन खड्काले बताउनुभयो । ‘सडकको रिम्नास्थित भेरी नदीमा १० करोडको पुल बने पनि रिम्नादेखि छेपारेसम्मको बाटो बनेन,’ खड्काले भन्नुभयो । रिम्नास्थित भेरी नदीमा अनक लुम्बिनी जेभी काठमाडौंले २ वर्ष लगाएर पुल बनाएको हो । खलंगादेखि रिम्ना र छेपारेदेखि तल्लुबगर हुँदै त्रिवेणीसम्मको सडकमा यात्रु आउजाउमा सहज भएको छ । तर छेपारेसम्म सडक निर्माण बेवास्ता हुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत कठिनाइ भएको उहाँको भनाई छ । ‘यो खण्डको सडक किन बन्दैन ? निर्माण जिम्मा कसको हो ? सडक नेपाली सेना र पुल निर्माण कम्पनीमध्ये कसले, किन ढिला ?’ उहाँले भन्नुभयो । यस बाटोमा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री जनार्दन शर्मादेखि विभिन्न दलका नेता कार्यकर्ता, कर्मचारी खलखली पसिना चुहाउँदै हिँडेका छन् । सडक बनाउन भने कसैको ध्यान नगएको खड्काले भन्न्ुभयो ।
६ सय मिटरको उक्त बाटोमा प्रतिक्विन्टल १ हजारसम्म ढुवानी खर्च लाग्ने गरेको व्यापारी दिनेश ओलीले बतानुभयो । ‘बाटो साँगुरो, भीरैभीर र अप्ठ्यारो हुँदा आवतजावत गर्न र मालसमान ढुवानीमा कठिनाइ छ,’ उहाँले भन्नुभयो । दुईतिर यातायातका साधन गुड्छन् । बीचमा पैदल हिँड्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । नेपाली सेनाले जाजरकोट डोल्पा सडकअन्तर्गत जाजरकोट खण्डको निर्माण पूरा गरेकै ३ वर्ष पुग्यो ।
सेनाले रिम्ना पुल छेउदेखि छेपारेसम्मको निर्माणलाई पन्छाउँदै आएको छ । त्यस्तै पुल निर्माण कम्पनीले पनि पहुँचमार्ग निर्माणमा ढिलाइ गरेको र सडक डिभिजन चौरजहारीले बेवास्ता गरेको पाइएको छ । पुलको पल्लो छेउ (छेपारे साइड) को १ सय ५० मिटरमात्र पहुँच मार्ग निर्माण अनक लुम्बिनी जेभीको जिम्मा भएको कम्पनीका इन्जिनियर दिनेश श्रेष्ठले बताउनुभयो ।





error: Content is protected !!