लिमीका बस्ती छेउमै आउछन् नाउर

राजन रावत

हुम्ला ः नाम्खा गाउँपालिका–६, को हिमालपारीको गाउँ लिमीका तीन वटा बस्तीका छेउमै नाउर आउने गरेका छन्। लिमीमा घरपालुवा र जङ्गली जनावर मारकाट गर्न नपाइने स्थानीय नियमको कारण ती नाउर पनि मानव बस्ती मै आउन थालेका हुन्।

लिमीका तीन वटै बस्तीका नजिकै नाउरका बथान चर्दै आउने गरेको हल्जी गाउँका स्थानीय कोनुर्वु तामाङले बताउनुभयो। एकातिर अनुमति नलिई नाउरको शिकार गर्न नपाई व्यवस्था रहेको अवस्थामा अर्कोतिर लिमीका स्थानीयले कुनै पनि जङ्गली जनावरलाई मारकाट गर्न नपाइने र मारकाट गरे कारबाही गर्ने नियम लागु गर्दै आएकाले नाउर यसरी बस्ती नजिक आउने गरेका हुन्।

लिमीका गाउँमा अन्य जनावरलाई पनि मारकाट गर्न पाइँदैन। मारकाट नहुने भएपछि जङ्गली जनावर समेत मानव बस्ती नजिक आउने र तर्सिनै छोडेकोले बस्ती भित्रै आएर चर्ने गरेको उहाँले बताउनुभयो।

लिमीमा मानिसको बस्ती हुने तील, हल्जी र जाङ गाउँ रहेका छन्। यी तीन वटै बस्तीमा दैनिक जसो दिउँसो पानी पिउने समयमा बस्तीमै आएर पानी पिउने र चर्ने गरेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो।

लिमीमा नाउरको सङ्ख्या कति छ भन्ने कुरा एकिन नभए पनि धेरै सङ्ख्या रहेको उहाँले बताउनुभयो।




सम्बन्धित समाचार


error: Content is protected !!