बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा २१ करोडको परियोजना सुरु

सुर्खेत ः बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवीकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले सवा २१ करोडको परियोजना सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएका सुर्खेतको भेरीगंगा नगरपालिकाको १ देखि ५ नम्बर र बराहताल गाउँपालिकाको ३ र ४ नम्बर वडामा आगामी चार वर्षका लागि ‘रियलाइज’ परियोजना सुरु भएको हो ।
अन्तर्राष्ट्रिय दातृ संस्था जेर्सी ओभरसिज एडको आर्थिक सहयोगमा रिनेवल वल्र्डले लिवर्ड र सुन्दर नेपाल संस्थाकाको सहजिकरण तथा स्थानीय सरकारसँगको साझेदारीमा रियलाइज परियोजनाको दोस्रो चरण सुरु भएको हो । मध्यवर्ती क्षेत्रका मानिसको दिगो जीवीकोपार्जनका लागि सहयोग पुर्याउनु परियोजनाको मुख्य उद्देश्य रहेको परियोजना व्यवस्थापक आरजु कार्कीले जानकारी दिइन् ।
यसका साथै गरिबी घटाउने, संरक्षणलाई प्रवर्द्धन गर्ने, र बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने ३५ हजार जनाको दिगो जीविकोपार्जन विस्तार गर्ने परियोजनाको उद्देश्य रहेको व्यवस्थापक कार्कीको भनाइ छ । उनका अनुसार परियोजनाअन्तर्गत किसानहरू र उद्यमीलाई स्वच्छ ऊर्जा सोलार प्रविधि प्रयोग गरी कृषिमा आधारित उद्यम सञ्चालन गर्न सहयोग गरिनेछ ।
साथै मध्यवर्ती क्षेत्रवासीलाई वैकल्पिक बाली तथा गैरकाष्ठ वन उत्पादन सम्बन्धी सीप विकास, मूल्य श्रृंखला निर्माण, र निजी तथा सार्वजनिक साझेदारीलाई प्रवर्द्धन गरिने छ । परियोजनाबाट स्वच्छ ऊर्जा आधारित जीविकोपार्जन अन्तर्गत २ हजार ६२५ किसान र ५० ग्रामीण उद्यमहरूले नवप्रवर्तनशील ऊर्जा प्रविधिबाट आय वृद्धि गर्ने लक्ष्य लिइएको छ । समुदायमा सोलारबाट मिल, लिफ्ट, बायो ग्याँस, सुधारिएको चुलो लगायत पनि सहयोग गर्ने जनाइएको छ ।
परियोजनाको पहिलो चरण सन २०२० देखि २०२४ सम्म सञ्चालन भएको थियो । पहिलो चरणका सिकाइ समावेश गरेर परियोजनालाई थप परिस्कृत गरिएको रिनेवल वल्र्डका राष्ट्रिय निर्देशक ठाकुर थापाले बताए । उनले मध्यवर्ती क्षेत्रका मानिसहरुको आर्थिक सशक्तिकरणमा सहयोग पुर्याउनु परियोजनाको मुख्य लक्ष्य रहेको भन्दै सरोकारवाला सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
यसैबीच बुधबार वीरेन्द्रनगरमा परियोजनाको सुभारम्भ कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले भौगोलिक हिसाबले विकट, वन्यजन्तुका कारण निकै प्रभावित मध्यवर्ती क्षेत्रमा परियोजना सञ्चालन हुनले उत्साहित रहेको बताए । मध्यवर्ती क्षेत्रका नागरिकको जीवनमा सहजता ल्याउनका लागि परियोजनामार्फत योगदान पुग्ने नगर प्रमुख ढकालले विश्वास व्यक्त गरेका छन् ।
बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले परियोजनासँग गाउँपालिकाले साझेदारी गर्नका लागि आवश्यक बजेट समेत विनियोजन गरेको बताइन् । उनले मध्यवर्ती क्षेत्रका मानिसहरुले धेरै समस्या भोग्दै आएको भन्दै परियोजना सञ्चालन भएकाले गाउँपालिका र परियोजनाले राखेका उद्देश्य मिलेको बताइन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा। अशोककुमार रामले मावन वन्यजन्तु द्वन्द्वका बहुआयामिक समस्या रहेको बताउँदै परियोजनाबाट न्यूनीकरणमा केही हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गरे । मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका प्रतिनिधिहरुले परियोजनाको पहिलो चरणबाट मध्यवर्ती क्षेत्रबासीलाई राम्रो लाभ पुगेको भन्दै आगामी दिनमा पनि आफूहरुसँग प्रभावकारी समन्वय गरेर अगाडी बढ्न सुझाव दिएका छन् ।








