मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न कर्णाली प्रदेश प्रमुखको आह्वान

सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री कडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१ ) को खण्ड (क) बमोजिम शनिबार साँझ ५ बजे लिखित राजीनामा दिएका थिए। उक्त राजीनामा प्रदेश प्रमुख यज्ञराज जोशीले सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरेका छन्।
राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको पत्रअनुसार इच्छुक प्रदेश सभा सदस्यले साउन १२ गते साँझ ५ बजेसम्म मुख्यमन्त्री पदका लागि आफ्नो दाबी पेश गर्नुपर्नेछ। उक्त प्रदेशमा नेकपाको नेतृत्वमा सरकार बनाउने तयारी छ ।









