चरीमार्गी एमाले युवाका प्रचण्डका लागि चन्दा र ओलीले कुम्ल्याएको डेढ करोड

सुरेन्द्र बस्नेत
नेपाली राजनीतिमा चिरपरिचित पात्र र प्रवृत्ति हुन् ‘गुण्डा नाइके दिनेश अधिकारी उर्फ चरी । चरी प्रहरी कारबाहीमा मारिए । तर, राजनीतिमा चरी प्रवृत्ति जिउँदैछ । बेलाबेला विभिन्न रुपमा त्यो प्रकट भइरहेकै छ । खासगरी एमालेका अध्यक्ष केपी ओलीले नामुद गुण्डा एवं
अपराधका नाइके चरीको खुलेआम वकालत गरेपछि उनी एकाएक हावासरी सर्वत्र फैलिएका थिए । अझ चरीको चर्चा त्यत्तिबेला झनै चुलिएको थियो, जतिबेला एमालेले चरी गिरफ्तार हुँदा धादिङ बन्द मात्र होइन, संसदमा समेत हंगामा गरेको थियो । त्यतिबेला चरीलाई ‘आइकन’ मान्ने एमाले निकट युवा संघले अहिले प्रधानमन्त्री प्रचण्डलाई ‘एक रुपैयाँ सहयोग’ भनेर अभियान चलाउने भएछ । न्युनतम राजनीतिक संस्कारवाट च्युत भएर सर्वाङ्ग नाङ्गिन तयार भएका उनै चरीका उत्तराधिकारीहरुले चरीको स्मरण गराएका छन् ।
चरी र माऊचरीको साइनो
धादिङ घर भएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ एमाले धादिङ क्षेत्र नम्बर–१ का उपाध्यक्ष र युथ फोर्सका नेता थिए । एमाले नेता केपी ओलीको न्यानो संरक्षण पाएपछि चरी सार्वजनिक चर्चाको पात्र बनेका थिए । एमालेकै माधव नेपाल पक्षमा रहेकाहरुले ओली र चरीको घाँटी जोडिएकामा लजाएर जिब्रो टोकेका थिए ।
अर्का गुण्डा नाइके राधे समूहले गोली हान्नु एक दिनअघि ओली र चरी धादिङको एउटा कार्यक्रममा सहभागी भएको तस्वीरसहितको समाचार आएको थियो । त्यतिबेला चरी प्रहरीको सर्वाधिक खोजी सूचीमा थिए । समाचार आएपछि ओलीले चरीलाई नचिनेको बयान दिए । तर, जतिबेला ओलीको असली अनुहार उदांगियो, त्यतिबेला त्यही कार्यक्रमबाट फर्कंदै गर्दा राधे समूहले थानकोटमा गोली हानेपछि घाइते भएका चरीलाई भेट्न ओली शिक्षण अस्पताल पुगे । अघिल्लो दिन ‘चिन्दिन’ भनेका ओलीले भोलिपल्टै चरीवादको पक्षमा वकालत गर्दा जगत हाँसेकै आजैजस्तो लाग्छ । चरीविरुद्ध प्रहरीमा बालाजु र नयाँबजार क्षेत्रलाई अपराधिक केन्द्र बनाएका चरीलाई व्यापारीहरुसँग जबर्जस्ती रकम असुली, बाहुबलमा ठेक्कापट्टा कब्जा र गैँडाको खाग तस्करीलगायतका मुद्दा थिए ।
उनले दुनियाँलाई धम्क्याएर करोडौंको सम्पत्ति जुटाएका थिए । एमाले धादिङ क्षेत्र–१ का उपाध्यक्ष भएकैबेला पक्राउ परेका चरी राजनीतिक दबाबमा मुक्त भएका थिए । रमेश खरेल काठमाण्डु प्रहरी प्रमुख भएका बेला चरी भागेर सिंगापुर र भारतसम्म पुगे । खरेलका पालामा उनलाई ‘मोस्ट वान्टेडको सूची’ मा राखेर खोजी भइरहेको थियो । प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका गुण्डा नाइके चरीलाई ओली स्वयंले आश्चर्यजनक ढंगले काँधमा बोकेका थिए । ओली त्यसबखत चरी र चरीजस्तै गुण्डाहरुको खुलेआम संरक्षक बनेका थिए । त्यसैले कतिपयले उनलाई ‘माऊ चरी’ का रुपमा समेत चित्रण गरेका थिए ।
चरीमार्गी चिन्तन
दुनियाँ साक्षी छ चरी ,रमेश बाहुन, पर्शुराम बस्नेतजस्ता आपराधिक मानसिकताधारी ‘डनहरु’ एमाले युवासंघका आइकन बनेका थिए । उनीहरुलाई युवा संघले औपचारिकरुपमै नेताको पगरी भिराएको थियो । अन्ततः चरी त प्रहरी ‘इन्काउटर’ मा मारिए । तर चरी प्रवृति भने अझै जिवितै छ । आपराधिक क्रियाकलापमा उनीहरु गिरफ्तार हुँदा सडक र सदन तताउने काममा युवासंघ अघि सर्थ्यो ।
नामुद गुण्डाहरुलाई राजनीतिक तहबाट उच्च सम्मान र संरक्षण दिने काममा त युवासंघले कीर्तिमान नै कायम गरेको थियो । त्यही युवासंघ यतिबेला ‘प्रचण्डलाई एक रुपैयाँ चन्दा’ भनेर दुई मिटरको ब्यानरसहित सडकमा आएछ । म पत्रकारिता विषयको विद्यार्थी हुँ । तर, पत्रकारितामा जमेको मानिस होइन । पत्रकारिताको प्रारम्भिक सिकाइमा समाचारको बारेमा एउटा चर्चित भनाइ पढेको सम्झना छ, ‘कुकुरले मान्छेलाई टोक्यो भने त्यो समाचार हुँदैन, तर मान्छेले कुकुरलाई टोक्यो भने त्यो समाचार हुन्छ ।’
यसको तात्पर्य समाचार हुनलाई सामान्य र नियमित विषय होइन, अनौठो वा पृथक विषय चाहिन्छ भन्ने हो । तर केवल समाचार बन्नकै लागि कुकुरका खुट्टा टोक्दै हिंड्न पछि नपरेको लाजमर्दो दृष्य र प्रवृत्ति हामी कहाँ सतहमा आयो । सित्तैंमा पाइयो भन्दैमा अलकत्रा पनि खाने र चर्चा पाइन्छ भन्दैमा सर्वाङ्ग नाङ्गो पनि बन्न तयार हुने हो भने त्यो फरक ढंगको चरीपथ नै हो । हुनत चरीका पक्षमा सडक आन्दोलनदेखि सदनसम्म थर्काउन र चर्काउन पछि नपर्नेहरुबाट धेरै अपेक्षा गर्नु पनि ब्यर्थ नै होला ।
चरी संरक्षण कोष बनाए भो
चरीका स्वघोषित अनुयायीहरुले प्रचण्डलाई एक रुपैयाँ चन्दा भन्नुको साटो चरीका बचेराहरुले ‘चरी संरक्षण कोष’ नै खडा गरेको राम्रो । आखिर चरीका नाममा अवैधानिक रुपमा जम्मा भएको करोडौं मुलधन पनि बाँकी नै होला । उतिबेला ठूलाठालुले चरीलाई चलाउन हुँदैन भन्नुको अर्थ चरीको सम्पत्ति पनि चलाउनु हुँदैन भनिएको होला । चरीलाई जोगाउनुपर्छ भन्नुको अर्थ गुण्डागर्दी र लुटपाटलाई पनि जोगाउनु पर्छ भनिएको होला । त्यसैले अहिले बजारमा चरीका बचेराहरुले उठाएको चारो पनि बरु त्यही कोषमा जम्मा गरौं । चरी कोष बलियो भयो भने फेरि हजारौं चरिका बचेराहरु पालित पोषित पनि होलान । तपाईंंहरुले भनेजस्तै समाजमा अराजकता र गुण्डागर्दी पनि मौलाउला । काम संस्थागत रुपमा नै होला । युवा मित्रहरु बरु त्यतापट्टि बल गरे बेस होला ।
‘बा’ को डेढ करोड राष्ट्र ऋण पो तिर्ने की ?
एमालेको ओली गुट त्यसमा पनि युवा संघले केपी ओलीलाई नाम भन्दैन । सिधै ‘बा’ भन्छ । प्रचण्डलाई एक रुपैयाँ उठाउनुअघि एकपटक आफ्ना ओली ‘बा’ लाई सोधे हुन्छ, ‘आज बालकोट र झापामा खडा भएको ओलीको आलिशान दरबार कसरी ठडियो ? यो प्रश्न सोध्न हिम्मत गरिएन भने स्वाभिमानी युवा हुन सम्भवै छैन । केबल चरीमार्गको यात्री मात्रै बन्न सम्भव छ । राजनीतिको व्यापारबाटै अकुत सम्पत्ति जोडेका ओलीले उपचारका नाममा किन राज्य कोषबाट एक करोड २६ लाख लिनुपर्यो र ? अहिले प्रचण्डलाई एक रुपैयाँ भन्ने मित्रहरुले बरु ओलीले राष्ट्रको ढिकुटीबाट लिएको त्यो रकम फिर्ता गर्न भनेर उठाए कसो होला ? नेताका लागि भनेर चन्दै उठाउन उत्रिएपछि कमसेकम राष्ट्रको ऋणबाट आफ्ना प्रिय नेतालाई मुक्त गरेको राम्रो हुन्छ ।
एमालेका युवाहरुले सबै पार्टीका नेताको सम्पत्ति आफ्नै पार्टीका नेताकैजति हुनुपर्छ भन्ने खालको आग्रह पाल्नुभएको रहेछ । एमाले नेता झैं अकुत सम्पत्ति र बंगला देखाउन नसकेकामा प्रचण्डलाई ब्यङ्ग्य गर्ने कि आफ्ना नेताको सम्पत्तिको स्रोत खोज्ने हो ? चरिका चेलाहरुबाट त यसको उत्तर असम्भव होला । तर कमसेकम एमालेमा मदन भण्डारीको कोही चेला बाँकी छन् भने तिनले यसको जवाफ खोज्नुपर्ने हो । यसै प्रसंगमा माओवादी केन्द्रका युवा नेता जागृत रायमाझीले दिएको यो चुनौती सामना गर्न के युवा संघका साथीहरु तयार छन् ? सामाजिक सञ्जालमा रायमाझी लेख्छन्, ‘प्रिय एमालेजन १ प्रचण्ड, नारायणकाजी या बादलको करोडौंको सम्पत्तिको प्रमाण ल्याउ म माओवादी पार्टी तु छोड्छु १ तर, चप्पल लगाएर काठमाण्डु आएका एमाले नेताहरु झलनाथ खनालको डल्लु माधव नेपालको कोटेश्वर र केपी ओलीको बालकोटको करौडोको लालपूर्जा म तेर्स्याउँछु तपाईं एमाले छोड्नुहुन्छ १ ?
प्रचण्ड सराप्न छाडेर सिर्जनशिल बन
यतिबेला एमालेनिकट युवासंघको एकमात्र काम प्रचण्डलाई सराप्ने र गाली गर्नेमा केन्द्रित छ । प्रचण्डको पुतला बनाउने, लास बनाउने, सामाजिक सञ्जालमा अनेक बितण्डा मच्चाउने काममा युवा संघ तल्लीन देखिन्छ । केही उच्छृंखल युवाले प्रचण्डको टाउको काट्ने ‘तोरी लाउरे भाषण’ समेत गरेछन् । प्रचण्डको टाउको सिङ्गो राज्यसत्ताले ५० लाख मूल्य तोकेर गिंडेर ल्याउन अपिल गर्दा पनि नहल्लिएको टाउको हो । यस्ता बकमफुसे बकवासले त टाउकाको एउटा केस समेत हल्लिँदैन । हेक्का रहोस् प्रचण्डको टाउको त्यही महंगो टाउको हो, जसले नेपालमा समावेशी र समानुपातिक संघीय गणतन्त्र नेपालको परिकल्पना गरेको थियो । दुःखी आत्माहरुको पुतलाले उनको रौं पनि हल्लिँदैन । दुई दर्जन उट्पट्याङ् युवा भेला भएर बिना कुनै ऐजेण्डा केवल ‘मिडिया खपत’ का लागि क्यामेरामा पोज दिने रेडिमेड आन्दोलनले मात्र अब आमयुवा र राष्ट्रलाई नवीन गति दिन सक्दैन ।
(बस्नेत माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा प्रवक्ता हुन्)










