डेंगीको उच्च जोखिममा सुर्खेत, ५ वर्षमा ७ हजार बढीमा संक्रमण पुष्टि

सुर्खेत ः सुर्खेतमा पछिल्ला वर्षहरूमा डेंगी संक्रमणको जोखिम निरन्तर बढ्दो क्रममा देखिएको छ । परीक्षणको दायरा विस्तार भएसँगै संक्रमण पुष्टि हुने बिरामीको संख्या पनि बर्सेनि बढ्दै गएको तथ्यांकले देखाएको छ । पाँच आर्थिक वर्षको अवधिमा जिल्लाभर ४९ हजार ८११ जनामा डेंगी परीक्षण गरिएकोमा ७ हजार १७८ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लाका ९ स्थानीय तहमध्ये प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका सबैभन्दा बढी जोखिममा रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०८२र०८३ मा मात्रै वीरेन्द्रनगर नगरपालिकामा १ हजार ९२३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । प्रदेशको प्रशासनिक, शैक्षिक तथा व्यापारिक केन्द्रका रूपमा रहेको वीरेन्द्रनगरमा जनघनत्व बढ्दै जाँदा डेंगी संक्रमणको जोखिम पनि उच्च बन्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय विसीका अनुसार जिल्लामा डेंगी परीक्षणको पहुँच विस्तार हुँदै गएपछि वास्तविक संक्रमितको पहिचान पनि बढेको हो । उनका अनुसार विगतका तुलनामा अहिले सरकारी तथा निजी स्वास्थ्य संस्थामा परीक्षण सेवा सहज रूपमा उपलब्ध भएकाले संक्रमण पुष्टि हुने संख्या बढेको देखिएको हो । तथ्यांकअनुसार आर्थिक वर्ष २०७८र०७९ मा १ हजार ५३० जनामा डेंगी परीक्षण गरिएको थियो । तीमध्ये ९९६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछिको आर्थिक वर्ष २०७९र०८० मा परीक्षणको संख्या बढेर ८ हजार ४१६ पुगेको थियो, जसमा १ हजार ४८४ जनामा डेंगी पुष्टि भएको थियो ।

आर्थिक वर्ष २०८०र०८१ मा ८ हजार ९५२ जनामा परीक्षण गर्दा ५७१ जनामा संक्रमण पुष्टि भएको देखिन्छ । त्यसपछि संक्रमण फेरि उकालो लागेको छ । आर्थिक वर्ष २०८१र०८२ मा १६ हजार ३१६ जनामा परीक्षण गर्दा १ हजार ९१८ जनामा डेंगी पुष्टि भएको थियो । गत आर्थिक वर्ष २०८२र०८३ मा १४ हजार ५९७ जनाको परीक्षण गर्दा २ हजार २०७ जनामा संक्रमण पुष्टि भएको विसीले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरूका अनुसार डेंगी संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । संक्रमित लामखुट्टेले टोकेपछि सामान्यतया चारदेखि सात दिनभित्र रोगका लक्षण देखिन थाल्छन् । एक्कासि उच्च ज्वरो आउने, शरीरमा डाबर देखिने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने र पेट तथा आन्द्रासम्बन्धी समस्या देखिनु डेंगीका प्रमुख लक्षण हुन् । वरिष्ठ मलेरिया निरीक्षक विसीका अनुसार एकपटक कुनै एक प्रजातिको डेंगी भाइरसबाट संक्रमित भएपछि सोही प्रजातिबाट पुनः संक्रमण हुँदैन । तर, अन्य प्रजातिको भाइरसबाट पुनः संक्रमण हुन सक्छ । विशेषगरी दोस्रोपटक लाग्ने डेंगी पहिलेको तुलनामा बढी जटिल र जोखिमपूर्ण हुने भएकाले लक्षण देखिएलगत्तै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनुपर्ने उनको सुझाव छ ।

उनका अनुसार साउनदेखि असोजसम्मको अवधि डेंगी संक्रमणका दृष्टिले सबैभन्दा जोखिमपूर्ण मानिन्छ । यहीकारण यी महिनालाई डेंगी सचेतना महिनाका रूपमा मनाउँदै विभिन्न रोकथाम तथा नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालयले डेंगी नियन्त्रणका लागि स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, समुदायस्तरमा जनचेतना विस्तार, लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान तथा आवश्यक स्वास्थ्य सामग्री वितरणलाई प्राथमिकतामा राखेको जनाएको छ ।

सरकारी स्वास्थ्य संस्थामा डेंगी परीक्षण सेवा प्रभावकारी बनाउन परीक्षण किट खरिद गरी वितरण गरिएको छ । निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई समेत डेंगी रोगको पहिचान, उपचार र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको विसीले बताए । यसबाट सरकारीसँगै निजी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस्तै, जनस्वास्थ्य सेवा कार्यालयले स्थानीय तहसँगको समन्वयमा सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत लामखुट्टेले फूल पार्ने तथा हुर्किने सम्भावित स्थानको खोजी गरी नष्ट गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । वडा तहमा जनप्रतिनिधिसहितको टोली परिचालन गरेर सरसफाइ, समुदायस्तरीय जनचेतना अभिवृद्धि तथा लामखुट्टे नियन्त्रणका गतिविधि सञ्चालन भइरहेका छन् ।

स्क्रब टाइफस, मलेरिया र कालाजारको जोखिम पनि कायमै

सुर्खेतमा डेंगीसँगै अन्य किटजन्य रोगको जोखिम पनि कायमै रहेको तथ्यांकले देखाउँछ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार पाँच आर्थिक वर्षको अवधिमा जिल्लाभर २६ हजार ६९३ जनामा स्क्रब टाइफस परीक्षण गरिएकोमा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा ८३ हजार ५०५ जनामा मलेरिया परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।

क्जष्खबm ऋझभलत द्यबललभच
त्यस्तै, पाँच वर्षमा ९ हजार ६७४ जनामा कालाजार परीक्षण गरिएकोमा २३३ जनामा रोग पुष्टि भएको तथ्यांक छ । औलोको जोखिम पनि पूर्ण रूपमा हटिनसकेको देखिएको छ । कार्यालयका अनुसार पाँच आर्थिक वर्षको अवधिमा जिल्लाभर ७३ हजार ३७ जनामा औलो परीक्षण गरिएकोमा १०८ जनामा संक्रमण पुष्टि भएको छ ।

वरिष्ठ मलेरिया निरीक्षक विसीले डेंगीसहित किटजन्य रोगको जोखिम न्यूनीकरणका लागि घर तथा कार्यालय वरपर पानी जम्न नदिने, पानी संकलन हुने भाँडा नियमित सफा गर्ने, लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउने र ज्वरो आएमा आफैँ औषधि सेवन नगरी तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरे ।




सम्बन्धित समाचार


error: Content is protected !!