मुख्यमन्त्री कँडेलमाथि विपक्षी नेता शर्माको आक्रामक वर्षा ः लाज लाग्दैन, हेप्न खोज्या हो ?

सुर्खेत ः कर्णालीको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा बुधबारको संसद् बैठकमा आक्रामक देखिए ।मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो ‘एकलो प्रयास’ले मात्रै केही गर्न नसकिने आशय व्यक्त गरेपछि शर्माले त्यही शब्दलाई लिएर उनीमाथि आगो ओकले ।

कँडेलले आफ्नो मन्तव्यको क्रममा सरकारका कामकारबाहीहरू सही तरिकाले अघि बढेको तर सोचेजस्तो नभएको भन्दै भनेका थिए—एक्लो प्रयासले मात्रै केही हुँदो रहेनछ ।

शर्माले मुख्यमन्त्रीको उक्त भनाइलाई अपमानजनक, गैरजिम्मेवार र समग्र संसद्कै अवमूल्यन गर्ने प्रयास भन्दै दर्जनौँ प्रश्नसहित कडा प्रतिवाद गरे ।सुरुदेखि नै आक्रामक शैली अपनाएका शर्माले सरकारलाई दिइने सुझाव ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेजस्तै भएको टिप्पणी गरे ।

शर्माले भने, ‘म एक्लै गएँ, लङ्का एक्लै जितेँ भन्न खोज्नुभएको हो ? कि क्याबिनेटमा म एक्लै छु, अरू मन्त्री अर्कैतिर छन् भन्नुभएको हो ? वा सत्ता साझेदार दलले साथ दिएको छैन, म एक्लो छु भन्न खोज्नुभएको हो ?

उनले मुख्यमन्त्रीको अभिव्यक्तिले सिङ्गो संसद्लाई नै कमजोर र अर्थहीन देखाउन खोजेको आरोप लगाए । ‘अनि यो सदन त भेडाबाख्राको बथान हो कि भनेजस्तो ? एक्लै हिँडिरहेको छु भनेको ? एक्लै गर्ने भए किन चाहियो यो सदन,’ शर्माले मुख्यमन्त्री कँडेलको निवास क्षेत्रमा पर्ने खोर्के खोलाको नाम लिँदै भने, ‘आफ्नो खोर्के खोलाबाट चलाए भइहाल्यो नि ?

प्रतिपक्षले कहाँ रोक्यो , प्रमाण दिन चुनौती

शर्माले मुख्यमन्त्रीलाई यदि प्रतिपक्षले सरकारका राम्रा काममा अवरोध गरेको हो भने त्यसको ठोस प्रमाण पेस गर्न चुनौती दिए । उनले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरे, ‘कहाँ रोक्यो प्रतिपक्षी दलले ? के गर्न दिएन, तपाईँले भन्नुपर्‍यो नि–मैले यति हजार मान्छेलाई रोजगारी दिन खोजेको थिएँ, विपक्षी दलले गर्न दिएन । मैले हुम्लामा पहिरोपीडितका लागि दुई चिरे घर बनाउन खोजेको थिएँ, विपक्षीले दिएन । मैले हजारौँ प्राविधिक कर्मचारी नियुक्ति गरेर जनजीवनमा कायापलट गर्न खोजेको थिएँ, प्रतिपक्षले दिएन भनेर फेहरिस्त ल्याउनुस् ।’

उनले दसौँ राष्ट्रिय खेलकुद आयोजना, अस्पताल सुधारजस्ता महत्त्वपूर्ण विषयमा मुख्यमन्त्रीले के आह्वान गरे र संसद्ले साथ दिएन भनी स्पष्ट पार्न माग गरे ।

सरकारका असफलताको चाङ देखाउँदै प्रश्न प्रतिपक्षी

नेता शर्माले मुख्यमन्त्रीको ‘एक्लो प्रयास’को दाबीलाई सरकारकै असफलताहरूले खण्डन गरेको तर्क गरे । उनले अगाडी थपे, ‘अहिलेसम्म रङ्गशालाको भुक्तानी दिन सक्नुभएको छैन । यो विपक्षी दलले रोकेको हो र , खेलकुद परिषद् रिक्त रहेको कति समय भयो हेक्का छ ? अनि एकलो प्रयास ?

उनले संवैधानिक निकायहरूमा नियुक्ति हुन नसकेको, चिसापानी लगायतका अन्य स्थानमा खेलकुद पूर्वाधार निर्माणको बजेट कार्यान्वयन नभएको र ठेक्का प्रक्रिया रोकिएको भन्दै सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठाए ।

‘भुक्तानी दिनुपर्ने ठाउँमा अहिलेसम्म किन नदिएको ? लाज लाग्दैन ? बोल्ने बेलामा हेक्का राख्नुपर्‍यो नि । कि हामीलाई हेप्न खोजेको हो ,’ शर्माले भने ।

सत्ता साझेदार दल र बजेटमाथि पनि प्रहार

शर्माले मुख्यमन्त्रीलाई मात्र नभएर सत्ता साझेदार दलका मन्त्रीहरू र सत्तारुढ दललाई समेत प्रश्न गरे । उनले मन्त्रीहरूलाई सोधे, ‘किन मुख्यमन्त्रीलाई एक्लै हिँडाइराख्नुभएको छ रु तपाईँहरू के गरिरहनुभएको छ ?

उनले सत्तारुढ दलका नेता जीवनबहादुर शाहीलाई सम्झाउँदै भने, ‘किन एक्लो प्रयासतिर धकेल्नुभएको । साथ दिनुस् न ? कहाँ बोकेर लानुपर्ने हो, कुम बोकेर लानुस् ।’

उनले बजेट निर्माण प्रक्रियामा भएका सहमतिसमेत मुख्यमन्त्रीले तोडेको आरोप लगाए । बजेट प्रक्रियामा भएको ७ बुँदे समझदारीको कार्यान्वयनको फेहरिस्त खै ? भन्दै शर्माले प्रश्न गरे ।

१५ दिनभित्र दिने भनिएको सूची अहिलेसम्म आफूहरूको हातमा नआएको उनको भनाइ थियो ।शर्माले सरकारले कर्मचारीहरूको सरुवा, बढुवामा ‘छानी–छानी, खोतली–खोतली’ गरेर पक्षपातपूर्ण व्यवहार गरेको समेत आरोप लगाए ।





error: Content is protected !!