कालिकोटमा शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

कालीकोट ः कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो ।

नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छवस्थित रूपादेवी माविले गणित विषय शिक्षकका लागि १८ पटकसम्म विज्ञापन गरे पनि पाउन सकेको छैन । अछामको रामारोसनसँग सिमाना जोडिएको दुर्गमको यो विद्यालयले सङ्घीय अनुदान कोटामा गत वर्ष प्राप्त गणित विषयको दरबन्दीमा शिक्षक नपाएपछि १९ औँ पटकको विज्ञापन गरेको छ ।

वैशाखयता १५र१५ दिनको फरकमा १८ औँ पटक विज्ञापन गर्दा पनि दर्खास्त परेन । विद्यालयका प्रधानाध्यापक ९प्रअ० दानबहादुर बुढाले गणितका शिक्षक पाउनै मुस्किल भएको बताउनुभयो ।

गत कात्तिक ३० गते विद्यालयले १९ औँ पटक आवेदन आह्वान गरेको थियो तर अध्यापन अनुमतिपत्र ९लाइसेन्स० भएको शिक्षक पाउन कठिनाइ भएको प्रअ बुढाको भनाइ छ । ९० प्रतिशत दलित समुदायको बसोबास रहेको उच्छवबाट नजिकको अर्को विद्यालय पुग्न दुई घण्टा जङ्गलको बाटो हिँड्नु पर्छ । विद्यालय टाढा भएपछि स्थानीयले मानापाथी उठाएर २०३५ सालमा स्थापना गरेको रूपादेवी विद्यालयमा बाल विकासदेखि १० कक्षासम्म ३७५ जना विद्यार्थी अध्यानरत छन् । तीन प्रावि स्थायी दरबन्दी भएको विद्यालयमा पालिका अनुदान, निजी स्रोत गरी १३ जना शिक्षक कार्यरत छन् ।

यस्तै शुभकालिका गाउँपालिका–२, बालाचौरस्थित कालिका माविले अघिल्लो शैक्षिक सत्रका लागि मावि तह विज्ञान विषयको शिक्षकका लागि पाँच पटक विज्ञापन गर्दासम्म अध्यापन अनुमतिपत्र भएको एक जनाले पनि दर्खास्त दिएनन् । कसैको आवेदन नपरेपछि शैक्षिक सत्र २०८१र८२ का लागि गाउँपालिकाबाट प्राप्त विज्ञान विषयको सङ्घीय अनुदान ‘फ्रिज’ भयो ।

पटक पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएपछि बिनालाइसेन्सको विज्ञान शिक्षक भर्ना गरेर विद्यालयले अध्यापन गराउँदै आएको छ । गएको जेठ १० गतेको व्यवस्थापन समिति बैठकबाट विज्ञानमा स्नातक गरेका स्थानीय अमरबहादुर शाहीलाई अभिभावकबाट उठाएर मासिक २५ हजार रुपियाँ दिने गरी शिक्षक नियुक्त गरेको प्रधानाध्यापक सरस्वती बस्नेतले बताउनुभयो । यो विद्यालयमा अध्ययनरत ५०१ विद्यार्थीमध्ये २८३ जना दलित समुदायका छन् । प्राथमिक तहका तीन जनाको स्थायी दरबन्दी रहेको विद्यालयमा पालिका, सङ्घीय अनुदान र निजी स्रोतका गरी १३ जना शिक्षक छन् ।

त्यस्तै मावि दरबन्दी शून्य भएको दाहाल मावि सुकाटिया र जनता मावि छातीले पनि सङ्घीय अनुदानको विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक पाएका छैनन् । शुभकालिका गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले स्थायी दरबन्दी नभएका १२ वटा माध्यमिक विद्यालयलाई अङ्ग्रेजी, गणित र विज्ञान विषयका प्रति विद्यालय तीन जना शिक्षकका लागि सङ्घीय अनुदानको प्रतिव्यक्ति ४३ हजार ६८९ रुपियाँ दिने सरकारी नीति रहेको बताउनुभयो तर यहाँ शिक्षक नै नपाउँदा विद्यालय मर्कामा छन् ।

पलाता गाउँपालिकाले गत वर्ष अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक व्यवस्थापन गर्न सङ्घीय अनुदानको बजेटबाट आफैँ विज्ञापन ग¥यो । अङ्ग्रेजी १०, गणित १० र विज्ञान १२ जना शिक्षकको विज्ञापन गरे पनि दर्खास्त नपरेपछि सम्बन्धित विद्यालयलाई नै शिक्षक खोज्न लगाएको थियो । त्यसपछि दुधेसिल्लो मावि बेर्सनकोटले तीन पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएको प्रधानाध्यापक मानबहादुर रोकायाले बताउनुभयो ।

“विज्ञान शिक्षक खोज्न देशभरका नेटवर्कमा सम्पर्क गरेँ,” नेपाल शिक्षक सङ्घ कर्णाली प्रदेश अध्यक्षसमेत रहनुभएका रोकायाले भन्नुभयो, “कतै शिक्षक नपाइएपछि छिमेकी विद्यालयको शिक्षकलाई फकाएर नियुक्ति ग¥यौँ । कालिका मावि धौलागोह डोरीमा कार्यरत विज्ञान शिक्षक अमरबहादुर शाहीलाई १० हजार निजी स्रोतबाट थप्ने गरी नियुक्त गरियो ।” शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईले विषयगत शिक्षक नपाउनु कालीकोटका नौ वटै स्थानीय तहको साझा समस्या भएको बताउनुभयो । अङ्ग्रेजी, गणित र विज्ञान विषय अध्ययन गरेका विद्यार्थीले शिक्षण पेसालाई कम महत्व दिने भएकाले विषयगत शिक्षक नपाइने समस्या रहेको उहाँको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!