नलगाडमा पहिलोपटक महिनावारी सम्मेलन, ११ बुँदे घोषणापत्र जारी

हेमन्त केसी
सुर्खेत , असोज १ ः जाजरकोटको नलगाड नगरपालिकामा महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी पहिलो महिनावारी सम्मेलन सम्पन्न भएको छ। नलगाड नगरपालिका र ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता’ (सुस्वा) आयोजनामा उक्त सम्मेलन भएको हो ।

महिनावारीलाई मर्यादित, सुरक्षित र भेदभावरहित बनाउन स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, समुदाय तथा सरोकारवालाबीच सामूहिक प्रतिबद्धता जनाउँदै सम्मेलनले ११ बुँदे ‘नलगाड घोषणापत्र’ जारी गरेको छ।
नगर प्रमुख डम्बरबहादुर रावत, वडा नं. १ देखि १३ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, पूर्ण सरसफाइ कार्यदलका सदस्य, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, खानेपानी तथा सरसफाइ योजनाका उपभोक्ता समितिका प्रतिनिधि र बालसञ्जालका प्रतिनिधिलगायतको सहभागिता बनाएर उक्त सम्मेलन गरिएको छ ।
सम्मेलनमा महिनावारी स्वच्छता व्यवस्थापनको वर्तमान अवस्था, सामाजिक तथा सांस्कृतिक मान्यता, महिनावारीका समयमा हुने विभेद, किशोरी तथा महिलाले भोगिरहेका समस्या र आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल भएको छ ।
खुला छलफलमा नगर प्रमुख रावत , सुस्वा आयोजनाका लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण विज्ञ राजु तिर्वा, नलगाड नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख ज्योती रावल र स्वास्थ्य शाखा प्रमुख वर्षा राउत सहभागी भएर छलफल भएको छ । सहभागीले महिनावारी महिलाको मात्र विषय नभई परिवार, विद्यालय, समुदाय, स्वास्थ्य संस्था र स्थानीय सरकार सबैको साझा जिम्मेवारी भएको बताए ।
सहभागीहरूले महिनावारीसम्बन्धी सामाजिक धारणा परिवर्तन, किशोरीमैत्री विद्यालय तथा सार्वजनिक संरचना निर्माण, सुरक्षित तथा पर्याप्त महिनावारी सामग्रीको उपलब्धता, खानेपानी तथा सरसफाइ सुविधा र महिला तथा किशोरीको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा वास (खानेपानी, सरसफाइ तथा स्वच्छता) सलाहकार प्रमोदलाल श्रेष्ठले महिनावारी स्वच्छता व्यवस्थापनको महत्व, सुरक्षित महिनावारी अभ्यास तथा पानी, सरसफाइ र स्वच्छताको सवालमा व्यापक छलफल भएको बताए । महिनावारीसँग जोडिएका गलत सामाजिक सोच र व्यवहार परिवर्तनका लागि परिवारदेखि समुदायसम्म सचेतना आवश्यक रहेको कुरामा जोड दिइएको छ ।
सहभागी सरोकारवालाले महिनावारीका कारण कुनै पनि किशोरी तथा महिला विद्यालय, रोजगारी, सार्वजनिक गतिविधि वा सामाजिक जीवनबाट वञ्चित हुन नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । महिनावारीलाई लाज, डर र भेदभावको विषय बनाउने सामाजिक अभ्यास अन्त्य गरी मर्यादित महिनावारीको वातावरण निर्माण गर्न सामूहिक पहल आवश्यक रहेको उनीहरूको भनाइ थियो।
सम्मेलनले महिनावारी स्वच्छता व्यवस्थापनलाई स्थानीय तहका खानेपानी, सरसफाइ, स्वास्थ्य, शिक्षा तथा लैङ्गिक समानतासम्बन्धी कार्यक्रमसँग जोडेर अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, समुदाय, महिला तथा किशोरी समूह र विकास साझेदारबीच समन्वय र सहकार्यलाई निरन्तरता दिनेमा जोड दिइएको छ।
नलगाड नगरपालिकामा पहिलोपटक आयोजना गरिएको सम्मेलनले महिनावारी लुकाउने वा लाज मान्ने विषय नभई स्वास्थ्य, मानव मर्यादा, समानता र सामाजिक न्यायसँग जोडिएको विषय भएको सन्देश दिएको नगर प्रमुख रावतले बताए । घोषणापत्रमार्फत महिनावारी व्यवस्थापनमा देखिएका चुनौती समाधानका लागि निरन्तर संवाद, सचेतना, व्यवहार परिवर्तन र आवश्यक संरचनागत सुधारमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।









