प्रदेश अस्पताल नभएका स्थानीय तहमा प्रदेश सरकारले दियो बजेट

सुर्खेत ,२४ पुस ः कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले तीन वटा पालिकाका स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण गर्न बजेटको अक्तियारी दिने निर्णय गरेको छ ।
सुर्खेतको पंचपुरी नगरपालिकाको सालकोट अस्पताललाई रु १ करोड दिने निर्णय गरेको छ । त्यस्तै दैलेखको दुल्ल नगरपालिकाको दुल्लु अस्पताललाई रु १ करोड , जुम्लाको हिमा गाउँपालिकाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि रु १ करोड दिने निर्णय गरेको सरकारका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिनुभयो । प्रदेश अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा बजेट बिनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै मन्त्रीपरिषदको बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि रू ६० लाख रुपैयाँको इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय गरेको छ । बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेत र ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
हेमन्त केसी







