जलस्रोत तथा उर्जा विकास मन्त्रालयद्धारा उत्कृष्ट कार्यसम्पादन गर्ने तीन जिल्लालाइ प्रशंसापत्रसहित सम्मानित

सुर्खेत / कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय डोल्पा ,कालिकोट र सल्यानलाई सम्मानित भएको छ ।
बुधबार मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यसम्पादनमा मन्त्रालयअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयसहित १० जिल्लाको समीक्षा भएको थियो । कालिकोटले गत वर्ष विनियोजित रकमको ९१.८५ प्रतिशत बजेट कार्यान्वयन गर्न सफल भएको हो । दोस्रो हुने डोल्पा ९०.२९ प्रतिशत र तेस्रो बन्ने सल्यान ९०.२३ प्रतिशत खर्च गरी उत्कृष्ट भएको मन्त्रालयका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर पदमराज देवकोटाले बताउनुभयो ।
त्यस्तैगरि निर्देशनालयले ५९.११, दैलेखले ८१.०१, हुम्ला ८६.०४, जुम्ला ८४.२३, जाजरकोट ८३.९६, रुकुम पश्चिम ८३.९६ र मुगुले ८७.३८ प्रतिशत बजेट कार्यान्वयन गरेका छन् । मन्त्रालयमा दुई दिनसम्म सञ्चालन भएको वार्षिक समिक्षा गोष्ठिमा जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा र मन्त्रालयका सचिव इन्द्रदेव भट्टले उत्कृष्ट भएका कार्यालय प्रमुखहरु कालिकोटका प्रविण महत, डोल्पाका प्रकाश गिरी र सल्यानका अनुप श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मानित गर्नुभएको हो ।
सम्मान गर्दै मन्त्री बुढाले जनतालाई प्रत्यक्ष लाभ हुनेगरि विकास योजनाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वार्षिक क्यालेन्डर बनाएर योजनाहरुको कार्यान्वयनतर्फ लाग्न तथा नियमित अनुगमन र मुल्यांकनलाई प्राथमिकता दिइ थप उत्कृष्ट कार्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित २ अर्ब ८६ करोड बजेटमध्ये २ अर्ब २८ करोड ९७९।५४ प्रतिशत० खर्च गरेको छ । जसमा पुँजीगततर्फ ८०.५५ र चालुतर्फ ६७.३६ प्रतिशत खर्च गरेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
यो खर्च कर्णाली प्रदेशका विकासे मन्त्रालयहरुको तुलनामा सबैभन्दा बढी हो । चालु आर्थिक वर्षमा मन्त्रालयमा ३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।



