खोलामा बाढी आएपछि भेरी करिडोर अवरुद्ध

नन्दा शाही
जाजरकाेट , २९ भदौ ः जाजरकोटको नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बहुला खोलामा आएको बाढीले भेरी करिडोर सडक अवरुद्ध भएको छ।

बहुला खोलामा आएको बाढीले सडकको विभिन्न भाग कटान गर्नुका साथै नलगाड–१ तर्फका केही घुम्तीमा समेत क्षति पुगेको स्थानीयवासी मोतीराम हमालले जानकारी दिए। सडकमा बाढी र पहिरोका कारण यातायात सेवा ठप्प भएको छ।
खहरे खोलामा आएको बाढीले सडक च्यातिएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्था रहेको हमालले बताए। भेरी करिडोर जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ।
यसैबीच, सोमबारको अविरल वर्षापछि गएको पहिरोका कारण नलगाड नगरपालिका–२ डाँडागाउँको खर्कमा हजारी खत्रीको एक हल गोरु मरेका छन्। वर्षा र पहिरोका कारण आसपासका क्षेत्रमा समेत क्षति पुगेको स्थानीयवासी नारायणप्रसाद गौतमले जानकारी दिए।
उनका अनुसार रामकुमार जैसी र दामोदर खत्रीको घरसमेत जोखिममा परेको छ। गाउँ आसपासको जमिन विभिन्न ठाउँमा चिराचिरा परेको र थप क्षतिको जोखिम रहेको स्थानीयवासीले बताएका छन्। स्वास्थ्य चौकी कैनाको भवन भित्र बाढी आएर पस्दा काम गर्न समस्य भएको स्वास्थ्यकर्मी उत्तम चन्दले जानकारी दिए ।









