कर्णालीका विकासका लागि एकै स्वर

सुर्खेत / कर्णालीबाट प्रतिनिधिसभामा सहभागी सांसदहरुले विकास तथा समृद्धिको लागि एकै ठाउँमा रहने प्रतिबद्धता व्यक्त गनुभएको छ ।
‘कर्णालीको समृद्धिबिना देशको समृद्धि’ नहुने भएकाले कर्णालीलाई विकासको मूलधारमा ल्याउन राज्य नै अग्रसर हुनुपर्ने बताउँदै उहाँहरूले आफूहरू सामूहिक रूपमा संर्घष गर्ने बताउनुभएको हो ।
कर्णाली उत्सवमा आयोजित ‘सुइना कर्णाली’ विषयमा बोल्दै विगतका कमजोरीहरूलाई सुधार गर्दै सामूहिक रूपमा कर्णालीको विकासका लागि सङ्घर्ष गर्ने बताउनुभएको हो ।
सुर्खेत–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाले कर्णालीको चित्र बदल्ने सपनाका साथ भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ,“ हाल अलपत्र परेका योजनालाई पूर्णरुपमा कार्यान्वयन गराउन भूमिका खेल्ने छु । हामीले देखेका कुरा अनि सपनाभन्दा अहिलेको सरकारले त्यहाँ भन्दा माथि सोचेर काम गर्ने सोचेको छ, प्रधानमन्त्री बालेन साहले कर्णालीमै आएर पनि भन्नु भएको छ । ती बाँच पुरा गर्न हामी सरकारलाई घचघच्याउँछौँ । सबैको कुरा यही हो ”
जाजरकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने खडकबहादुर बुढाले कर्णालीलाई विकासको मूलधारमा लैजान दलगत नभई साझा आवाजका रूपमा प्रस्तुत हुन सहमत भएको बताउनुभयो । उहाँले भन्नुभयो , “ यसअघि कर्णालीमा लागु गर्न खोजिएका र केही स्तरोन्नति तथा पूर्णता दिनुपर्ने आयोजनाहरूमा मात्रै राज्यले काम गरिदिए कर्णाली केही रूपमा विकसित भइसक्छ । ”
उहाँले थप्नुभयो , “ दक्षिणदेखि उत्तर जोड्ने भेरी कोरिडोर, कर्णाली कोरिडोरको समुचित विकास नै समृद्ध कर्णालीको प्रमुख आधार छन् । त्यस्तै, कर्णालीमा हाल लागु गर्न खोजिएको बेतन कर्णाली, अपर कर्नाली, फुकोट कर्नाली, नलगाड लगायतका ठुला हाइड्रोपावर आयोजनाहरूले मात्रै मूर्त रूप पाउने हो भने रोजगारदेखि आर्थिक रूपमा कर्णाली बलियो बन्ने छ । ”
सल्यानबाट निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले कर्णाली बदल्ने सपना मनभरी साँचेर अगाडी बढेको बताउनुभयो । यो व्यवस्था ल्याउनका लागि आफूहरुले धेरै योगदान गरेको बताउर्दै उहाँले भन्नुभयो , “ हामीले कर्णाली बदल्नका लागि सपना देखेर नै अगाडी बढेको अवस्था छ ।कर्णालीको एक तिहाइ जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क हामीसँग छ । समग्र कर्णालीको परिवर्तन नै अहिलेको मूल मुद्दा रहेको छ । ”
दैलेखबाट निर्वाचित नेकपा एमालेको तर्फवबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य लक्ष्मीप्रसाद पोखरेलले कर्णालीको सभ्यता नेपालको सभ्यता भएको बताउँदै उहाँले कैलाश, ज्वाला र सिञ्जा सभ्यतालाई एउटै डालोमा राखेर विश्लेषण गर्दा कर्णाली सभ्यता र त्यसबाट नेपाली सभ्यता देखिने भनाई राख्नुभयो । उहाँले भन्नुभयो,“ कर्णालीले मुलुकलाई भाषा ,इतिहास दिएको बताउँदै आर्थिक र सांस्कृतिक रूपमा रूपान्तरण लागि अब सङ्घर्ष गर्नुपर्ने छ । दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन गर्ने योजनालाई पूर्णता दिने भने मात्रै कर्णाली मात्र नभई समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने छ ।”

कर्णाली प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य विन्दमान विष्टले समग्र कर्णालीको समृद्धिबिना राज्यले अङ्गीकार गरेको लक्ष्य पुरा नहुने बताउनुभयो । केन्द्र सरकारले प्रदेशलाई आवश्यक पर्ने कतिपय कानुनकै नबनाइदिएका कारण आएको बजेट कार्यान्वयनमा समेत समस्या रहेको बताउनुभयो ।








