कर्णाली उत्सवः जेनजी विद्रोहदेखि कर्णाली समृद्धिसम्मको बहस

सुर्खेत ः कर्णाली उत्सव ‘कुडा कर्नाली’ को सातौं संस्करण शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । सातौं संस्करणको पहिलो दिन जेनजी विद्रोहदेखि कर्णाली समृद्धिसम्मको बहस गरिएको छ ।
शनिबारको पहिलो सत्र ‘जेनजी स् सडकदेखि सदन’सम्म मा बोल्दै जेनजी अगुवा रक्षा बमले नागरिकले सुशासन र परिवर्तनको अनुभूति नगर्दासम्म आन्दोलनका मुद्दाले पूर्णता नपाउने बताइन् । ‘नयाँ पुस्ताले देशलाई अस्थिरताबाट स्थिरतामा लैजान भूमिका खेलेका छौं,’ उनले भनिन्, ‘हाम्रा धेरै साथीहरू सडकबाटै संसद्सम्म पुग्नुभएको छ, उहाँहरूले सडकका मुद्दा कहिल्यै बिर्सिन मिल्दैन ।’
अर्का अभियन्ता मनीष खनालले आन्दोलनबाट पुस्तान्तरणसहितको नेतृत्व हस्तान्तरण खोजिएको बताए । ‘विद्रोह नगरेको भए अहिलेको जनमत आउन अझै हामीले केही वर्ष पर्खनु पर्थ्यो,’ उनले भने, ‘परम्परागत सोच र सामाजिक संरचनाका कारण पनि पुरानो पुस्ता बेथितिमा फस्यो, त्यसलाई निर्मूल पार्न हाम्रो खबरदारी अझै जरुरी छ ।’
जेनजी आन्दोलनका घाइते प्रकाश बोहराले सरकारले स्थायी शान्ति कायम गरी सुशासन, राष्ट्रिय सुरक्षा र सहज सेवा प्रवाहलाई ध्यान दिन जरुरी रहेको बताए । अभियन्ता धीरज जोशीले शान्तिपूर्ण आन्दोलन कसरी हिंसात्मक भयो भन्नेबारे आफूहरू पनि अनभिज्ञ भएको बताए । कार्की आयोगको प्रतिवेदन सरकारबाटै सार्वजनिक भएर पूर्णरूपमा कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रमको पहिलो सत्र ‘सुइना कर्णाली’ मा बोल्दै प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले कर्णालीको सिंजाले नेपाललाई सभ्यतासहित भाषा र राजनीतिक दृष्टिकोण दिएको बताए । ‘राजनीतिक सुइना देखेरै यहाँका नागरिकले विभिन्न संघर्षमा आफ्नो बलिदानी दिएका छन्, तर हामी अझै पनि गरिबी, अशिक्षा, रोग र भोकमा छौ,’ उनले भने, ‘सकारात्मक विभेदबाटै राज्यले कर्णालीलाई राजनीतिक अधिकार दिएर समृद्धिको यात्रामा डोर्याउनुपर्छ ।’
अर्का सांसद खड्कबहादुर बुढाले ‘कर्णालीले सुनको थाली थापेर नुन मागिरहेको’ बताए । ‘कर्णालीले हाइड्रोमार्फत सिंगो देशलाई उज्यालो बनाएर बिजुली निर्यात गर्न सक्ने सामर्थ्य राख्छ,’ उनले भने, ‘जडीबुटी, पर्यटन र चिनो–कागुनोलगायत स्थानीय उत्पादनमार्फत मात्रै पनि हामी आत्मनिर्भर बन्न सक्छौ ।’
सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णालीको समृद्धिका लागि राजनीतिक आस्था छोडेर एकताबद्ध हुन जरुरी रहेको बताए । ‘कुनै बेला तिब्बतको खारी क्षेत्रबाट नुन र सुन हाटसिँजा आउथ्यो, त्यहाँबाट उत्तर–दक्षिण सबैतिर पुग्थ्यो,’ उनले भने, ‘सिंजा, कैलाश र ज्वाला क्षेत्रको सभ्यता हुँदै कर्णालीको सभ्यता बन्यो र नेपालको सभ्यताको रूपमा विकास भयो ।’
ज्वाला क्षेत्रमा देखिएको मिथेन ग्याँसले मात्रै पनि कर्णालीको मुहार उज्यालिएको सांसद राधिका रम्तेलले बताइन् । सांसद रमेशकुमार सापकोटाले जनताको जीवनीसँग जोडिएका शिक्षा, स्वास्थ्य, सडक र बिजुली मात्र दिनसके पनि नागरिकले सन्तोष मान्ने बताए ।
सात धुनबाट उद्घाटन भएको उत्सवमा नारी नेतृत्वबारे वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले मन्तव्य दिइन् भने कर्णालीमा बैंकिङ लगानीबारे देवेन्द्ररमण खनाल र मोक्षभूमि कर्णालीबारे केशव दाहालले व्याख्या गरे । सोमबारसम्म सञ्चालन हुने उत्सवमा १५ वटा मूल बहस र १० वटा छोटा सत्र सञ्चालन हुनेछन् भने झण्डै ८० वक्ता सहभागी हुने आयोजक ऋति फाउन्डेसनले जनाएको छ ।









