कर्णालीमा ४३,२९० हेक्टरमा धान खेती हुँदै

हेमन्त केसी
सुर्खेत , १५ असार ः कर्णालीका १० जिल्लामा ४३,२९० हेक्टर रहेको धान रोपाई हुनुपर्नेमा हाल सम्मा १२,१,५५ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशक चित्रबहादुर रोकायका अनुसार सम्भावित रोपाइँ क्षेत्रफलको करिब २८.१५ प्रतिशत बराबरको भागमा रोपाई भइसकेको छ ।
सबै भन्दा बढी जुम्लामा ९५ प्रतितशत , डोल्पामा ९२ प्रतिशत , हुम्लामा ७५ प्रतिशत , मुगुमा ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै कालिकोटमा ४८ प्रतिशत , जाजरकोटमा २० प्रतिशत , रुकुम पश्चिम मा ३५ प्रशितत , सल्यानमा ४३ प्रतिशत , दैलेखमा १२ प्रतिशत र सुर्खेतमा ६ प्रतिशत मात्र रोपाई भएको निर्देशक रोकायले जानकारी दिए । सिँचाइ तथा मनसूनी वर्षाको ढिलाइका कारण रोपाइँ कार्यले गति लिन नसकेको उनले जानकारी दिए । असार १५ गते धान दिवस बनाइरदा कर्णालीका धान उत्पादनका हिसावले मुख्यउ मानिने जिल्लाहरुमा पानी कम पर्दा सिँचाइको अभावमा धान रोपाइ कम रहेको छ ।
माथिल्लो कर्णालीमा उच्च चिसो सहने जातहरु चन्दननाथ १ र ३ र केहि स्थानिय तहमा काली मार्सी धानको रोपाई हुने गरेको छ । कर्णाली प्रदेशका मध्य पहाडी क्षेत्रहरुमा खुमल–४, खुमल–८, खुमल–११, छोमरोंग, र भित्री टार क्षेत्रहरुमा राधा–४, राधा–१२, मन्सुली, सावित्री, बिन्धेश्वरी र चैतेधानका जातहरुको खेति हुने गरेको छ ।

नेपालमा आर्थिक वर्ष २०६१÷६२ मा अन्तराष्ट्रिय धान वर्ष मनाउने सन्दर्भमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने घोषणा भई वि.सं. २०६१ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउदै आइएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार वि.सं. २०६२ असार १५ गतेबाट यसको औपचारिक सुरुवात गरि राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको छ ।
जुम्ला जिल्लामा प्रत्येक वर्ष चैत १२ गते राष्ट्रिय धान दिवस (मार्सी धान दिवस) मनाउने गरिन्छ। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जुम्लामा परम्परादेखि चल्दै आएको ’बारुवा’ पर्वलाई मान्यता दिँदै चैत १२ गतेलाई आधिकारिक रूपमा धान दिवसको रूपमा मनाउने निर्णय गरेपछि यो चलन स्थापितत भएको हो ।

नेपालमा ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धान खेतीमा आवद्ध रहेका छन् । कुल खेती गरिएको जमिन मध्ये ५४ प्रतिशतमा धान खेती हुने गरेको छ । कृषि गार्हस्थ्य उत्पादनमा धानबालीको करीब १३ प्रतिशत हिस्सा रहेको तथा कुल खाद्यान्न बाली उत्पादनमा धानबालीको हिस्सा ५० प्रतिशत रहेको छ (कृ.प.वि.म., २०८२)। धानबालीको उत्पादनले मात्रै नेपालको कुल गार्हस्थ्य उत्पादनमा करीब २ खर्व रूपैयाँ बराबरको योगदान गरेको छ।
धान बाली समुन्द्रि सतहबाट तराईमा ६० मिटर देखि संसारको सबैभन्दा उच्च स्थान कर्णालीकै जुम्लाको छुमचौरमा ३,०५० मिटर उचाइसम्म धानको खेती गरिने भएकोले पनि यसको विशेष महत्व छ। नेपालको कुल ग्राहस्थ उत्पादनमा धानको ठुलो हिस्सा रहेको छ ।
नेपालमा आ.व.२०८१÷८२ मा १४,२०,६३६ हेक्टरमा ५९,५५,४७६ मे.टन धान उत्पादन भएको थियो। विगत पाँच वर्षमा धानबालीको उत्पादकत्व ३.८० मे.टन प्रति हेक्टरबाट वृद्धि भई ४.१९ मे.टन प्रति हेक्टर भएको छ। नेपालमा करीब ७० लाख मे.टन धान आवश्यक रहेकोमा विद्यमान उत्पादनका आधारमा करिब १० लाख मे.टन अपुग हुने देखिन्छ।
कर्णाली प्रदेशमा आ.व २०८२।८३ मा कुल ४०,८८४ हे. मा करिब १,४७,२५० मे.टन धान उत्पादन भएको थियो। कर्णाली प्रदेशको करिब १६ लाख ८८ हजार ४१२ जनसङख्यालाइ लगभग ३,४४,३२४ मे.टन खाद्यान्न आवश्यक पर्छ । आ.व. २०७९÷०८० को तथ्याङक अनुसार खुद उपभोग योग्य खाद्यान्न ३,२०,८९० मे.टन उपलब्ध छ । यसबाट करिब २३ हजार ४३४ मै.टन खाद्यान्न अपुग देखिन्छ।
अन्य प्रदेशको तुलनामा कर्णालीको रोपाइ विशेष महत्वपूर्ण र फरक पनि छ। फरक यस अर्थमा कि माथिल्लो कर्णालीमा गरिने मार्सी धान संसार कै अग्लो स्थानमा फल्ने र चिसो सहने जात हो भने यसको रोपाइ करिब करिब सकि सकेको छ भने तल्लो जिल्लामा भर्खर सुरुवात भएको छ ।

विश्वब्यापी समस्याको रुपमा रहेको जलबायु परिवर्तनको प्रभाव न्युनिकरण गरी धानको उत्पादन दिगो र उच्च कायम राख सक्नु आजको ठुलो चुनौती रहेको छ । जलवायु अनुकूलित जात तथा जलवायु मैत्री सिंचाई प्रविधि मार्फत जलवायु अनुकूलित प्रविधि विकासमा थुप्रै प्रयासहरु शुरु गरिएको छ। जलवायु परिवर्तनले कृषि क्षेत्रमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै धान खेतीमा जलवायु अनुकूलन प्रविधिको अनुसन्धान, विकास, प्रसार तथा प्रयोगलाई प्रोत्साहित गर्नु यस वर्षको मुख्य सन्देश रहेको छ।
जलवायु अनुकूलित खेती प्रणाली विकासका लागि नेपाल कृषि अनुसन्धान परिषद् बाट सुख्खा सहन सक्ने सुख्खा–१,२,३,४,५,६,डुवान सहन सक्ने सावा मसुली सव–१ र सेहराङ सव–१ एवं सुख्खा तथा डुबान दुवै सहन सक्ने बहुगुणी–१ र २ जात विकास गरी किसानस्तरमा प्रवद्र्धनका कार्य भएका छन्। यसै गरी धानबालीका २५०० भन्दा बढी आनुवांशिक स्रोत राष्ट्रिय जीन बैंकमा सुरक्षित राखी जैविक विविधता संरक्षण, सम्वद्र्धन र जातीय विकासमा प्रयोग गरिएको छ।
कालो धान, शुद्धोधन कालानमक, हरियो काउचिन, कालो पात्ले, रातो अनदी, जोरायल बासमती, झिनुवा र एक्लेलगायतका जात दर्ता गरी धानबालीका पोषणयुक्त रैथाने जातको मूल्य शृङखला विकासको प्रयास गरिएको छ। यस्ता रैथाने तथा स्थानीय जात सूचीकरण गर्न कृषक समूह÷समुदायलाई प्राविधिक र आर्थिक सहजीकरणको कार्य समेत हुँदै आएको छ।
कर्णाली प्रदेशमा धानबालीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

उन्नत तथा स्थानीय अनुकूल बीउविजन वितरण, साना सिँचाई संरचनाको विस्तार, रासायनिक तथा जैविक मल उपलब्धता सुनिश्चितता, प्रविधि प्रसार एवं कृषक तालिम जस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ। साथै, खडेरी सहन सक्ने तथा थोरै पानीमा फलाउन सकिने धानका जातहरूको प्रवर्धन, साना सिँचाई व्यवस्थापन र वर्षाको पानी सङ्ग्रहण जस्ता जलवायु अनुकूलन प्रविधिलाई समेत प्रोत्साहन गरिँदै आएको निर्देशक रोकायले बताए ।
धानको अनुसन्धान, विकास, उन्नत जातको प्रयोग, मलको वितरण तथा पहुँचको वृद्धि जस्ता कार्यबाट धानको थप उत्पादन तथा प्रबर्धन मार्फत आयात प्रतिस्थापन घटाउनमा संघ प्रदेश र स्थानिय तह बिचको समन्वय र सहकार्य महत्वपूर्ण हुने गरेको छ । कर्णालीका जुम्ला बाहेक अन्य जिल्लामा आज धान दिवस भव्यका साथ मनाएको छ ।
–––










