विकासको उत्कृष्ट नमुना १०० वर्ष पुरानो मटेला पुल मर्मतको पखाइमा

हेमन्त केसी
जाजरकोट ः विस १९८२ मा चन्द्र समशेरले उहाँकी श्रीमती बालकुमारी शाहको आग्रहमा जाजरकोट माइतीघर आउनका लागि निर्माण गरिएको भेरी नगरपालिका–११ को पुल मर्मतको पखाइमा रहेको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका र भेरी करिडोरसँग जोडिएको भेरी नगरपालिका–११ मटेला स्थित भेरी पुलमा रहेका फल्याकहरु किला नहुँदा जोखिम बढेकाले मर्मत गर्नुपर्ने भएको हो । द्धन्द्धकालमा सुरक्षाको हिसाबले जोखिम रहेको भन्दै पुलमा राखिएका फल्याकहरु हटाएपछि पुल जोखिमपूर्ण भएको हो । झोलुङ्गे पुल मर्मतका लागि पटक ,पटक कुरा उठेपनि हाल सम्मा मर्मत हुन नसक्दा जोखिम बढेको स्थानीयबासी तेज शर्माले बताउनुभयो । १०० वर्ष सम्मा पुलको अन्य कुनै भागमा केही समस्या नभएपनि फल्याक हटाएका कारण यात्रामा जोखिम भएको उहाँले बताउनुभयो ।
राणा प्रधानमन्त्री चन्द्र सम्सेरले १९८२ सालमा मटेलामा निर्माण गरेको यो पुललाई नेपालको विकास योजनाहरुको उत्कृष्ट नमुना वनेको रूपमा लिइएको छ । जाजरकोटी राजाकी छोरी तथा चन्द्रसम्सेरकी कान्छी रानी वालकुमारी शाहले आफ्नो माइतीहरुलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि उक्त पुल बनेको माइती पक्षका राजेन्द्रविक्रम शाहले बताउनुभयो ।
मटेलामा पुल वन्नु अघि जाजरकोटका जनतालाई रुकुम सल्यान मात्र नभई सुर्खेत नेपालगन्ज आवत जावत गर्न भेरी नदीमा डुंगाको सहयता लिनुपर्ने वाध्यता रहेको थियो । वैकल्पिक उपाय अपनाएर जोखिमपूर्ण तरिकाले भेरी पार गर्ने दर बढेपछि वालकुमारी चिन्तित भएर पुल निर्माण गर्न आग्रह गर्नुभएको शाहले बताउनुभयो । आफ्नो आग्रह सुुनुवाइमा ढिलाइ भएपछि वालकुमारीले राणा दरवारको भुजा अर्थात् भात बहिष्कार गरेको पनि उहाँले बताउनुभयो ।
चन्द्रशम्सेरकी निकै प्यारी भएकोले वालकुमारीको आग्रहलाई स्वीकार गरी स्कटल्यान्डको एवरडिनस्थित जोन एम हेन्डरसन एन्ड कोअपरेसन लिमिटेड नामक कम्पनीले पुलका सम्पूर्ण सामग्रीहरु उत्पादन तथा जडानको जिम्मा लिएको थियो । पुल निर्माणमा कति रकम लागेको थियो भन्ने एकिन विवरण थाहा नभए पनि उक्त पुलको डिजाइनिङ नेपालका प्रथम इन्जिनियर कुमार नरसिंह राणाले गरेको इन्जिनियर निरज शाहले बताउनुभयो ।
उहाँले ९० मिटर लम्वाइ रहेको उक्त पुल नेपालकै पहिलो झोलुङ्गे पुल भएको उक्त पुलका सामग्रीहरु २० वटा हात्ती र स्थानीय जनताले भेरीको किनार हुँदै जाजरकोट पु–याएको बताउनुभयो । स्थानीय जनता र हात्तीले दुई महिना लगाएर पुलका सम्पूर्ण सामग्रीहरु जाजरकोट पु–याएको इन्जिनियर शाहले बताउनुभयो । पुलका सामग्री बोकेबापत स्थानीय जाजरकोटवासीले खाना खर्च मात्र पाएको र अन्य जनश्रमदान गरेका थिए।
यो पुलमा दैनिक सयौँ सर्वसाधारणहरूले जाजरकोट र रुकुममा आवतजावत गर्नका लागि प्रयोग हुँदै आएको छ । यो पुल हुँदै जाजरकोट, जुम्ला, डोल्पा, रुकुमका जनताहरू नेपालगन्ज, सुर्खेत र काठमाडौँ जाने गर्छन् । मुलुककै सबै भन्दा पुरानो र गुणस्तरयुक्त मटेलाको झोलुङ्गे पुल पुरातत्व विभागमा दर्ता गरेर यसको ऐतिहासिक महत्वलाई सरकारले जोगाउनुपर्ने स्थानीय तेज शर्माले बताए ।








