पर्यटकीय क्षेत्रको विकासका लागि गुरु योजना बनाउदै बीरेन्द्रनगर

हेमन्त केसी

सुर्खेत /  पर्यटन क्षेत्रलाई विकास गर्नका लागि बीरेन्द्रनगर नगरपालिकाले विशेष गुरु योजना निर्माण सुरु गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ मा पर्यटन क्षेत्रको विकासका लागि विशेष गुरु योजना बनाएर काम गर्न लागिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । प्रदेश राजधानी समेत रहेको बीरेन्द्रगरमा दर्जनको सङ्ख्यमा पर्यटकीय क्षेत्र रहेकाले यसको विकास ,संमृद्धिका लागि गुरु योजना बनाउन लागिएको उहाँको भनाई रहेको छ ।

चालु आवमा प्रदेश सरकार देखि बीरेन्द्रनगर नगरपालिकाले यहाँको पर्यटन प्रवद्र्धन गर्न कामको सुुरुवात गरिसकेको नगरपालिकाको भनाई रहेको छ । वीरेन्द्रनगरका प्रमुख पर्यटकीय गन्तव्यको सूचि नै निर्माण गरेर पर्यटन प्रवद्र्धनको काम भइरहेको नगरप्रमुख ढकालले बताउनुभयो । हाल घण्टाघर, बुलबुले उद्यान, काँक्रेविहार, सहिद पार्कको अवलोकन गर्न विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरू आउने गरेका छन् ।

नागरिकको रोजाईमा परेका पर्यटकीय क्षेत्रको पहिचान गरेर पूर्वाधार निर्माणको काम थालिएको छ । चालु आर्थिक वर्षमा पनि केही पूर्वाधार निर्माणका काम गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर समेत योजना कार्यान्वयन गर्न लागिएको नगरप्रमुख ढकालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा घण्टाघरको काम गर्नका लागि केही नीतिगत कुराहरुको भइरहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले जानकारी दिए । हाल घण्टाघर क्षेत्रलाई व्यवस्थित र विकसित बनाउने योजनासहित ‘ग्रेटर घण्टाघर’ निर्माणको काम धमाधम चलिरहको उहाँले जानकारी दिनुभयो । घण्टाघर पार्क र पार्कभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर पूर्वाधार निर्माणको काम थालिएको हो । कर्णालीका दश जिल्लाको सांस्कृतिक तथा पर्यटकीयस्थलको झल्को दिने गरी वीरेन्द्रनगर नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ योजना अघि सारेको नगरपालिकाले जनाएको छ । त्यसका लागि घण्टाघर क्षेत्र आसपासदेखि नगर कार्यपालिका कार्यालय क्षेत्रसम्म विभिन्न संरचना निर्माण गर्ने जनाएको छ ।

ग्रेटर घण्टाघर बनाउन व्यवस्थित पार्क, फोरलेन सडक, पार्टी र अन्य कार्यका लागि सभाहल, पारिवारिक रूपमा बस्न पार्कलाई व्यवस्थापन गर्ने लक्ष्यका साथ कार्ययोजना निर्माण भइरहेको छ । घण्टाघर पार्कभित्र आकर्षक संरचना बनाइने छ । पश्चिमतर्फको खाली भागमा खुल्ला पार्क बनाइएको छ । त्यसबाहेकका अन्य काम पनि धमाधम भइरहेको छ । घण्टाघर पार्कलाई नगरपालिकाले संरक्षण र पर्यटकीय स्थल बनाउने उद्देश्यले प्राथमिकतामा राखेर अघि बढाएको छ । आर्थिक वर्ष २०७९÷०८० मा घण्टाघरको पुरानो पर्खाल हटाएर नयाँ पर्खाल निर्माण गरिएको थियो । दुई चरणमा ठेक्का व्यवस्थापन गरेर निर्माण थालिएको घण्टाघरको उत्तर, पश्चिम र दक्षिणतर्फको काम रु ४० लाख ४७ हजार आठ सय १९ रूपैयाँ लागतमा अघिल्लो वर्ष सकिएको थियो ।

नगरपालिकाले विभिन्न आर्थिक वर्षमा ‘ग्रेटर घण्टाघर’ बनाउन बजेट विनियोजन गर्ने गरेको छ । घण्टाघर पार्कभित्र पब्लिक प्लाजा, विमोचनस्थल, योगा क्षेत्र, बाल उद्यानलगायतका संरचना निर्माण गर्न लागिएको छ । घण्टाघरदेखि पश्चिममा रहेकोस्थानमा हाल नगरपालिकाले खुला पार्क बनाइसकेको छ । प्रदेश राजधानी संरक्षण योजनाअन्तर्गत नदी नियन्त्रणको काम अघि बढाइएको छ । प्रदेश सरकारको जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सहयोगमा बुलुबले क्षेत्रको पानी व्यवथापन गर्न लागिएको छ । ठेक्का सम्झौता गरेर निर्माणको काम सुरु गरिएको छ । २०८२ चैत महिनादेखि सम्झौता गरेर नदी नियन्त्रणको काम सुरु गरिएको हो । रु १७ करोड १५ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको छ ।

योजनाअनुसार बुलबुले तालदेखि काँक्रेविहार जंगलसम्म करिब एक किलोमिटरमा नदी नियन्त्रणको काम जारी रहेको छ । बुलबुले तालबाट आएको पानीलाई बुलबुले तालको किनारबाटै काँक्रेविहार जंगलको किनारसम्म पु¥याउने गरी निर्माणको काम अघि बढाइएको आयोजनाले जनाएको छ । पानी नियन्त्रण नहुँदा किसानले उत्पादन गर्ने खेतबारीमा समेत असर पर्नुका साथै बुलबुले आसपासका क्षेत्रका स्थानीयलाई समेत बस्तीमा पानी पस्दा समस्या हुने गरेको थियो ।

कर्णाली प्रदेश सरकारले विशेष गुरुयोजना निर्माण गरेर प्रदेश राजधानी संरक्षण योजना कार्यान्वयन गरेको हो । उक्त योजनाअन्तर्गत यो वर्ष एक किलोमिटर बुलबुले क्षेत्रको पानीमा पलम वाल निर्माणको काम गर्न लागिएको हो । बुलबुलेलाई थप सुन्दर बनाइ पर्यटन प्रवद्र्धन गर्ने योजनाअन्तर्गत ताल निर्माणको काम सुरु गरिएको छ ।

मानिसहरूलाई बुलबुलेदेखि काँक्रेविहारसम्म सहज रूपमा पुग्नका लागि समेत यस योजनाले सहयोग पुग्ने अपेक्षा छ । नयाँ ताल निर्माणको काम धमाधम रूपमा भइरहेको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयनअन्तर्गत ताल निर्माण गर्न लागिएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एक करोड १२ लाख ३६ हजारमा ताल निर्माण गर्न लागिएको हो । कम्पनीले कम्पाउण्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै ताल वरिपरि मान्छे हिँड्ने फुटपात बनाइने लगायतका काम गर्नेछ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईका अनुसार अहिले पानीको स्रोत भएपनि लिकेज भइरहेको छ । त्यसलाई संरक्षण गर्नु पनि उद्देश्य रहेको छ । यसले बुलबुले क्षेत्र व्यवस्थापनमा सघाउ पुग्नेछ ।

प्रदेश सरकारले काँक्रेविहारको विकास लागि बजेट बिनियोजन गरेको छ । आगामी वर्षमा लागू हुने गरेर बजेट बिनियोजन गरेको हो । सङघ सरकारले समेत यहाँको लागि बजेट बिनियोजन गरेको छ । बीरेनद्रनगरलाई पर्यटकीय क्षेत्रको हर्ब बनाउनका लागि विशेष गुरु योजना बनाउने कामको सुरुवात भएको नगरप्रमुख ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , “पर्यटकीय गुरु योजना बनाइने सबै क्षेत्रको भारी विकासका लागि काम गर्न लागेका छौँ । रानीघाट , गढी , जरवुटा , देउतीबज्यै , बिभिन्न जातीका पहिचानसँग जोडिएका कला , संस्कृतीको विकास, घरबास कार्यक्रमलाई थप सहायता गरिरेका छौँ । बीरेन्द्रनगर शैक्षिक , प्रशासनिक , आर्थिक रुपमा समेत महत्वपूर्ण क्षेत्र हो । ” उहाँले काँक्रेविहारलाई विशेष सम्पदा सूची राख्नका लागि पहल गर्न लागिएको बताउनुभयो । भर्खरै मात्र पर्यटकन महोत्वस सम्पन्न गरेको भन्दै उनले लुम्विनी काँक्रविहार हिल्सा जोडने विशेष रुटको लागि पहल गर्न लागिएको बताउनुभयो ।

कर्णालीका १० वटै जिल्लामा पर्यटकीय सम्भावना भएका सयौँ क्षेत्रहरु रहेपनि राज्यको भरपर्दो नजर नपर्दा सधै एकादेशका कथाको रुपमा रुपान्तरण हुँदै आएका छन् । प्रदेश तथा स्थानीय सरकार स्थापना पछि केही पर्यटकीय क्षेत्रमा लगानी भएपनि त्यो अप्रयाप्त हुँदा खास नजिता आउन सकेको छैन । कठिन भूगोल , पूर्वाधारको अभावका साथै यातायातको सहज पहुँच नहुँदा कर्णालीका पर्यटकीय क्षेत्रको विकास अझैँ हुन सकेको छैन । सबै ठाउँहरु पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएपनि लगानीको अभावमा सधैँ ओझेल पर्दै आएको अवस्था छ । कर्णाली पर्यटकीय क्षेत्रहरु मध्य सबै भन्दा बढी सुर्खेतले बढी लाभ लिएको देखिन्छ । हिमाली जिल्लाहरुमा रहेका पर्यटकीय क्षेत्रहरुमा राज्यको नजर पुग्न सकेको छैन ।





error: Content is protected !!