सबै तहको सरकारको अस्तित्व स्वीकार गर्न मुख्यमन्त्री कडेलको आग्रह

सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै तहका सरकारको अस्तित्व स्वीकार गर्न आग्रह गनुभयो । नयाँ सरकारको प्रदेश र स्थानीय तहप्रति परम्परागत र केन्द्रीकृत रुपमा काम गराउन खोज्दा सरकार सञ्चालनको क्रम्मा विभिन्न जटिलता उत्पन्न भएको बताउनुभयो ।
मुख्य न्यायाधिवक्ताको कार्यालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेतद्वारा आयोजित आठौं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुखयमन्त्री कडेलले संघीयताको प्रभावकारी कार्यान्वयनमा अझै चुनौती रहेको उल्लेख गनुभयो ।
मुख्यमन्त्री कँडेलले संविधान कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार संरचनागत विषय कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले संविधानले प्रदेशसभा र स्थानीय तहलाई दिएको अधिकार व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको पनि बताउनुभयो । पछिल्लो समय प्रदेशसभा र स्थानीय सरकारको विधायिकाको अधिकारसमेत कुण्ठित गर्ने प्रयास भइरहेको भन्दै चिन्ता उहाँले व्यक्त गनुभयो । “संविधानले दिएको अधिकारलाई संघीय सरकारले सामान्य परिपत्रका आधारमा विस्थापित गर्ने प्रयास भइरहेको छ, जुन संघीयताको मर्म विपरीत हो,” मुख्यमन्त्री कँडेलको भनाई थियो।
मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशले हालसम्म प्रदेश सरकार वा मातहतका निकायहरू सम्बन्धित मुद्दामा बहस पैरवी तथा प्रतिरक्षा गर्दै आएको जनाएको छ। कार्यालयका अनुसार हालसम्म ६९४ वटा मुद्दामा कानुनी सेवा प्रदान गरिएको छ। त्यस्तै, प्रदेश सरकार तथा सम्बन्धित अधिकारीहरूलाई कानुनी र संवैधानिक परामर्श दिने, अदालतमा पेश गरिने लिखित जवाफ तथा निवेदनको गुणस्तर कायम गर्न समन्वय र निर्देशन दिने कार्य पनि निरन्तर भइरहेको छ।









