कर्णालीका पाँच निर्वाचन क्षेत्रबाट एमालेले गर्यो उम्मेदवार सिफारिस, पुरानै अनुहार प्राथमिकतामा

सुर्खेत ः आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले कर्णाली प्रदेशमा प्रत्यक्षतर्फको उम्मेदवार छनोट प्रक्रियालाई तीव्र पारेको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ५ वटामा उम्मेदवारको नाम सिफारिस गरिसकिएको एमाले प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाहले बताए ।

शाहका अनुसार, दैलेख–२, सुर्खेतका दुई वटै निर्वाचन क्षेत्र, सल्यान र रुकुम पश्चिममा उम्मेदवार सिफारिसको काम सकिएको हो । यसअघि नै नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दलले पनि उम्मेदवार सिफारिस गरिसकेका छन् । शाहका अनुसार धेरैजसो क्षेत्रमा सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस भएका छन् । तीमध्ये अधिकांश यसअघि परीक्षण भइसकेका नेताहरु नै पहिलो प्राथमिकतामा परेका छन् । कतै भने उम्मेदवार चयनका लागि निर्वाचन नै गर्नुपरेको छ ।
सुर्खेतका दुई वटै निर्वाचन क्षेत्रमा एमालेले सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरेको छ । सुर्खेत क्षेत्र नम्बर १ मा अनुभवी नेता धु्रवकुमार शाहीको नाम सिफारिस भएको छ । शाहीको प्रतिस्पर्धा यहाँ नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्कासँग हुने छ । शाहीले ०७४ सालको निर्वाचनमा खड्कालाई हराए पनि ०७९ को निर्वाचनमा उनीसँगै पराजित भएका थिए ।
यहाँबाट नेपाली कांग्रेसले खड्काको नाम एकल सिफारिस गरिसकेको छ । यस्तै नेकपाबाट जीतबहादुर रानालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । सुर्खेत क्षेत्र नम्बर २ मा एमाले सुर्खेत जिल्ला अध्यक्ष कुलमणी देवकोटाको नाम सिफारिस गरिएको छ । देवकोटा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिँदै छन् । यहाँबाट नेकपाले झकबहादुर मल्लको नाम एकल सिफारिस गरेको छ । कांग्रेसले यहाँबाट ६ जनाको नाम सिफारिस गरेको छ ।
एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाह स्वयं सल्यानबाट प्रतिनिधि सभा सदस्यका लागि एकल उम्मेदवार सिफारिस भएका छन् । ०७४ मा प्रदेश सभामा निर्वाचित भएका शाह ०७९ को निर्वाचनमा पराजित भएका थिए । यसपटक उनी प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्न लागेका हुन् । सल्यानमा नेकपाबाट प्रकाश ज्वाला, रमेश मल्ल लगायतका नेताहरूको नाम सिफारिस गरिएको छ ।
माओवादीको आधार क्षेत्र मानिने रुकुम पश्चिममा एमालेले पार्टीका जिल्ला अध्यक्ष नन्दाराम देवकोटालाई पुनः उम्मेदवार बनाउने गरी सिफारिस गरेको छ । देवकोटा ०७९ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन माओवादी नेता जनार्दन शर्मासँग २६ हजारको मतान्तरले पराजित भएका थिए । रुकुम पश्चिमलाई कर्णालीमा एमालेको सबैभन्दा कमजोर जिल्ला मानिन्छ । यस क्षेत्रमा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट गोपाल शर्मा एकल उम्मेदवार सिफारिस भएका छन् । यद्यपि, जनार्दन शर्माले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट शर्मा पुनः उम्मेदवार बनेको खण्डमा अन्य दललाई ठुलै चुनौती हुने देखिन्छ । शर्मा गृह जिल्ला रुकुम पश्चिममा प्रभावशाली छन् ।
दैलेख–२ मा भने एमालेले उम्मेदवार सिफारिसका लागि शनिबार आन्तरिक निर्वाचन गरेको थियो । प्रतिस्पर्धामा कर्णालीका पूर्वसभामुख राजबहादुर शाही, पूर्व सांसदहरू राजबहादुर बुढा र लक्ष्मी पोख्रेल तथा युवा नेता विष्णु रिजाल थिए । आन्तरिक चुनावमा युवा नेता तथा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाधिक मत पाए । सोही मतका आधारमा रिजाल र दोस्रो नम्बरमा मत पाएका पूर्व सांसद पोख्रेलको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । दुई नेतामध्ये यो पटक युवा नेता रिजालको सम्भावना बलियो छ ।
पोखरेल यसअघि एक पटक सांसद भइसकेर परीक्षण भइसकेका र ०७९ मा पराजित भएकाले पनि अहिले राजनीतिक अवस्था अनुसार युवा नेता रिजालको सम्भावना बढेको नेताहरू बताउँछन् । रिजाल एमालेभित्र चर्चित युवा नेता हुन् । एमाले प्रदेश अध्यक्ष शाहका अनुसार, कालिकोट, मुगु, जुम्ला, डोल्पा, हुम्ला, जाजरकोट र दैलेख–१ मा उम्मेदवार सिफारिस हुन बाँकी छ । आइतबारभित्रै जाजरकोट, दैलेख—१, र मुगुमा उम्मेदवार टुङ्ग्याउने तयारी भइरहेको प्रदेश अध्यक्ष शाह बताउँछन् । बाँकी जिल्लामा पनि छलफल जारी रहेको र २३ गतेको समयसीमाभित्र प्रदेशले उम्मेदवारको नाम केन्द्रमा पठाउने शाहले बताएकाे रातोपाटीमा खवर छ । ।







