कर्णाली तथा सुदुरपश्चिमका २७ पालिकामा जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना लागू हुँदै

सुर्खेत  , १३ साउन ः कर्णाली तथा सुदुरपश्चिमका २७ पालिकामा जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना लागू हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वातावरण विपद समन्वय शाखाका मनोज अधिकारीका अनुसार कर्णालीका १९ पालिकामा जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना लागू हुने भएको छ । त्यस्तै सुदुरपश्चिमका आठ जिल्लामा कार्यक्रम लागू गर्न छनोट भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सुदुरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहमा सञ्चालनमा रहेको जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना २०८२/५/ ११ मा प्रस्ताव आह्वान गरिएको थियो । सूचना बमोजिम प्राप्त प्रस्तावहरुको “जलवायु परिवर्तन स्थानीय अनुकूलन (परियोजना सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२“ बमोजिम मूल्याङ्कन पश्चात तपसिल बमोजिम कर्णाली प्रदेशका १९ (उन्नाइस) वटा र सुदुरपश्चिम प्रदेशका ८ (आठ) वटा स्थानीय तह गरी जम्मा २७ (सत्ताइस) स्थानीय तह जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना सञ्चालनका लागि छनौटमा परेका हुन ।

दैलेखको भैरवी गाउँपालिका , नारायण नगरपालिका , ठाँटीकाँध गाउँपालिका , चामुण्डा बिन्द्रासैनी नगरपालिका रहेका छन् । त्यस्तै जाजरकोट कुसे गाउँपालिका , जुम्ला तातोपानी गाउँपालिका , सल्यान त्रिवेणी गाउँपलिका , शारदा नगरपालिका , कालिमाटी गाउँपालिका , कपुरकोट गाउँपालिका , कालिकोट पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिका रहेका छन् ।
त्यस्तै छनोटमा पर्नेहरुमा मुगु खत्याड गाउँपालिका , छायाँनाथ रारा नगरपालिका , सुर्खेत पञ्चपुरी नगरपालिका , बराहताल गाउँपालिका , गुर्भाकोट नगरपालिका , रुकुम पश्चिम मुसिकोट नगरपालिका र हुम्लाको अदानचुली गाउँपालिका रहेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशका बाजुराको जगन्नाथ गाउँपालिका , बुढीगङ्गा नगरपालिका , डोटीको बडीकेदार गाउँपालिका , डढेलधुराको अजयमेरु गाउँपालिका ,बझाङको खप्तडछान्ना गाउँपालिका , केदारस्यु गाउँपालिका रहेका छन् । बैतडीको मेलौली नगरपालिका र दार्चुलाको दुहुँ गाउँपालिकामा कार्यक्रम लागू हुने भएको छ ।





error: Content is protected !!