कटुको टिप्न गएका एक जनाको मृत्यु, नौ जना सम्पर्कविहीन

हेमन्त केसी
सुर्खेत, ११ असोज ः हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुको जडीबुटी संकलन गरिरहेका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन्।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट कटुको संकलन गर्न हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए।

जडीबुटी संकलन गरिरहेका बेला विवाद

उनका अनुसार भदौ २८ गते १३ जना स्थानीय कटुको संकलनका लागि बागेढुंगा सामुदायिक वन पुगेका थिए। उनीहरू त्यहाँ जडीबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि फर्किएका थिए। फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजंग बढुवाल, ३५ वर्षीय जयबहादुर बढुवाल र २६ वर्षीय अ‍ेखबहादुर रोकाय सम्पर्कविहीन छन्।

त्यस्तै छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासी शेरबहादुर बुढाका अनुसार पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आएका छन्।

स्थानीयका अनुसार मुगुको पाटन क्षेत्रमा जडीबुटी संकलन गरिरहेका उनीहरू हुम्लाको सीमाक्षेत्रमा पुगेपछि दुई समूहबीच विवाद तथा झडप भएको थियो। असोज १० गते झडप भएको बताइएको छ। मुगुतर्फबाट कटुको संकलन गरिरहेको टोलीलाई हुम्लातर्फको सामुदायिक वन समूहका मानिसले लखेटेको आरोप मुगुका स्थानीयले लगाएका छन्।

भारी हिमपातले खोजीमा कठिनाइ

घटनाबारे जानकारी पाएलगत्तै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले बताए। उनका अनुसार घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको छ।

‘अग्लो हिमाल काटेर आउनुपर्ने र हिउँ धेरै भएकाले सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘हिउँबाट भाग्ने क्रममा एक जनाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।’

मिनी क्षेत्र हुम्ला र मुगु दुवै जिल्लाको सीमाक्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था बुझ्न दुवैतर्फका सुरक्षा निकायले खोजी तथा अनुसन्धान अघि बढाएका छन्। सम्पर्कविहीनहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। गाउँपालिकाले पनि वेपत्ता नागरिकको खोजीका लागि विज्ञप्ति जारी गरेको छ । खोजीका लागि पहल गरिदिन प्रमुख प्रशासकीय अधिकृत केशवबहादुर सुनारले आग्रह गरेका छन् ।





error: Content is protected !!