भेरी लिफ्टिङ आयोजनाः रुख कटानको काम अन्तिम चरणमा

सुर्खेत ः भेरी लिफ्टिङ आयोजनाअन्तर्गत रुख कटानको काम अन्तिम चरणमा पुगेको छ । वीरेन्द्रनगरमा खानेपानीको दिर्घकालीन विकल्पका रूपमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने परियोजना अनुरूप काम धमाधम अघि बढेको हो । यो आयोजनाअन्तर्गत रुख कटानको काम अन्तिम चरणमा पुगेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना इकाईका प्रमुख सन्जिवकुमार साहले बताए ।

नौ सय रुख कटान गरिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं ८, ११ र १२ का सामुदायिक वनका रुख पहिलो चरणमा कटान गरिएको छ । दोस्रो चरणमा लेकवेशी नगरपालिका वडा नं  १० मा रुख कटान गरिनेछ । वीरेन्द्रनगर नगरपालिका वडा नं ८, ११ र १२ तथा लेकवेशी नगरपालिका वडा नं १० मा पर्ने ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग अनुमति प्राप्त भइसकेसँगै आयोजनाले रुख कटानको काम धमाधम रूपमा अघि बढाएको हो । एक हजार पाँच सय रुख कटानको अनुमति पाएको आयोजना प्रमुख शाहले जानकारी दिए । अहिले नौ सय रुख काटिएको छ ।

यस्तै, आयोजनाअन्तर्गत पाइप लाइन विस्तारको काम पनि धमाधम भइरहेको छ । वीरेन्द्रनगर उपत्यकाभित्र ३५ किलोमिटर पाइपलाइन विस्तार गर्न लागिएको हो । पाइपलाइन विस्तारसँगै अन्य कामहरूले पनि गति लिने भएकाले प्राथमिकताका समथ काम अघि बढाइएको जनाइएको छ । १३ किलोमिटर पाइपलाइन विस्तारको काम सकिएको खानेपानी क्षेत्र पूर्वाधार सहयोग आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा सबै स्थानमा पाइपलाइन विस्तार गरिसक्ने गरी काम थालिएको हो । अब भने रुख कटान गरेसँगै आयोजना निर्माणका अन्य काम पनि अघि बढाइने आयोजनाले जनाएको छ । अबको दश दिनमा रुख कटानको काम सकेर आयोजना निर्माणका अन्य काम अघि बढाउने तयारी गरिएको शाहले जानकारी दिए ।

आयोजनाअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं। ११ अमृतडाँडामा पनि पूर्वाधार निर्माणका काम थालिएको छ । पर्खाल निर्माणको काम सुरु गरिएको छ । अबको केही दिनमा अन्य काम पनि सुरु गरिने जनाइएको छ । अमृतडाँडामा तीनवटा पानी प्रशोधन केन्द्र निर्माण गरिनेछ । त्यहाँ ९० लाख लिटरको पानी प्रशोधन केन्द्र निर्माण गरिने आयोजना प्रमुख शाहले बताए । भेरीको पानी अमृतडाँडामा खसालिनेछ । अमृतडाँडामा इन्टेक निर्माणको काम गरिनेछ । यद्यपि, केही काम अघि बढेपनि आयोजना निर्माणको कामले अपेक्षित गति लिन भने सकेको छैन । निर्माण प्रक्रिया थालिएदेखि हालसम्म १३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

पाइपलाइन विस्तार र रुख कटानको काम भने धमाधम भइरहेको छ । बाँकी कामलाई पनि अघि बढाएर तोकिएकै लक्ष्यमा काम गर्नेगरी अघि बढेको आयोजनाले जनाएको छ । अहिले वीरेन्द्रनगर नगरपालिकाको प्रत्यक्ष निगरानीमा आयोजना निर्माणको काम भइरहेको छ । आयोजना र नगरपालिकाको सयुक्त समन्वयनमा काम भइरहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । उनले भनिन्, ‘रुख कटानको काम सकिएको खण्डमा अन्य काम रफ्तारमा अघि बढ्नेछन् ।

तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ । २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । तीन अर्ब पाँच करोडमा ठेक्का सम्झौता गरिएको छ । ग्लोबल टेण्डरमार्फत् गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो । वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अगाडि सारेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको हो । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजन बन्न लागेको हो । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ । अहिले भने विना अवरोध विभिन्न काम भइरहेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!