“मध्यपश्चिम विश्वविद्यालय र अष्ट्रेलियन दूतावासका प्रतिनिधिबीच शिष्टाचार भेट ”

सुर्खेत /  मध्यपश्चिम विश्वविद्यालय र नेपाल स्थित अष्ट्रेलियन दूतावासका प्रतिनिधि मण्डल बीच शुक्रवार वीरेन्द्रनगर, सुर्खेतमा शिष्टाचार भेट भएको छ । उक्त भेटमा शैक्षिक सहकार्यका लागि अर्थपूर्ण छलफल भएको हो ।

एक औपचारिक कार्यक्रमका बीच मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र अष्ट्रेलियन राजदुतावासका उपप्रमुख ग्रेग क्लेमले दुई देशबीचको सम्बन्ध निकै पुरानो र सुमधुर रहेको भन्दै शैक्षिक सहकार्यका माध्यमबाट आपसी सम्बन्धलाई अँझ नयाँ उचाइमा विकास गर्नेमा जोड दिनुभएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उपप्रमुख ग्रेग र दूतावासका सार्वजनिक मामिला अधिकृत सन्जना प्रधानको स्वागतसँगै आयोजित कार्यक्रमको अध्यक्षता गर्नुभएका उपकुलपति प्रा. डा. गौतमज्यूले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने प्रयास तीव्र पारिएको उल्लेख गर्नुभयो । उहाँले मध्यपश्चिम विश्वविद्यालयले गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न प्रतिबद्ध रहेकोमा जोड दिनुभयो । उपकुलपति प्रा. डा. गौतमले सांस्कृतिक पर्व चैते दशैं अन्तर्गत रामनवमीसँगै संयोगवश ताजा जनादेशबाट आजै नियुक्त हुनुभएका कुलपति र सहकुलपति सहितको टीमलाई शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा अष्ट्रेलियन दूतावासका उपप्रमुख ग्रेग क्लेमले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई शैक्षिक सहकार्य मार्फत थप सुदृढ बनाउन सकिने धारणा व्यक्त गर्दै अष्ट्रेलियाले शिक्षा क्षेत्रलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण आधारको रूपमा लिएको बताउनुभयो । उहाँले ज्ञान, सीप र अनुसन्धान आदान–प्रदान मार्फत दुवै पक्षलाई लाभ पुग्ने गरी अन्य विश्वविद्यालयमाझैं उच्च शिक्षा, प्राविधिक तालिम र अनुसन्धान साझेदारीका दीर्घकालीन सहकार्यको सम्भावना पहिल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले स्वागत मन्तव्य राख्दै दुई देश बीचको सम्बन्ध मजबुत बनाउन हामीबीचको सहकार्यले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयका शैक्षिक, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे प्रस्तुतिकरण गर्नुभएको थियो । योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न ग्र्याजुएट स्कूलका डीनहरु प्रा. डा. विनोद वश्याल, प्रा. चन्देश्वरप्रसाद श्रीवास्तव, सहप्रा. डा. पूर्णमान श्रेष्ठ, सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, सहप्रा. डा. दिपकराज अधिकारी लगायतका प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।





error: Content is protected !!