हिमपातले हुम्लाको लिमी आउजाउ बन्द, हिमाली बस्तीहरूमा विकास निर्माण ठप्प

सुर्खेत ः हुम्लास्थित नाम्खा गाउँपालिका–६ अन्तर्गत लिमी आउजाउ गर्ने बाटोहरू हिउँले पुरिएपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ। लिमी आसपासका क्षेत्रमा हालसम्म तीन पटक हिमपात भइसकेको छ। लिमी पुग्न चिनियाँ सीमास्थित हिल्सा तथा सदरमुकाम सिमकोटबाट झन्डै पाँच हजार मिटर उचाइमा रहेका नारा र न्यालु लेक पार गर्नुपर्छ। दुवै लेकमा हाल करिब तीन फिटसम्म हिउँ जमेको छ।

मंसिरको पहिलो सातादेखि नै सदरमुकाम सिमकोटदेखि हिल्सासम्मको यातायात सेवा बन्द भएको थियो। ुअहिले लिमी पूर्ण रूपमा प्राकृतिक बन्दाबन्दीमा परेको छ, हिउँ बिलाउन कम्तीमा चार महिना लाग्छ, वडाध्यक्ष पाल्जोर तामाङले भने,कोही स्थानीय बिरामी परे हवाई उद्धारबाहेक अन्य विकल्प छैन।

लिमीमा तिल, जाङ र हल्जी गरी तीन गाउँ छन्। ती तीनवटै गाउँमा १४७ घरधुरीको बसोबास छ। तर कात्तिकको दोस्रो सातादेखि नै करिब १०–१५ जना घर कुरुवा छोडेर अधिकांश बासिन्दा झन्डै छ महिनाका लागि सदरमुकाम सिमकोट, नेपालगन्ज, सुर्खेतलगायत स्थानतर्फ झरिसकेका छन्।

हिमपात र अत्यधिक चिसो बढेपछि नाम्खा गाउँपालिकामा निर्माणाधीन झन्डै छ दर्जन योजना ठप्प भएका छन्। ुअत्यधिक चिसोका कारण सिमेन्ट जम्ने समस्या देखिएको छ, अधिकांश गाउँहरू खाली हुँदा काम गर्ने जनशक्तिको पनि अभाव भयो, गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले भने, त्यसैले वैशाखसम्म विकास निर्माणका काम बन्द गरेका छौँ।

चिसोका कारण संघीय सरकारको बजेटबाट निर्माण भइरहेको कर्णाली करिडोरअन्तर्गत च्याछरा–याल्वाङ गौडा सडक खण्डको काम पनि बन्द भएको छ। त्यस्तै, प्रदेश सरकारको बजेटबाट सञ्चालन भइरहेको सिमकोट–खार्पु (मानसरोवर–कैलाश गेटवे) एकीकृत पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका छ वटा योजनाको कामसमेत रोकिएको छ। यसका साथै पाँच वटा विद्यालय भवन, दुई वटा सडक तथा केही मन्दिर निर्माणका काम पनि अवरुद्ध भएको अध्यक्ष लामाले जानकारी दिए। यी योजनाहरूको कुल बजेट झन्डै १० करोड रुपैयाँ रहेको छ।

सिमकोट गाउँपालिकामा निर्माणाधीन झन्डै दुई दर्जन योजनाहरू अत्यधिक चिसोका कारण बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए। सिमेन्ट र ढलानका काम गर्न सकिने अवस्था छैन, उनले भने, अन्य साना योजनामा भने निर्माण कार्य जारी छन्।

स्थानीयको मौसमी बसाइँसराइका कारण विकासमा ठूलो असर परेको मुगुको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए। हिमाली जिल्लामा विकासको समय जम्मा एक महिनामात्रै हुन्छ, उनले भने, छ महिना हिमपात, दुई महिना जडीबुटी संकलनको सिजन र तीन महिना वर्षाले विकास रोकिरहेकै हुन्छ। उनका अनुसार सडक सुविधा नहुँदा सदरमुकामबाट निर्माण सामग्री प्रतिकिलो सय रुपैयाँसम्म ढुवानी भाडा तिरेर पुर्‍याउनुपर्ने हुँदा लागत अत्यधिक हुने गरेको छ। ुसदरमुकाम गमगढीमा एक हजार रुपैयाँ प्रतिबोरा पर्ने सिमेन्ट गाउँपालिकामा पुर्‍याउँदा कम्तीमा पाँच हजार रुपैयाँ पर्छ, उनले बताए।




सम्बन्धित समाचार


error: Content is protected !!