भेरी नगरपालिकाको निर्णय पुस्तिका गायब, खोजीका लागि प्रशासनलाई गुहार

जाजरकोट / जाजरकोटको भेरी नगरपालिकाको कार्यपालिका बैठकको निर्णय पुस्तिका बेपत्ता भएपछि नगरपालिकाले खोजी तथा आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग अनुरोध गरेको छ।

भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेना जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार असार ९ गते बसेको कार्यपालिका बैठकका क्रममा उपस्थिति दर्ता गरिसकेपछि निर्णय पुस्तिका हराएको जानकारी प्राप्त भएको हो।

पत्रमा उल्लेख भएअनुसार वडा नं. २ का वडा अध्यक्ष भीमबहादुर कार्कीले उक्त निर्णय पुस्तिका लिएर उपप्रमुखको कार्यकक्ष पुगेको सिसिटिभी फुटेजमा देखिएको जनाइएको छ। साथै नगर उपप्रमुखको सचिवालयमा फोन सम्पर्क गर्दा पनि निर्णय पुस्तिकाबारे कुनै जानकारी प्राप्त नभएको बताइएको छ।

नगरपालिकाले प्राप्त मौखिक जानकारी तथा उपलब्ध तथ्यका आधारमा हराएको निर्णय पुस्तिका खोजी कार्यमा आवश्यक सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेको छ। उक्त पत्रको बोधार्थ नगर प्रमुख तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई समेत पठाइएको छ।





error: Content is protected !!