बागवानी अनुसन्धान केन्द्रस् छैनन् वैज्ञानिक, अनुसन्धान शून्य

कर्णाली प्रदेशको बागवानी विकासका लागि महत्त्वपूर्ण मानिएको जुम्लास्थित बागवानी अनुसन्धान केन्द्र, राजिकोट वैज्ञानिकविहीन अवस्थामा छ।
२०२४ सालमा स्थापना भएको यो ऐतिहासिक केन्द्रमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा अनुसन्धानका सम्पूर्ण कामहरू ठप्प भएका छन्।
यो केन्द्र कर्णालीको उच्च पहाडी क्षेत्रमा हुने स्याउ, ओखर, लसुन जस्ता बागवानी बालीको अध्ययन, अनुसन्धान र नयाँ जात विकास गरी किसानलाई सिफारिस गर्ने उद्देश्यले स्थापना भएको थियो।
तर, हाल तीन जना वैज्ञानिकको दरबन्दी रहेकोमा केन्द्र प्रमुख राजकुमार गिरी एक्ला वैज्ञानिकका रूपमा कार्यरत छन्। त्यस्तै, तीन जना प्राविधिक अधिकृतको दरबन्दी पनि पूर्ण रूपमा रिक्त छ।
‘सरकार अनुसन्धानका लागि केन्द्र खोल्छ, तर पर्याप्त दक्ष जनशक्ति पठाउँदैन, यो ठूलो विडम्बना हो,’ केन्द्रका प्रमुख गिरीले भन्छन्, ‘जनशक्तिको अभावले जुन गतिमा अनुसन्धान हुनुपर्ने हो, त्यो हुन सकेको छैन।’
उनले पटक(पटक जनशक्ति माग गर्दा पनि दुर्गम क्षेत्र भन्दै कर्मचारी आउन नमान्ने र आएकाहरू पनि उत्प्रेरित नहुने समस्या रहेको बताए।
कर्मचारी अभावको प्रत्यक्ष मार किसानमाथि परेको छ। स्थानीय महेन्द्र कार्कीले भने, ‘यो नामको मात्रै अनुसन्धान केन्द्र भयो। बाली विज्ञ नै नहुनु दुःखद पक्ष हो। यहाँ दक्ष जनशक्ति र आधुनिक उपकरणको तत्काल व्यवस्थापन आवश्यक छ।’
अर्का स्थानीय तातोपानी गाउँपालिकाका मुनबहादुर डाँगीले यति धेरै सम्भावना भएको ठाउँमा राज्यको दृष्टिकोण सकारात्मक नभएको गुनासो गरे।
जनशक्तिको चरम अभावका बीच पनि केन्द्रले केही उपलब्धि भने हासिल गरेको छ।
हालसम्म राजिकोट(१ र राजिकोट(२ जातको लसुन तथा स्टार्क क्रिप्सन, ब्राइज्ड एनअर्ली र स्टार्क स्पर गोल्ड जातका स्याउ किसानस्तरमा सिफारिस गरिएको छ।
त्यस्तै, टप रेड र रेड स्पर जातको स्याउ सिफारिसका लागि राष्ट्रिय बीउ(बिजन तथा गुण नियन्त्रण केन्द्रमा पठाइएको छ। केन्द्रले ओखर खेतीमा कलमी प्रविधि विकास गरी प्रतिबिरुवा ५०० रुपैयाँमा बिक्री गरिरहेको छ।
राजिकोटमा अनुसन्धान केन्द्र स्थापना हुँदा उत्साहित भएका कर्णालीका किसानहरू अहिले निराश छन्।
बागवानीमा देखिएका समस्या समाधान हुने र नयाँ जातका बिरुवा पाएर आम्दानी बढ्ने आशा राखेका किसानहरू दक्ष जनशक्तिको अभावमा केन्द्रको प्रभावकारिता शून्य हुँदा चिन्तित बनेका छन्।









