हिमाली पाटनदेखि बजारसम्म ः डोल्पाको याक चिजमा डीडीसीको नयाँ पहल

हेमन्त केसी
सुर्खेत, ९ भदौ ः डोल्पाको हिमाली पाटनमा चरिरहेका याक तथा चौँरीबाट उत्पादन हुने दूध अब चिजमा प्रशोधन गरी व्यावसायिक बजारमा पु¥याउने तयारी थालिएको छ। दुग्ध विकास संस्थान (डीडीसी) ले डोल्पामा उत्पादित याक तथा चौँरीको दूधबाट बन्ने चिजको उत्पादन, प्रविधि र बजारीकरणमा चासो देखाएपछि जिल्लाको हिमाली क्षेत्रमा वर्षौँदेखि सीमित रहेको चौँरी पालनलाई व्यावसायिक चिज उद्योगसँग जोड्ने सम्भावना बढेको हो।
जिल्लाको जगदुल्ला गाउँपालिका–४ भालुलेखमा रहेको भालु व्यावसायिक चौँरी फार्ममा चिज उद्योग सञ्चालनका लागि गाउँपालिका र डीडीसीबीच सम्झौता भएपछि उत्पादनको तयारी अघि बढेको छ। बजारको सुनिश्चितता नहुँदा यसअघि किसानले दूध तथा चिज उत्पादन विस्तार गर्न सकेका थिएनन् । सम्झौताअनुसार डीडीसीले चिज उत्पादनसम्बन्धी तालिम, प्राविधिक सहयोग र आवश्यक उपकरण उपलब्ध गराउनेछ। उत्पादित चिजको बजारसमेत डीडीसीले सुनिश्चित गर्ने जनाएको छ।
१५ दिनभित्र उत्पादन, तीन महिनामा बजारमा
डीडीसीका महानिर्देशक डा. शरणकुमार पाण्डे र जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह रोकायले भालुलेखमै पुगेर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । डीडीसीका अनुसार एक साताभित्र आवश्यक प्राविधिक जनशक्ति तथा अपुग उपकरण पठाइनेछ। त्यसपछि १५ दिनभित्र चिज उत्पादन सुरु गर्ने र उत्पादन सुरु भएको तीन महिनाभित्र बजारमा पु¥याउने योजना छ।
पाण्डेका अनुसार जगदुल्लाबाट मात्रै वार्षिक करिब ३० टनसम्म याक चिज उत्पादन गर्न सकिने सम्भावना छ। समुद्री सतहबाट करिब चार हजार मिटरभन्दा बढी उचाइमा रहेको भालुलेखमा याक तथा चौँरीको दूधबाट चिज उत्पादन गरिनेछ।
चार वर्षअघि बनेको उद्योग अब सञ्चालनमा
जगदुल्ला गाउँपालिकाले चिज उद्योग सञ्चालनका लागि २०७९ सालदेखि नै भवन तथा आवश्यक पूर्वाधार निर्माण गरी उपकरणसमेत व्यवस्थापन गरेको थियो। तर प्राविधिक जनशक्ति र बजार व्यवस्थापनमा सहयोग नपाउँदा उद्योग सञ्चालनमा आउन सकेको थिएन।
डीडीसीले जगदुल्लाबाट सुरु गरेको कार्यक्रमलाई डोल्पाका अन्य सम्भावित क्षेत्रमा समेत विस्तार गर्ने तयारी गरेको छ। जिल्लाका जुनसुकै ठाउँका किसानले व्यावसायिक रूपमा चिज उत्पादन गर्न चाहे स्थानीय तहसँग समन्वय गरेर आवश्यक सहयोग उपलब्ध गराउने डीडीसीको भनाइ छ।
पाँच–छ सय चौँरी, ३० घरधुरी आबद्ध
जगदुल्लामा करिब आठ वर्षदेखि व्यावसायिक रूपमा चौँरी पालन हुँदै आएको छ । प्रदेश तथा स्थानीय सरकारको सहयोगमा सञ्चालन भइरहेको भालु चौँरी फार्ममा करिब ३० घरधुरी आबद्ध छन्। फार्ममा पाँच–छ सय चौँरी रहेको स्थानीय बताउँछन्। हाल यहाँ दूध तथा दही उत्पादन हुँदै आए पनि व्यावसायिक रूपमा चिज उत्पादन हुन सकेको थिएन। डीडीसीसँगको सम्झौतापछि भने दूधलाई चिजमा प्रशोधन गरेर बजारमा पठाउने तयारी भएको हो।
जगदुल्लाका मौरे, जगदुल्ला पाटन र भालुलेखलगायत क्षेत्रमा प्रशस्त चरन क्षेत्र छन्। याक तथा चौँरी पालन स्थानीयको प्रमुख पशुपालन व्यवसायमध्ये पर्छ। यहाँ भेडा पालनसमेत हुँदै आएको छ।
भिजेरमा १२ वर्षदेखि उत्पादन, बजार अझै चुनौती
जगदुल्लामा नयाँ उद्योग सञ्चालनको तयारी भइरहँदा डोल्पाकै शे–फोक्सुन्डो गाउँपालिका–५ भिजेरमा भने १२ वर्षदेखि याक चिज उत्पादन हुँदै आएको छ । समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको भिजेरमा सन् २०१४ देखि चिज उत्पादन भइरहेको छ। गाउँपालिका अध्यक्ष धावासुम्डुक गुरुङका अनुसार भिजेरमा उत्पादित चिज कर्णाली प्रदेशकै पहिलो व्यावसायिक याक चिज हो।
यहाँ वार्षिक करिब सात–आठ सय किलो चिज उत्पादन हुने गरेको छ। भिजेरमा वर्षभरि नै चिज उत्पादन गर्न सकिने सम्भावना भए पनि सडक सञ्जाल नपुगेका कारण वैशाखदेखि केही महिना मात्र उत्पादन गर्ने गरिएको छ।
सडक नपुग्दा उत्पादन सीमित
भिजेरमा सुरुवातमा स्विट्जरल्यान्डबाट आएको प्राविधिक टोलीले आवश्यक सामग्रीसहित आधुनिक चिज उत्पादन केन्द्र निर्माण गरेको थियो। स्थानीय सरकारले समेत त्यसमा सहयोग गरेको छ। हाल भिजेरमा करिब डेढ सय चौँरी व्यावसायिक रूपमा पालिएका छन्। शे–फोक्सुन्डोका अन्य वडामा समेत प्रशस्त पाटन भएकाले घरैपिच्छे चौँरी पालन हुने गरेको छ। तर उत्पादनको बजार सुनिश्चित नहुँदा किसानले दूधलाई चिजमा प्रशोधन गर्न नसकेको अध्यक्ष गुरुङको भनाइ छ।
यार्सागुम्बा क्षेत्रका पाटन, गुणस्तरीय दूधको आधार
डोल्पाको उच्च हिमाली क्षेत्रमा यार्सागुम्बालगायत बहुमूल्य जडीबुटी तथा वनस्पति पाइने पाटनमा याक र चौँरी चरिचरन गर्ने भएकाले यहाँको दूध गुणस्तरीय हुने किसानको दाबी छ। प्राकृतिक घाँसे मैदान, प्रशस्त खर्क र पोसिलो चरन डोल्पाको याक चिज उत्पादनको प्रमुख विशेषता बन्न सक्ने स्थानीयको भनाइ छ।
जगदुल्लाका स्थानीय कृषक नरप्रसाद रोकायका अनुसार प्राकृतिक चरनमा हुर्किएका याक तथा चौँरीको दूधबाट उत्पादन हुने चिजले अन्य क्षेत्रको उत्पादनभन्दा फरक पहिचान बनाउन सक्छ । पशु विज्ञहरू पनि डोल्पाको उच्च हिमाली भूगोल याक तथा चौँरी पालनका लागि उपयुक्त रहेको बताउँछन्। प्रशस्त खर्क, पाटन र प्राकृतिक घाँसे मैदान भएकाले व्यावसायिक उत्पादन विस्तार गर्न सकिने उनीहरूको भनाइ छ।
पाँच हजार हाराहारी चौँरी, दर्जनौँ टन चिजको सम्भावना
डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो, छार्काताङ्सोङ, काइके र जगदुल्ला क्षेत्रमा मात्रै करिब पाँच हजार चौँरी रहेको अनुमान छ । उच्च डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङ्सोङ चिज उत्पादनका लागि विशेष सम्भावना भएका क्षेत्र मानिन्छन्। तर सडक, ढुवानी र बजारको समस्याले उत्पादन विस्तार हुन सकेको छैन।
शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष गुरुङका अनुसार सरकारले अनुदान तथा उत्पादित चिजको बजार सुनिश्चित गरिदिए उपल्लो डोल्पाका तीनवटै पालिकाबाट वार्षिक दर्जनौँ टन चिज उत्पादन गर्न सकिन्छ । त्यसका लागि उपल्लो डोल्पासम्म सडक सञ्जाल विस्तार गर्नुका साथै उत्पादन केन्द्रमा आवश्यक विद्युत्, उपकरण र प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
सरकारी लगानीको बलाङ्ग्रा फार्म अलपत्र
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–११ स्थित बलाङ्ग्रा चौँरी फार्म भने लामो समयदेखि अलपत्र अवस्थामा छ। सरकारी लगानीमा २०३६ सालमा स्थापना भएको उक्त फार्ममा कुनै समय करिब १५० याक तथा चौँरी पालिन्थे। २०४९ सालपछि फार्म बन्द भयो र त्यहाँ रहेका याक तथा चौँरीसहितका सम्पत्ति लिलाम गरियो।
कर्णाली प्रदेश सरकारले २०७७÷७८ तिर फार्म पुनः सञ्चालन गर्ने अवधारणा अघि सार्दै घरबार, गोठ र कार्यालयलगायत पूर्वाधार निर्माण गरे पनि फार्म सञ्चालनमा आउन सकेन। अहिले ती संरचना जीर्ण बन्दै गएका छन् । दुई महिनाअघि डोल्पा पुगेका पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. केशव भट्टले फार्म सञ्चालनका लागि आवश्यक पूर्वाधार र चरन क्षेत्र उपलब्ध रहेको बताएका थिए। सम्बन्धित निकायसँग समन्वय गरी फार्म पुनः सञ्चालनका लागि पहल गर्ने उनको भनाइ थियो।
कच्चा पदार्थ प्रशस्त, बजार र ढुवानी मुख्य समस्या
डोल्पामा चिज उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आधार कमजोर छैन। प्राकृतिक चरन, उच्च हिमाली भूगोल र ठुलो सङ्ख्यामा याक तथा चौँरी भएकाले दूध उत्पादनको सम्भावना पर्याप्त छ । उत्पादित दूधलाई नियमित रूपमा सङ्कलन गर्ने, प्रशोधन केन्द्रसम्म पु¥याउने, चिजको गुणस्तर कायम राख्ने, बजार सुनिश्चित गर्ने र ढुवानी लागत घटाउने चुनौती छन्। विशेष गरी उपल्लो डोल्पामा सडक सञ्जाल कमजोर हुँदा उत्पादित चिज बजारसम्म पु¥याउन ठुलो खर्च लाग्ने गरेको छ। यही कारण उत्पादनको सम्भावना हुँदाहुँदै पनि किसान व्यावसायिक उत्पादनमा आकर्षित हुन सकेका छैनन्।
डीडीसीको बजार ग्यारेन्टीले खुल्यो नयाँ बाटो
जगदुल्लामा डीडीसीसँग भएको सम्झौतालाई स्थानीयले डोल्पाको याक तथा चौँरी पालनलाई व्यावसायिक चिज उद्योगसँग जोड्ने महत्त्वपूर्ण सुरुवातका रूपमा लिएका छन् । भिजेरमा १२ वर्षदेखि भइरहेको उत्पादनको अनुभव, जगदुल्लामा सुरु हुन लागेको नयाँ उद्योग र डीडीसीको बजार सुनिश्चित गर्ने प्रतिबद्धतालाई एकीकृत गर्न सके डोल्पाको याक चिजले राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउन सक्ने सम्भावना छ। जगदुल्ला गाउँपालिका अध्यक्ष रोकायका अनुसार डीडीसीसँगको सम्झौताले किसानलाई चौँरी पालन विस्तार गर्न प्रोत्साहन मिल्नेछ।
डीडीसीले जगदुल्लाबाट सुरु गरेको कार्यक्रमलाई डोल्पाका अन्य सम्भावित क्षेत्रमा विस्तार गर्दै किसानलाई उत्पादनदेखि बजारसम्म जोड्न सके जिल्लाको याक चिज स्थानीय उत्पादनमा सीमित नरही राष्ट्रिय बजारमा स्थापित हुने सम्भावना देखिएको छ । प्राकृतिक चरन, मौलिक स्वाद र पर्याप्त याक–चौँरी — डोल्पासँग चिज उत्पादनको बलियो आधार छ। अब आवश्यकता भनेको उत्पादनलाई बजार, प्रविधि र सडकसँग जोड्ने प्रभावकारी व्यवस्थापनको हो।









