७९ किलोमिटरमा १० किलोमिटर मात्र कालोपत्र , लुम्बिनी – रारा राजमार्ग बजेट अभावमा निर्माण कार्य रोखियो

हेमन्त केसी
काठमाडौँ ः लुम्बिनी –रारा राजमार्ग अन्तरर्गत जाजरकोट खण्डको काम ढिला हुँदै गएको छ । आवश्यक बजेटको अभावमा काम ढिला भएको हो । भेरी नगरपालिकाको मटेला देखि कुशे गाउँपालिकाको अन्तिम विन्दु सम्मा रहेको यो राजमार्गमा बजेट अभाव हुँदा कामले गती लिन नसकेको हो ।
जाजरकोट खण्डको ७९ किलोमिटर सडक मध्य हाल यो राजमार्गमा १० किलोमिटर मात्र कालोपत्र भएको छ । कुशे गाउँपालिकाकोको पाँचकाटियाँ देखि खुर्पा सम्मा १० किलोमिटर मात्र कालोपत्र गरिएको हो । चालु आर्थिक वर्षमा चार करोड मात्र बजेट रहेको छ । जाजरकोट सदरमुकाम खलंगाबाट पाँचकाटियामा कालोपत्र नभएर बीचको भाग कुशेको पाँचकाटिया हुँदै खुर्पा सम्मा कालोपत्र गरिएको छ । बाँकी खुर्पाबाट कुशेको अन्तिम भाग रहेको ४२ किलोमिटर कालोपत्र गर्नका लागि आवश्यक बजेट नहुँदा काम सुरु हुन नसकेको हो । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले यो सडकमा आवश्यक बजेट सरकारले बिनियोजन नगरेको भन्दै आक्रोष पोखेका पोख्नुभयो । प्रतिनिधिसभाको बैठकमा जाजरकोटका ठुला सडकहरुमा सरकारले किन बजेट दिएन भन्दै आक्रोष पोखेका थिए । उहाँले भन्नुभयो ,‘ नाम राजमार्ग राख्ने , सडक निर्माण गर्नका लागि बजेट नै नदिने यो कस्तो खालको बजेट बिनियोजनको तरिका हो । जिल्ला नै खाली बनाएर के बजेट बिनियोजन गरेको हो ? ’
जाजरकोट सदरमुकामबाट कुशे गाउँपालिकाको पाँचकाटिया सम्मा समेत कालोपत्र हुन सकेको छैन । केही कटानका कामहरु भएपनि अन्य काम हुन सकेको छैन । अहिले प्राप्त बजेटबाट सदरमुकाम स्थित टा«फिक कार्यालय नजिकैबाट केही काम हुन लागेको सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । भेरी नगरपालिकाको मटेलाबाट कुशे गाउँपालिकाको पाँचकाटिया सम्मा २७ किलोमिटर रहेको छ । पाँचकाटियाबाट खुर्पा सम्मा १० किलोमिटर , खुर्पाबाट जाजरकोटको अन्तिम भाग अर्थात जुम्लाको सिमानामा सम्मा ४२ किलोमिटर लम्वाई रहेको छ ।
राजमार्गको सबै भागमा तत्काल कालोपत्र गर्नका लागि बजेट व्यवस्थापन हुने पर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । हाल पाँचकाटियाँ देखि खुर्पा सम्माको १० किलोमिटर ओसिस इन्जिनेरिङ एण्ड विल्ड्रस प्रालि काठमाडौँले ठेक्का लिएर ९६ प्रतिशत काम सम्पन्न गरिसकेको छ । सडक डिभिजन चौरजहारीसँग प्रालिले २०७९ माघ २८ मा सम्झौता गरेर २०८३ साउन २७ गते सम्मा सडक निर्माण गरेर हस्तान्तरण गरिसक्ने सम्झौतामा उल्लेख रहेको छ । ३५ करोड रुपैयाँमा उक्त काम भइरहेको छ । लुम्बिनीबाट रारा जोडने सबै भन्दा छोटो मार्गको रुपमा रहेको यो सडक निर्माण गर्न सरकारले आवश्यक बजेट नदिदा समस्या हुँदै आएको छ । कर्णाली करिडोर भन्दा यो राजमार्गबाट यत्रा गर्दा झण्डै ९ घण्टा छिटो पुग्ने अनुमान रहेको डिभिजन प्रमुख शर्माले बताउनुभयो । यही सडक मार्गको कुशेबाट जुम्ला जोडनका लागि सुरुङ मार्गको अध्ययनको काम भएपनि राज्यले ध्यान नदिदा काम बीचमै असफल भएको छ ।
लुम्बिनी–रारा–मुगु सडक ( जाजरकोट) निर्माण गर्न कति छ लागत ?
भेरी नगरपालिकाकाको मटेलाबाट कुशे गाउँपालिकाको वडा नम्बर ५ पाँचकटिया सम्मा २७ किलोमिटर आधा भेरी करिडोर सडक खण्ड भित्र काम भएको अवस्थामा रहेको छ । सदरमुकाम खलंगाबाट पाँचकारिया सम्मा कच्ची कटानको काम भएको छ । हाल उक्त सडकको पाँचकाटियाबाट कालोपत्रको काम खुर्पा सम्मा सम्पन्न भएको छ । बाँकी कुशे गाउँपालिका वडा नम्बर ८ बेहुलीढुंगामा यो सडक पुरा हुन्छ । खुर्पाबाट बेहुलीढुंगा सम्मा काम हुन बाँकी रहेको छ । आयोजना क्षेत्रका मुख्य बस्तीहरूमा पाँचकटीया, दम्दाला, ढिमे, खुर्पा, जहरगाउँ, समाकोट, नारे, छेडा र रातामाटा रहेका छन् । आयोजनाले विद्यमान माटो सतहको सडकलाई कालोपत्रे सडकमा रूपान्तरण गर्ने प्रस्ताव गरिएको छ । सडकको क्षेत्राधिकार मध्यविन्दुबाट दुवैतिर १५–१५ मिटर, चौडाइ ८.५ मिटर, क्यारिविजेवे ७ मिटर, काध चौडाइ दुवैतिर ०.७५ मिटर रहेको सडक विभाग योजना अनुगमन तथा मूल्याङ्कन शाखाले जनाएको छ ।
मुख्य संरचनाहरूमा पाइप कन्भर्ट ९०० मिटर व्यास भएका १२४ वटा, ६ मिटर स्पान लम्बाइका ८ वटा स्ल्याव कल्भर्ट, पुल २ वटा रहेको र प्रस्तावित आयोजनाका निमित्त ६३.०२ हेक्टर जमिन आवश्यक पर्नेछ जसमध्ये स्थायी रूपमा ५८.७२ हेक्टर (वन क्षेत्र ४०.६८ हेक्टर र निजी १८.०४ हेक्टर) प्रयोग हुने र अस्थायीरूपमा ४.३ हेक्टर जमिन (वन क्षेत्र ३.५ हेक्टर र निजी ०.८ हेक्टर) आवश्यक पर्ने जुन स्वामित्वको आधारमा सरकारी वन क्षेत्र ४४.१८ हेक्टर व्यक्तिगत स्वामित्वको १८.८४ हेक्टर आवश्यक पर्ने भनि ईआईए प्रतिवेदनमा उल्लेख गरिएको सडक विभाग योजना अनुगमन तथा मूल्याङ्कन शाखाले जनाएको छ ।
यो आयोजनबाट १५५ घरधुरीका एक हजार दुईजना प्रभावित हुनेछन् । यिनीहरूको पेशाले कृषि, पशुपालन, तरकारी खेती दूध व्यापार जस्ता कार्य यिनीहरूको आयस्रोत रहेको आयोजनाले जनाएको छ ।
आयोजना बनाउनका लागि दुई वर्ष तर बजेट छैन
मटेला देखि पाँचकारिया सम्माको भाग छाडेर यो आयोजना बनाउनका लागि करिब दुई वर्ष लाग्ने अनुमान २०८० मै गरिएको थियो । यो सडक बनाउनका लागि औसत ६ लाख ४३ हजार ३० श्रमशक्तिको आवश्यक पर्ने र जसका लागि २ लाख १२ हजार ६ जना दक्ष जनशक्ति र ४ लाख ३१ हजार २४ अदक्ष श्रमशक्ति आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । यो आयोजनाबाट महिलाहरुले श्रममा भाग लिन पाउने उल्लेख गरिएको छ ।
कति छ निर्माण लागत ?
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अनुसार यो आयोजनाको ५२.८ किलोमिटर निर्माण गर्नका लागि ३० करोड ५६ लाख अनुमान गरिएको थियो । यस योजनामा आवश्यक कार्यको विवरण, उपकरण, कार्यान्वयनको जिम्मेवारी र अनुमानित लागत हो । यो आयोजना प्रभाव न्यूनीकरणका लागि खर्च हुने कार्यहरूमा क्षतिपूर्ति वृक्षारोपण, सडक सुरक्षाका लागि बायोइन्जिनियरिङ संरचना निर्माण, पानी, ध्वनि तथा वायुको गुणस्तर परीक्षण, सिचाँइ कुलो, जस्ता संरचनाहरूको निर्माण र पुनस्र्थापना आदि रहेका छन् । हाल सम्मा १० किलोमिटर मात्र कालोपत्र गरिएको छ । अहिले बजेट अभावमा काम हुन सकेको छैन ।



