बीरेन्द्रनगरमा पानी ल्याउन तीन अर्ब पाँच करोडको काम हुँदै

सुर्खेत /  प्रदेश राजधानी बीरेन्द्रनगरमा दीर्घकालीन विकल्पका रूपमा भेरी नदीको पानी पम्पिङ गरेर ल्याउनका लागि रुख कटाको काम अन्तिम चरणमा पुगेको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना एकाइका प्रमुख सञ्जीवकुमार साहका अनुसार वीरेन्द्रनगर नगरपालिका ८, ११ र १२ का सामुदायिक वनका रुख पहिलो चरणमा नौँ सय रुख कटान गरिएको छ ।

दोस्रो चरणमा लेकबेँसी नगरपालिका–१० मा रुख कटान गरिने छ । ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग अनुमति प्राप्त भइसकेसँगै आयोजनाले रुख कटानको काम धमाधम अघि बढाएको हो । यि क्षेत्रमा एक हजार पाँच सय रुख कटानको अनुमति पाएको आयोजना प्रमुख साहले बताउनुभयो ।
यस्तै आयोजना अन्तर्गत पाइपलाइन विस्तारको काम पनि धमाधम भइरहेको छ । वीरेन्द्रनगर उपत्यकाभित्र ३५ किलोमिटर पाइपलाइन विस्तार हुन लागेको हो  । अहिले १३ किलोमिटर पाइपलाइन विस्तारको काम सकिएको खानेपानी क्षेत्र पूर्वाधार सहयोग आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा सबै स्थानमा पाइपलाइन विस्तार गरिसक्ने गरी काम थालिएको हो । हाल वीरेन्द्रनगर नगरपालिका–११, अमृतडाँडामा पानी खसाल्नका लागि पूर्वाधार निर्माणका काम थालिएको छ । अमृतडाँडामा तीन वटा पानी प्रशोधन केन्द्र निर्माण गरेर ९० लाख लिटरको पानी प्रशोधन हुने आयोजना प्रमुख साहले बताउनुभयो ।

आयोजना र बीरेन्द्रनगर नगरपालिकाको संयुक्त समन्वयमा काम भइरहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी आयोजनाको सम्झौता गरिएको छ । २०८१ भदौ १२ गते सुरु भएर २०८४ भदौ १२ सम्मा निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिएको छ । तीन अर्ब पाँच करोड रुपियाँमा ठेक्का सम्झौता भएको आयोजनाको कुल लागतको ७० प्रतिशत खर्च विश्व बैङ्कले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ , प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।

 




सम्बन्धित समाचार


error: Content is protected !!