कर्णालीको बीस पालिका भित्र छविस सय हेक्टरमा फूलफुलको बगैँचा स्थापना हुने

हेमन्त केसी
सुर्खेत ः कर्णालीका नौँ जिल्लाका बीस पालिकामा फलफूलबालीको बगैँचा स्थापना गर्नका लागि अनुदान दिने भएको छ । कर्णाली प्रदेश सरकारको पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ मार्फत अनुदान दिएर फलफूल बगैँचा स्थापना गर्न लागिएको हो ।
कृषि उद्यमी , कृषक समुह तथा सहकारीहरुले फलफूलबाली बगैँचामा सहभागी हुने कार्यालय प्रमुख रविन धितालले जानकारी दिनुभयो । सन २०२९ सम्मा कर्णालीको २ हजार ६०० हेक्टर जमिनमा फलफूल बगैँचा स्थापना गर्नका लागि बीस पालिका छनोट गरेर काम भइरहेको धितालले जानकारी दिनुभयो । बीस पालिका भित्र सन् २०२९ सम्मा १ हजार ४५० हेक्टरमा स्याउ , ६०० हेक्टरमा ओखर , ३५० हेक्टरमा सुन्तला , १०० हेक्टरमा कागजी बदाम , १०० हेक्टरमा चुच्चे ओखर लगाउने लक्ष्य रहेको छ ।
देलेखका नारायण , चामुण्डाबिन्द्रासैनी , आठबीस , सल्यानको शारदा , सिद्धकुमाख , जाजरकोटको छेडागाड र जुनिचाँदे गाउँपालिकामा यो कार्यक्रम लागू भएको छ । त्यस्तै रुकुम पश्चिमको मुसिकोट ,सानीभेरी र बाँफीकोट , कालिकोटको शुभकालिका र नरहरिनाथ , जुम्लाको हिमा ,सिँञ्जा र कनकासुन्दरी , मुगुको खप्त्याड , सोरु गाउँपालिकामा लागू भएको छ । हुम्लाको ताजाकोट , अदानचुली , डोल्पाको मुडकेचुलामा यो कार्यक्रम लागू भएको कार्यालय प्रमुख धितालले जानकारी दिनुभयो । असोज ६ गते भित्र बगैँचा स्थापना गर्नका लागि सम्झौता गरि सक्न निर्देशन दिइएको छ ।
कम्तिमा १५ वर्ष अवधिको जग्गा भाडा सम्बन्धि वडा कार्यालयको रोहबरमा भएको आधिकारिक करार सम्झौताको प्रतिलिपि भएको हुनुपर्ने उहाँले जानकारी दिनुभयो । फलफूल बगैचा स्थापना गर्न चाहेको जग्गाको सबै कित्ताको विवरण र कित्ता स्पष्ट देखिने नापी नक्शा आवश्यक रहनेछ । प्रस्तावित कुनै एक फलफूल बालीको बगैंचा स्थापना गर्ने जग्गाको क्षेत्रफल कम्तीमा १ रोपनी देखि २० रोपनी हुनुपर्ने व्यवस्था रहेको छ ।
उक्त जग्गा एउटै क्लष्टरमा वा ३ भन्दा कम चक्लामा भएको हुनु पर्ने उल्लेख रहेको छ । आर्थिक वर्ष २०८१।०८२ मा सुन्तलामा १५८ हेक्टर , ओखरमा ५६ हेक्टर , कागजी बदाममा २१ हेक्टर र चुच्चे ओखरमा २ हेक्टर क्षेत्रफलमा बगैंचा विस्तारका लागि सम्झौता सम्पन्न भएको छ । सामुहिक रुपमा आवेदन पेश गर्न चाहेको खण्डमा प्रति घरधुरी कम्तीमा ४ रोपनी क्षेत्रफलमा बगैँचा स्थापना हुनेगरी समग्रमा कम्तीमा प्रति लक्षित फलफूलबालीको १ हेक्टरको क्लस्टरमा बगैँचा स्थापना गर्ने गरी आवेदन पेश गर्नुपर्ने व्यवस्था समेत रहेको छ । कर्णली फलफूल उत्पादनका हिसावले राम्रो मानिएको छ । हिमाली जिल्लामा स्याउँ , ओखरका लागि उपयूक्त रहेको छ ।
अनुदान लिन चाहने कृषि उद्यमी , कृषक समुह तथा सहकारीहरुले पालिकामा रहेका कृषि शाखामा समेत सम्पर्क गर्न सक्ने कृषि अधिकृत धितालले बताउनुभयो । फलफूल वगैचा स्थापनाका लागि अनुदान कृषक समुह, कृषि सहकारी, कृषि उद्यमीलाई रहेको छ । सहकारीमा आधारित मुल्य श्रृखला विकास शीर्षकको अनुदानमा एक पालिकामा कम्तिमा एक लाई उपलब्ध गराउने मापदण्ड रहेको छ ।
स्थानीय सेवा प्रदायक (कृषि सामाग्री तथा सेवा) शीर्षकको कार्यक्रमका लागि एक पालिकामा कम्तिमा एकवटा अनुदान दिइने छ । नर्सरी सुदृढीकरणका अनुदानका लागि प्रदेश भरका सवै स्थानीय तहका निजी नर्सरीलाई दिने भनिएको छ । स्थानीय तह पूर्वाधार विकास शीर्षकमा स्थानीय तह वा प्रदेशमा दिने भनिएको छ ।



