२५७ बर्ष अघि पृथ्वीनारायण शाहले दिएको खड्ग फुलपाती जाजरकोट दरबारमा भित्र्याइयो

जाजरकोट ः तत्कालिन गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण अभियानका सिलसिलामा दुइ सय ५७ वर्ष अघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको खड्ग अर्थात तरवार बडा दशैको फुलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा सोमवार जाजरकोट दरवारमा भित्र्र्याइएको छ ।


वडादशैंका अवसरमा फुलपाती भित्र्याउने कार्यक्रम अनुसार तत्कालिन जाजरकोट राज्यको शक्तिको प्रतीकको रुपमा रहेको उक्त खड्ग जाजरकोटको पुरानो सदरमुकाम जगतिपुरवाट जाजरकोट दरवारमा भित्र्याइएको हो । स्थानीय सर्वसाधारणहरु, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरुको व्यापक सहभागितामा शंख ध्वनी र बाजागाजा सहित भेरी नगरपालिका ४ शान्तिचौतारामा स्वागत गदै गैरीखालीमा पुजाआजा र सलामी दिएर उक्त खड्गलाइ जाजरकोट दरवार लगिएको हो । बोकाको बली दिएर प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले विधि पुर्वक पुजाआजा गरेर दरबारमा फुलपाती र खडग भित्र्याउनुभयो । सो अवसरमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सलामी दिएका थिए ।


विक्रम सम्वत १८२५ माघ ५ गते काँसीको मणिकर्णिकाघाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालिन जाजरकोटी राजा हरि शाहसंग नेपाल एकिकरण अभियान सफल पार्ने उदेस्यले धर्मसन्धी गर्दै उक्त खड्ग ( तरवार ) जाजरकोट राज्यलाइ उपहार स्वरुप दिएका थिए । दुइ राज्यका विचमा एक अर्कालाइ सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग जाजरकोटी राजालाइ दिइएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताउनुभयो । उहाँले झन्डै ७ सय वर्ष अघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतिपुरमा राखिएको उक्त खड्ग अर्थात तरवार १८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दशैंको फुलपातीका दिन विशेष पुजाआजा सहित जगतिपुरवाट खलंगा दरवारमा ल्याउने परम्परा सुरु भएको बताउनुभयो ।

फुलपातीका दिन विशेष पुजाआजा सहित बली दिएर जाजरकोट दरबारमा रहेको जमारा घरमा उक्त खड्ग भित्र्याउने परम्परा रहेको छ । जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ । पहिला राजाले गर्ने खड्ग पुजा राज्य रजौटा उन्मुलन भएपछि २०१८ साल बाट प्रमुख जिल्ला अधिकारीले गदै आएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गत बर्ष गएको भुकम्पले दरबारमा क्षतिग्रस्त भएको छ । त्यही क्षतिग्रस्त दरबारमा विधिपुर्वक शक्तिको प्रतिक खड्ग भित्र्याईएको हो ।
जगतिपुरमा रहेको राजा र देवताको शक्तिलाइ विस्तारै खलंगा स्थित दरवारमा सार्ने उद्देस्यले प्रत्येक वर्ष फुलपातीका दिन पुजाआजा सहित उक्त खड्गलाइ खर्के देउताको रुपमा पुज्दै ल्याउन थालिएको भेरी नगरपालिका ४ का ७९ बर्षिय समाजसेवी खम्बजंग शाहले बताउनुभयो ।

फुलपातीका दिन जाजरकोट दरवारमा भित्रयाइएको उक्त खड्गलाइ दशैंको फुलपाती अर्थात सप्तमी, महाअस्टमी, महानवमी र विजयादशीमीको दिन सम्म पन्चे वाचाको ध्वनीका साथ वोका, रांगाको वलि दिएर भव्य रुपमा पुजाआजा गरि दशमीकै दिन टीका लगाईसकेपछि जगतिपुरमै फर्काउने परम्परा रहे पनि मुलुकको १० वर्षे माओवादी द्धन्दका क्रममा असुरक्षाका कारण उक्त खड्ग २०५८ देखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमै राख्ने गरिएको थियो । गत बर्ष देखि पुरानै परम्परा अनुसार जगतिपुरबाट खड्ग जाजरकोट दरबारमा भित्र्याईएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । जाजरकोट राज्यको उत्पति र खड्ग सुरुमा राखिएको मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाइ जगतिपुरमै राख्ने पुरानै परम्पराको निरन्तरता दिने काम भएको प्रजिअ पौडेलले बताउनुभयो ।





error: Content is protected !!