उपल्लो डोल्पा सधैं राज्यको उपेक्षामा

हेमन्त केसी
डोल्पा ः देश संघीयतामा गएसँगै विकासले समेत गति लिएको छ । त्यही गति अनुसार उपल्लो डोल्पामा रहेका पालिकाहरुमा पनि विकासको लयमा आउँदै गरेका छन् । फरक भाषा, संस्कार तथा चालचलन भएपनि यहाँका स्थानीय विकासको अनुभूति गर्न थालेका छन् । विकासको पहिलो आधारको रुपमा रहेको सडक भने अझै उपल्लो डोल्पासम्म पुग्न सकेको छैन ।

सडक पूर्वाधार निर्माण नभएका कारण उपल्लो डोल्पामा अहिले पनि घोडा, खच्चड तथा चौंरीको सहायताले दैनिक उपभोग्य सामग्री ढुवानी हुँदै आएको छ । यहाँका स्थानीयले चौंरी तथा भेडा मुख्य रुपमा पालन गर्दै आएका छन् । अग्ला हिमालको काखमा रहेका गाउँहरुमा चौंरी तथा भेडाहरुद्वारा दैनिक ढुवानीका अधिकांश काम हुँदै आएका छन् । प्राकृतिक रुपमा फोक्सुण्डो ताललगायत थुपै पौराणिक संरचना भएपनि सडकको सहज पहुँच नहुँदा प्रचार प्रसार अझै हुन सकेको छैन ।
उपल्लो डोल्पाका केही भाग शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले ओगटेको छ । जहाँ हिउँ चितुवादेखि अन्य जंगली जनावारको बासस्थान रहेको छ । माथिल्लो भेग भएकाले चिनको सिमानासँगै भाषागत समस्यले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कार सबैसँग मिल्ने अवस्था छैन । भूगोल अत्यन्तै कठिन छ । सदरमुकामबाट पालिका केन्द्र पुग्ने सडक सञ्जाल नभएकाले लामो दूरीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।
पालिका केन्द्र पुग्न सदरमुकामबाट ४ देखि ५ दिनको पैदल यात्रा गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले बताए । टाढाका बस्ती भएका कारण सबै ठाउँमा सेवा प्रवाहमा समस्य हुँदै आएको उनले बताए । कतिपय वडाहरूमा एक वडाबाट अर्कोसम्म पुग्न २ दिन पनि लाग्ने अवस्था छ । कठिन र भिरालो भूगोल तथा अप्ठ्यारा भीरहरूले गर्दा सडक निर्माण, खानेपानी तथा सिँचाइका पूर्वाधार निर्माणमा समस्या छ ।

ठूलो मात्रामा लगानी लाग्ने र गाउँपालिकासँग आन्तरिक स्रोत कमजोर भएकाले त्यस्ता ठूला विकास निर्माणका कार्य गर्न सकिएको छैन । गाउँपालिकाको ८ र ९ बाहेक अन्य वडाका भूभाग ३८००/४००० मीटरभन्दा माथिको रहेका कारण धेरै चिसो हुने गर्दछ । सो क्षेत्रमा प्रायस्जसो कात्तिक अन्तिमदेखि हिमपात सुरु हुन्छ । यो हिमपातको क्रम फागुन अन्तिमसम्म जारी रहने हुँदा काम गर्न मुस्किल हुने गरेको हो । भौगोलिक विकटताले फिल्डमा ओहोरदोहोर गर्न समस्या हुँने गरेको कर्मचारीहरु बताउँछन् ।

गाउँपालिकाका सबै वडामा स्वास्थ्य संस्थाको विकास नहुँदा समस्य भएको छ । हाल भूगोल र जनसंख्यालाई मध्यनजर गर्दै विभिन्न समुदायको पायक पर्ने स्थानमा ३ वडा स्वास्थ्य चौकी सञ्चालित छन् । अन्य स्वास्थ्य संस्था निर्माणको क्रममा छन् । पालिकाको चालु आर्थिक वर्षको कुल बजेट अनुमान करिब ३५ करोड रहेको छ । सडक सञ्जालका लागि पालिकाको यो बजेट सामान्य केही अंश मात्र रहेको छ । भौगोलिक विकटताले गर्दा साना साना विकासका योजनामा पनि ठूलो धनराशी खर्च हुने गरेको छ ।
विकास गर्नुपर्ने क्षेत्रहरू बहुआयामिक भएपनि स्रोतको अभावले सबै काम गर्न नसकिएको अधिकृत ढकालले बताए । सडक, भवन, कृषि तथा पशु क्षेत्र विकासका कार्यक्रम, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, उद्योग, पर्यटन पूर्वाधार, क्षमता विकासका कार्यक्रम, स्वास्थ्य, पोषणलगायतका सम्पूर्ण बहुआयामिक क्षेत्रको विकासका लागि हाल विनियोजित हुने गरेको बजेट धेरै नै अपर्याप्त रहेको उनको भनाइ छ । अहिले सबै शीर्षकमा सानो सानो बजेट अंक वितरण हुने गरेको छ ।
पालिकाको आन्तरिक स्रोत कमजोर रहेकाले केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकमसमेत अत्यन्तै न्यून हुँदा काम गर्न गाह्रो हुने गरेको उनको भनाइ छ । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गर्दा सुगम र दुर्गमको ख्याल नगरी सबै क्षेत्रलाई समान रुपमा बजेट विनियोजन हुँदा डोल्पामा मारमा परेको छ । सुगममा १ करोडमा लागत इस्टिमेट भएको कार्यको यहाँको लागत स्टिमेट ३र४ करोडसम्म हुने गर्दछ । यहाको मुख्य सम्भावनाको केन्द्रविन्दु भनेको प्रशिद्ध फोक्सुण्डो ताल रहेको छ ।
ताललाई कर्णालीको मूख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकियो भने यसले राम्रो फाइदा हुने देखिन्छ । एकातिर ठूलो संख्यामा पर्यटक भित्रन्छन् भने अर्कोतिर फोक्सुण्डो क्षेत्रमा होटेल व्यवसाय फस्टाउँछन्, रोजगारी बढ्छ, सँग सँगै स्थानीय उत्पादनले बजारसमेत पाउने अधिकृत ढकालको भनाइ छ । अर्को पर्यटनको गन्तव्य भनेको शे गुम्बा हो । प्रत्येक १२ वर्षमा शे–मेला लाग्छ । धार्मिक पर्यटनको हिसाबले यो उच्च सम्भावना बोकेको सम्पदा हो ।
त्यस्तै थासुङ छोलुङ गुम्बा, चार ताल, सुलिगाड झरनालगायत थुप्रै प्राकृतिक तथा धार्मिक सम्पदासमेतले पर्यटकीय सम्भावना बोकेका स्थल रहेका छन् । त्यस्तै जडिबुटी अर्को मुख्य सम्भावनाको क्षेत्र रहेको छ । यार्सागुम्बा संकलन र बिक्रीवितरण यहाँका जनताको मुख्य आयास्रोत रहेको गाउँपालिकाले जनाएको छ । यार्सागुम्बाको घरेलु खेतीको समेत सम्भाव्यतालाई अगाडी बढाएर आधुनिक उन्नत प्रविधि र उत्पादन विधिको विकासबाट घरेलु रुपमा खेती गरियो भने आर्थिक लाभ हुने सम्भावना रहेको छ ।
गाउँपालिका प्रवेश गर्दा ४००० मिटरभन्दा माथिका धेरै जसो हिमालहरू पार गर्दै पैदल यात्रा गर्नुपर्ने यहाँको बाध्यता छ । हाइ अल्टिच्यड सिकनेसको जोखिम रहेको छ । संघ र प्रदेशबाट प्राप्त हुने सशर्त, विशेष र समानिकरण अनुदानबाट धेरै काम हुने गर्दछ । चिसो हिमपातका कारण चैत अन्त्यतिर मात्रै पुनस् विकासका कार्य सुचारु हुने भएकाले समयावधि ५ महिनाको हुने गरेकोछ । सोही कारण संघ र प्रदेशबाट प्राप्त भएको सशर्तर विशेपरसमपुरक अनुदान असार मसान्तसम्म खर्च गर्नसमेत मुस्किल हुँदै आएको उनको भनाइ छ ।
शे–फोक्सुण्डो गाउँपालिका जस्ता उच्च हिमालि क्षेत्रका स्थानीय तहका लागि आर्थिक वर्ष पुसदेखि मंसिर मसान्तसम्मको अवधिलाई निर्धारण गरिनुपर्नेमा यहाँका जनप्रतिनिधिको जोड छ । उपल्लो डोल्पाको डोल्पोबुद्ध, छार्काताङसुङ गाउँपालिका समेत यही समस्या रहेको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यस डोल्पोबुद्ध गाउँपालिकाको भू–भाग समुन्द्री सतहबाट झण्डै २८०० मिटर देखि ७०५० मिटरसम्मको उचाइमा रहेको छ ।
गाउँपालिकाको सम्पूर्ण भूभाग उच्च हिमाली क्षेत्रले ओगटेको छ । यहाँ अधिकांश जमीन कडा चट्टान र उच्च पहाडी भागले ओगटेको छ । कडा चट्टान र नाङ्गो पाखो रहेकाले सिँचाइ सुविधाको अभाव रहेको पालिकाले जनाएको छ । झण्डै ९० प्रतिशतभन्दा बढी जमिन ४५ डिग्री भन्दा बढी भिरालो रहेको छ । हाल पालिकाभित्र सबै वडामा सडक निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर थापाले बताए ।







