साँघुतरा –सिर्के पुलको कथा- मोटरेवल पुल पाँच वर्ष सम्मा निर्माण भएन , झोलुङगेपुल मर्मत गर्न दिइएन

हेमन्त केसी
जाजरकोट , १८ माघ ः जाजरकोटको नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ को बिचमा रहेको नलगाड नदीमा पुल निर्माण नहुँदा युवाहरू आन्दोलित भएका छन् । युवाहरूले सिर्केमा हुने हरेक कार्यक्रमहरूमा अवरोध गर्दै आएका छन् । पूर्वाधार विकास कार्यालय ,जाजरकोटले निर्माण गर्न लागेको मोटर बल पुल लामो समय सम्मा निर्माण नभएपछि युवाहरू आन्दोलित हुनुपरेको हो । मोटरेवल पुल निर्माणको जिम्मेवारी नेपाल मेघा सिस्ने जेभी नेपालगञ्जले लिएको थियो । पाँच वर्ष सम्मा पुल निर्माण नभएपछि युवाहरू चरणबद्ध आन्दोलनमा रहेका छन् ।

२०७८ साउन २९ गते पूर्वाधार विकास कार्यालय जाजरकोटमा जेभीले पुल निर्माण गर्ने भन्दै ठेक्काको सम्झौता गरेको थियो । सम्झौतामा पुलको निर्माण गरेर हस्तान्तरण गर्ने अन्तिम मिति २०८२ साउन २० गते रहेको थियो । ३ करोड ९ लाखमा पुल निर्माण गर्नका लागि सम्झौता भएको थियो । तत्कालीन जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंहले उक्त पुलको शिलान्यास गरेका थिए । शिलान्यास गरेदेखि हालसम्म पुल निर्माण स्थलमा निर्माण व्यवसायी नआएको स्थानीय बताउँछन् । पुल नहुँदा जीर्ण रहेको झोलुङगे पुलबाट हालसम्म तीन जनाको मृत्यु भइसकेको छ । पूर्वमन्त्री सिंह सत्ताबाट बाहिरिएसँगै पुल निर्माणको काम अलपत्र पर्दै आएको छ ।

योजना कार्यान्वयन गर्ने निकाय पूर्वाधार विकास कार्यालयले ठेक्का तोडनका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा फाइल दुई पटक सम्मा बुझाएको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख भूपेन्द्र जैसीले जानकारी दिए । तर मन्त्रालयले कुनै पनि प्रक्रिया अगाडी बढाएको देखिएको छैन । सम्झौता मिति पूरा हुँदासम्म काम नै सुरु नभएपछि युवाहरू आन्दोलित हुनु परेको छ । उत्ता पूर्वाधार विकास कार्यालय जाजरकोटले काम नगर्ने निर्माण व्यवसायीलाई स्पटीकरण पेश गर्नका लागि मङ्सिर १७ गते पत्रिकामा सूचना प्रकाशित गरेको थियो । उक्त सूचनामा भनिएको छ , ‘ सम्झौता अनुसारको निर्माण कार्य सम्पन्न नगरी सम्पर्क विहिन रहेको र लामो समय देखि निर्माण स्थलमा कुनै पनि निर्माणका कार्य गरिरहेको नपाइएको छ । ’

पत्रमा कार्यालयद्वारा विभिन्न मितिमा तोकिएको सम्झौता अवधिभित्र कार्य सम्पन्न गर्न पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदा समेत कार्य सम्पन्न गर्न अटेरी गरेको र विभिन्न मितिमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय तथा कार्यालयमा निर्माण कार्य सम्पन्न गर्ने विषयको छलफलमा कम्पनीको मुख्य व्यक्ति तथा प्रतिनिधिले काम सम्पन्न गर्ने भनी पटक पटक गरेको प्रतिबद्धता बमोजिम निर्माण स्थलमा कुनै पनि काम नगरी अटेरी गरेको विषयमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ भनी उल्लेख गरिएको छ ।

सम्झौता अनुसारको कार्य सम्पन्न नगरेको,निर्माण कार्य अलपत्र पारी चरम लापरबाही गरेको र आफैले पेश गरेको कार्य तालिका अनुसारको प्रगति नगरेको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र ठेक्का सम्झौताका सर्तहरू र प्रचलित कानुन बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कारबाही प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै उचित कारण भएमा प्रमाण सहित स्पष्टीकरण पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ भनी जानकारी गराएको छ । मन्त्रालयको सचिव लगायतको टिमले सहितले अनुगमन गरे पनि हाल सम्मा पुलको ठेक्का तोडेन विषयमा मन्त्रालय नै बाधक देखिएको छ ।

झोलुङगेपुल मर्मत गर्न दिइएन ः कार्यालय प्रमुख जैसी
सिर्केमा रहेको झोलुङगे पुलको मर्मत गर्नका लागि पूर्वाधार विकास कार्यालयले तयारी थालेपनि स्थानीय युवाहरूले मर्मत गर्न नदिएको कार्यालय प्रमुख जैसीले जानकारी दिए । पुरानो जिल्ला विकास समितिले उपभोक्ता समिति मार्फत निर्माण गरेको उक्त पुलको ७ लाख रकम भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिले अहिले पुल मर्मत गर्न नदिएको उनले जानकारी दिए । पुरानो रकम भुक्तानी गरेपछि मात्र नयाँ मर्मत गर्न दिने भन्दै अडान लिएपछि पुल मर्मत हुन नसकेको उनले बताए । पुरानो काम आफूहरूले नगराएकाले भुक्तानी दिन नसक्ने उनले जानकारी दिए । हाल पुल जोखिमपूर्ण बन्दै आएको छ ।

पुल निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने मिति पूरा भई धेरै समय बित्दासम्म सम्बन्धित क्षेत्रका सरोकार राख्ने प्रदेशसभा सदस्यहरूले समेत यसतर्फ चासो नदेखाएको नलगाड नगरपालिका–५ का राजीव सिंहले बताए । यो पुलले जाजरकोट–जुम्ला सडकभित्र पर्नुका साथै नलगाड जलविद्युत आयोजनाको प्रस्तावित बाँध स्थल नजिकै रहेको छ । जलविद्युत आयोजना निर्माण स्थलमा जाने मुख्य पुलसमेत यसलाई लिइएको छ ।

यता भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले निर्माण व्यवसायीसँग छलफल गर्दा पनि निकास नआएको बताए । निर्माण व्यवसायले नै नटर्ने अवस्था आएपछि पुल निर्माणको काम कहिले सुरु हुन्छ त्यो सबै विषय निकै पर धकेलिएको छ । प्रदेश सरकारको मातहतमा रहेको यो मोटरे बल पुल दुई पालिका जोड्ने मात्र नभई नलगाड जलविद्युत आयोजनाका लागिसमेत सहयोगी रहेको छ ।

जिल्लामा अलपत्र परेको विकास निर्माणका विषयमा कुनै पनि राजनीतिक दलको बैठक, सभा तथा समारोहमा कुरा नउठने गरेको छ । यही भू–भागले हालसम्म दुई जना मन्त्री पाएपनि पुल निर्माणको काम अघि बढेको छैन । पुलको ठेक्का पछि आर्थिक मामिला तथा योजना मन्त्री सोही वडाका बेदराज सिंह, हालका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहलाई पाइसकेको छ । तर पुलका विषयमा कुनै पनि कुरा नउठाउँदा विकास निर्माणको काममा किन लापरबाही भएको भन्दै आलोचना हुँदै आएको छ ।

बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाले पुल निर्माणका लागि पटक–पटक दबाब दिए पनि त्यो कुराको सुनुवाइ भएको छैन । जिल्ला कार्यालय तथा प्रदेश सरकारलाई समेत जानकारी गराउँदा पनि सुनुवाइ नभएको नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर रावतले बताए । निर्माण कार्य सुरु गर्ने भएमा समयमै गर्नुपर्ने, होइन भने ठेक्का तोडेर अर्को ठेक्का खोल्नुपर्ने भनेर आफूहरूले दबाब दिए पनि सुनुवाइ नभएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले बताए । निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयले काममा ध्यान नदिएर यस क्षेत्रका जनप्रतिनिधिले दैनिक गाली खानुपर्ने उनले बताए ।





error: Content is protected !!