कर्णाली मन्त्रिपरिषद्को पहिलो बैठक : नयाँ तलबमानदेखि राजस्वसम्बन्धी विधेयकसम्म निर्णय

सुर्खेत — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कर्मचारी व्यवस्थापन, राजस्वसम्बन्धी विधेयक र नयाँ तलबमान कायम गर्नेलगायतका निर्णय गरेको छ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भई आएका नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव रमेश केसीलाई शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्र हेर्ने प्रदेश सचिवका रूपमा खटाउने निर्णय गरेको छ।
त्यस्तै, आर्थिक मामिला मन्त्रालयअन्तर्गत बैठकले कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउनेसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
बैठकले २०८३ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश तथा स्थानीय तहमा कार्यरत संघीय सरकारको दरबन्दीका कर्मचारी एवं प्रदेश र स्थानीय तहका करार कर्मचारीको नयाँ तलबमान कायम गर्ने निर्णयसमेत गरेको छ।
मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश सरकारको प्रशासनिक व्यवस्थापन तथा राजस्व परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यले यी निर्णय गरेको हो।










