जाजरकोटमा तथ्यांक, गणना र सर्वेक्षणका विषयमा छलफल

जाजरकोट ः गणना तथा सर्वेक्षणसँग सम्बन्धित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम जाजरकोट सदरमुकाम खलंगामा सम्पन्न भएको छ । तथ्यांक समन्वय कार्यालय सुर्खेतको आयोजनामा आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना, कृषि गणना, आर्थिक तथा औद्योगिक गणनासम्बन्धी विविध पक्षमा विस्तृत छलफल भएको हो । कार्यक्रममा तथ्यांक समन्वय कार्यालय सुर्खेतका प्रमुख विनोद आचार्यले प्रस्तुति दिँदै तथ्यांकको भूमिका नीति निर्माण, योजना निर्माण तथा सेवाप्रवाहमा निर्णायक रहेको उल्लेख गरे ।
उनले भने, “तथ्यांक रहित योजना अन्धकारमा हान्ने बाणजस्तै हो । स्थानीय सरकारका लागि विश्वसनीय तथ्यांक अत्यन्तै आवश्यक छ ।” उनले जाजरकोटमा स्थायी तथ्यांक कार्यालय स्थापना हुनुपर्ने माग पनि कार्यक्रम मार्फत राखे । गणनाको वेला सही तथ्यांक तथा सूचना दिई सहयोग गर्न सबैलाई अपिल समेत गरे । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले यस्ता कार्यक्रमले स्थानीय तह र संघीय निकायबीचको समन्वय बलियो बनाउने विश्वास व्यक्त गरे । उनले तथ्यांकको प्रभावकारी प्रयोगले कर्णालीको गरिबी, पछौटेपन र सेवा–सुविधाको अभाव सम्बोधनमा सघाउ पु¥याउने बताए ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले तथ्यांक संकलनमा भौगोलिक चुनौती, स्रोत अभाव, प्रविधिको कमी, जनचेतना अभाव जस्ता विषयमा आफ्ना अनुभव साझा गरे । साथै, कृषिमा आधारित जनजीवन, रोजगारी, जलवायु परिवर्तन, बजार पहुँच, बीमा र ऋणको अवस्थाबारे छलफल भएको थियो ।
कार्यक्रमले तथ्यांकको गुणस्तरीयता, प्रयोग र पहुँचका पक्षमा स्थानीय तह, प्रदेश तथा संघीय सरकारबीच अझ प्रगाढ समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ । साथै, सहभागीहरूले तथ्यांकलाई योजना निर्माणको आधार स्तम्भका रूपमा स्वीकार गर्दै स्थानीय तहमा स्थायी तथ्यांक इकाइ स्थापना गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा करिब ४० जना विभिन्न निकायबाट प्रतिनिधित्व भएको थियो । कार्यक्रममा तथ्यांक कार्यालयका तथ्यांक अधिकृत केशर बहादुर ओलीले ,सुपरिवेक्षक जनक बहादुर बोहराले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कार्यक्रम संयोजक उमेश कुमार कार्कीले जिल्ला स्तरमा भएको कार्यक्रमको सरोकारवालाहरुलाई समन्वय गरेका थिए । तथ्यांकको बारेमा हालको अवस्था र आबश्यकताको बिषयमा तथ्यांक समन्वय अधिकारी आचार्यले सहभागीमा प्रष्ट पारेका थिए ।










