धो-तारापको परम्परागत बसाइँसराइ

जीवनमणि पौडेल

इतिहासअघिको इतिहासदेखि इतिहासको कालखण्डतिर फर्केर हेर्ने हो भने त्यहाँ देखिन्छ– चुनौतीपूर्ण पर्यावरणीय अवस्थाबाट मानिस बसाइँ सर्नु वा स्थानान्तरण हुनु तिनका लागि एक महत्त्वपूर्ण जीवनयापन रणनीति हो । नेपालको हिमाली भेगमा बसोबास गर्ने मानिसका लागि हिउँदका केही महिना बसाइँ सर्नु वा स्थानान्तरण हुनु जीवन बचाउने रणनीति हो ।

आज पनि वसन्तमा लगाइएको खेतीबालीलाई शरद ऋतुमा थन्क्याउने र न्यानो भेगतिर बसाइँ सर्ने चलन हिमाली भेगका मानिसको संस्कृतिको अभिन्न अंग बनेको छ । यो उनीहरूका लागि अस्थायी बसाइँसराइ मात्र होइन, खाद्य सुरक्षाको रणनीति पनि हो ।

छोटो कृषि–चक्र, सीमित कृषियोग्य जमिन, वार्षिक रूपमा एक पटक मात्रै गरिने कृषि प्रणाली र न्यून कृषि उत्पादनका कारण हिमाली भेगका बासिन्दालाई आफ्नो उत्पादनले वर्षैभरि खान पुग्दैन । यसकारण पनि हिमाली भेगका बासिन्दाका लागि हिउँदे बसाइँसराइ सीमित उत्पादन र परिवार बचाउने एक महत्त्वपूर्ण जीविकोपार्जनको रणनीति हो । यो हो– भौगोलिक कठिनता तथा मौसमी प्रतिकूलताभित्रको पर्यावरणमा बाँच्ने पुर्ख्यौली रणनीति ।

नेपालमा आदिवासी, जनजाति प्रज्ञा प्रतिष्ठानमा सूचीकृत गरिएका ५८ जनजाति समूहमध्ये १८ समूह हिमाली जिल्लामा बसोबास गर्छन् । यी सबै आदिवासी समूह हिउँदका तीनदेखि चार महिना जाडो छल्न काठमाडौंदेखि अन्य पहाडी तथा तराईका सहरलगायत भारतसम्म जाने प्रचलन छ । समयसँगै परिवर्तन भए पनि यो प्रचलन उपल्लो डोल्पाको धो–तराप उपत्यकामा अझै प्रचलनमा छ ।

यो उपत्यकाभित्रका धो, तोक्यु र लाङ– तीन गाउँका बासिन्दा हिउँदमा कम चिसो हुने क्षेत्रमा बसाइँ सर्ने गर्छन् । हाम्रा हिमाली भेगको छोटो अवधिको बसाइँसराइ–कथा, परम्परा, अभ्यास र जीवनशैली बुझ्ने एक आँखीझ्याल हुन सक्छ– ताराप–पाको परम्परागत जीवनशैलीका अभ्यास नियाल्ने प्रयास ।

विसं २०७८ को जनगणनाअनुसार, धो–ताराप उपत्यकामा ४ सय ६३ पुरुष र ५ सय ७१ महिलासहित कुल १ हजार ३४ जनसंख्याको बसोबास छ । यी गाउँका बासिन्दालाई सामूहिक रूपमा ताराप–पा भनिन्छ । कृषि, पशुपालन र व्यापार धो–ताराप उपत्यकाका मानिसको जीविकोपार्जनका प्रमुख आधार हुन् । समुद्री सतहदेखि करिब ४ हजार मिटरको उचाइमा रहेको यस उपत्यकामा चिसो मौसमले खेतीपातीका गहन भू–उपभोगलाई सीमित गरेको छ । मौसमी प्रतिकूलताले यस उपत्यकामा वैशाखदेखि खेतीपाती सुरु गरिन्छ भने असोजमा थन्क्याइन्छ । जौ र आलु यहाँको प्रमुख बाली हो । जौ यहाँको सबैभन्दा पुरानो बाली मात्रै होइन, मुख्य खाद्यान्न पनि हो ।

मानवशास्त्री जेस्ट र साथीहरूका अनुसार, यस उपत्यकामा आलु सन् १९६२ मा मात्रै प्रवेश भएको थियो, जुन अन्य हिमाली क्षेत्रमा यसअघि नै भित्रिसकेको थियो । यस उपत्यकाभित्र पनि लाङ गाउँका बासिन्दाहरूले तल्लो डोल्पाबाट आलुको बिजन ल्याएर पहिलो पटक खेती गरेका थिए । तोक्यु र धो गाउँका बासिन्दाले पछि मात्रै आलु खेती गर्न थाले ।

यस उपत्यकामा मानिसहरूबीच अन्न बालीका बीउ आदानप्रदान गर्ने प्रचलन व्यापक छ । यस सामाजिक प्रचलनले उनीहरूलाई आफ्नो कठिन भौगोलिक वातावरण र बजारको अभावमा पनि बाँच्न सहयोग गरेको मात्रै थिएन, सिकाएको पनि छ । तर, अहिले गाउँमा टनेल तरकारी खेती पनि केही मात्रामा सुरु हुन थालेको छ ।

जीविकोपार्जनका लागि उपत्यकाका बासिन्दाले याक, हिमाली लुलु गाई, ज्योपा, बाख्रा, भेडा, घोडा आदि घरपालुवा जनावर पालेको पाइन्छ । ताराप–पामा यी घरपालुवा जनावरका दूध, मासु, घिउ, दही र ऊन जीवनयापनका प्रमुख स्रोत हुन् । भेडाबाख्राको मललाई खेतबारीमा प्रयोग गरिन्छ भने गाईको गोबर घरमा खाना पकाउने ऊर्जा स्रोतका रूपमा प्रयोग गरिन्छ । तर, पछिल्ला तीन दशक वा सोभन्दा बढी समयदेखि ताराप–पाको पशुपालनप्रतिको धारणामा परिवर्तन आएको छ । सन् १९९० को दशकसम्म पनि यस उपत्यकावासीको आर्थिक हैसियत भेडा–बाख्राको संख्याले मापन गर्थ्यो । तर, बच्चा र युवाहरू शिक्षा र रोजगारीको खोजीमा काठमाडौं, भारत र अन्य देशमा स्थायी रूपमा बाहिरिएपछि पशुपालनमा व्यापक रूपमा परिवर्तन आएको छ । योसँगै आर्थिक हैसियत पशुधनको नियन्त्रणबाट बाहिरिएको छ ।

ताराप–पाका लागि व्यापार जीविकोपार्जनको अर्को महत्त्वपूर्ण स्रोत हो । दक्षिण र पश्चिमका नेपालका पहाडी क्षेत्रहरू र उत्तरतिर तिब्बतबीचको फरक पारिस्थितिकीय वातावरणमा अवस्थित धो–तारापले अन्य छिमेकी समुदायसँग पुस्तौंदेखि नुन र अन्नको व्यापार गर्दै आएको थियो ।

सडकको अभाव, मोटरयुक्त यातायात, दूरसञ्चार वा भण्डारण गृहबिनै यस भेगका व्यापारीले कारोबारमा लागत घटाएरै भए पनि एक बलियो अर्थतन्त्रको विकास गरेका थिए । स्वीस मानवशास्त्री हाना राउवरका भनाइमा सन् १९३० मा भारतको उत्तर–पश्चिमी राज्य रेलवेसँग जोडियो । त्यो क्षेत्र नेपाली सीमासँग जोडिन थालेपछि नुन–अन्नको व्यापार प्रणालीे क्रमशः कमजोर बन्दै गयो र सन् १९५० को अन्त्यमा तिब्बती चीनको अधीनमा बस्न थालेपछि पूर्ण रूपमा बन्द भयो । यसले यहाँको वस्तु विनिमय प्रणालीमा रहेको अर्थ व्यवस्थालाई नराम्ररी प्रभाव पार्‍यो ।

२१ औं शताब्दीको सुरुवात हुनुअघि नेपालको हिमाली जडीबुटी यार्चागुम्बुले विश्व बजारमा प्रवेश गरेको थिएन । तर, यसको अर्थ ताराप–पाका लागि यार्चागुम्बु नयाँ वस्तुका रूपमा आयो भन्ने होइन । आम्चीहरूले परम्परागत रूपमा यसलाई औषधिका रूपमा प्रयोग गर्दै आएका थिए र छन् । विश्व बजारमा यार्चागुम्बुको प्रवेशसँगै ताराप–पाहरूको जीविकोपार्जनमा नयाँ आयाम थपिएको छ, जसले आर्थिक रूपमा उनीहरूको जीवनस्तर बढाएको पनि छ । यो नयाँ आर्थिक अवसरको रूपमा देखा पर्‍यो । तर, जलवायु परिवर्तन र यसको अत्यधिक दोहनसँगै यार्चागुम्बुको उपलब्धता पनि क्रमिक रूपमा ह्रास हुँदै गएको छ । त्यसैले यार्चागुम्बुमा आश्रित बन्दै गएको यहाँको अर्थतन्त्रको भविष्यमाथि चुनौती थपिएको छ ।

यार्चागुम्बुले विश्व बजारमा प्रवेश पाएसँगै ताराप–पाको बसाइँसराइको प्रचलनमा परिवर्तन आएको छ । जति बेलासम्म यार्चागुम्बुले अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरेको थिएन, ताराप–पाहरू हिउँदमा काइके बस्तीमा कामको खोजीमा जाने गर्थे । अहिले यस उपत्यकामा मानिस बसाइँ सर्ने क्रममा कमी आएको छ । उनीहरू हिउँदमा पनि गाउँमै बसोबास गर्ने गर्छन् । सो समयमा खेतीपातीको काम नहुने भएकाले मानिसहरू गुम्बामा जाने र पूजापाठ गर्ने गर्छन् ।

एक समय थियो धो–ताराप उपत्यका विकासका पूर्वाधारहरूबाट टाढा थियो । तर, पछिल्ला वर्षमा विकासका पूर्वाधारसँग यो उपत्यका पनि क्रमशः जोडिन थालेको छ । सडक सञ्जाल र दूरसञ्चारका माध्यमबाट यो उपत्यका अन्य हिमाली उपत्यका, छिमेकी देश चीन र छिमेकी मुलुकसँग जोडिएको छ । यो उपत्यका माथिल्लो डोल्पाका विभिन्न उपत्यका, मुस्ताङ र तिब्बतसँग जोडिएको छ । यसले उनीहरूका लागि वस्तुसँगको पहुँचमा सहजता ल्याएको छ । तर, हिउँदमा पर्ने हिमपातले सडक सञ्जाल सहज भने छैन ।

हिमाली काखमा रहेकाले प्रत्येक घरपरिवारका लागि स्वच्छ खानेपानीको उपलब्धता छ । राष्ट्रिय बिजुलीको प्रसारण लाइनसँग अहिले पनि यो उपत्यकाका गाउँहरू जोडिन सकेका छैनन् । त्यसैले सौर्य बत्ती यहाँका लागि प्रकाशको मुख्य स्रोत बनेको छ । तर, यो सबै घरपरिवारको पहुँचमा छैन ।

यस गाउँमा माध्यमिक तहसम्म पढाइ हुने क्रिस्टल माउन्टेन स्कुल छ । यस स्कुललाई एक्सन डोल्पो भन्ने फ्रान्सेली गैरसरकारी संस्थाले सहयोग गरेको छ । यहाँको स्कुलको पठनपाठन वैशाखदेखि १५ मंसिरसम्म हुने गर्छ । पुसदेखि चैतसम्म विद्यालय बन्द रहने भएकाले शैक्षिक गतिविधि शून्यझैं रहन्छ । तर, मौसम अनुकूल भए स्थानीय शिक्षक तथा शिक्षिकाले पठनपाठनलाई निरन्तरता दिन्छन् । त्यसैले यहाँको हिउँदको शैक्षिक गतिविधि मौसमी अवस्था वा सर्तमा अडिएको छ । केही परिवारले भने छोराहरूलाई हिउँदमा भारतका गुम्बाहरूमा बौद्ध दर्शन र धर्म पढाउन पठाउने गरेका छन् । त्यसैले बालक तथा युवाले बौद्ध धार्मिक मूल्य मान्यता ग्रहण र आत्मसात् गरेका छन् ।

हिउँदमा धो–ताराप उपत्यकामा सरकारी सेवा तथा प्रहरी प्रशासनको उपस्थिति ज्यादै न्यून वा शून्य हुन्छ । अझै स्थानीय तहमा हुने विवाद तथा झैझगडालाई स्थानीय रूपमै रहेको सामाजिक संस्थाले मिलाउने भएकाले प्रहरी प्रशासनको आवश्यकता नपरेको हो । स्थानीय तहको निर्वाचन र स्थानीय जनप्रतिनिधिको छनोटसँगै स्थानीय तहमा हुने विवाद र झैझगडा समाधानमा जनप्रतिनिधिको भूमिका र दायित्व बढेको छ ।

यो लेख योजन बस्नेतको सहयोगमा तयार पारिएको हो, धो–ताराप उपत्यकामा उनले सन् २०२२ को अप्रिलदेखि सेप्टेम्बरसम्म अध्ययनका लागि बिताएका थिए




सम्बन्धित समाचार


error: Content is protected !!