कर्णाली सरकारद्वारा पाँच निर्णय, पत्रकारिता पुरस्कार कार्यविधि स्वीकृत

सुर्खेत, २१ ः कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैठौं अधिवेशन साउन २१ गते राति १२ बजेबाट अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा कागजातमार्फत खटाउने निर्णय पनि गरेको छ। त्यस्तै, सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेश अनुसार जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं. ४ लुहादहमा तोक्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’ लाई स्वीकृत गर्ने निर्णयसमेत गरिएको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिनुभयो । प्रदेश सरकारका कार्यालयहरूमा सूचना अधिकारको कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।









