सुर्खेतका विभिन्न राजमार्गमा १५ दिनभित्र सडक अतिक्रमण हटाउन निर्देशन

सुर्खेत , १२ असार ः सडक डिभिजन सुर्खेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राष्ट्रिय राजमार्गका सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, पर्खाल लगायतका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

डिभिजनका अनुसार सार्वजनिक सडक ऐन, २०३१ विपरीत सडकको (सडक सीमा) अतिक्रमण गरी निर्माण गरिएका संरचनाका कारण यातायात सञ्चालन र सडक सुरक्षामा समस्या उत्पन्न भएकाले सडक सीमा खाली गराउन बिहीबार निर्देशन दिइएको हो ।
भेरी करिडोर (छिन्चु–छेडा सडक ), कर्णाली राजमार्गका हर्रे बाँङ्गेसिमल , बाँङगेसिमल दहीखोला , मध्यपहाडी राजमार्गको सुयाडा साइखोला , बाटोचौर काल्चे सडक खण्ड , सुर्खेत –दैलेख महावु सडक खण्डमा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिइएको छ।
सडक डिभिजनले १५ दिनभित्र सम्बन्धित पक्षले आफैं संरचना हटाई सडक सीमा खाली गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने कार्यालयले प्रचलित कानुनअनुसार संरचना हटाई त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी पनि दिइएको सडक डिभिजन सुर्खेतका डिभिजन प्रमुख ई विवश वावु सदादेवले जानकारी दिनुभयो ।










