जनताको अधिकारका लागि लड्ने संगठन हो वाइसीएल ः पुर्वमन्त्री बस्नेत

जाजरकोट ः नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले वाइसीएल नेपाल जनताको अधिकारका लागि लड्ने संगठन भएको बताएका छन् । वाइसीएल जाजरकोटको पाँचौं जिल्ला सम्मेलनका अवसरमा बस्नेतले यस्तो बताएका हुन् ।
खलंगामा आयोजित भव्य कार्यक्रममा प्रमुख अतिथि रहेका बस्नेतले राजनीतिक परिवर्तनमा वाइसीएलले खेलेको भूमिकाको चर्चा गर्दै भने, “वाइसीएल युवाहरूको शक्ति र सिर्जनशीलताको प्रतीक हो । यो संगठनले सामाजिक न्याय, समानता र जनताको अधिकारका पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ ।”
बस्नेतले माओवादी आन्दोलनकालमा वाइसीएलले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै भने, “जनयुद्धको कठिन समयमा वाइसीएलले खेलेको योगदान अविस्मरणीय छ । अहिले त्यो उर्जा, त्यही सङ्घर्ष भावनालाई लोकतान्त्रिक अभ्यास, सुशासन र समृद्धिको अभियानमा रूपान्तरण गर्नुपर्ने समय आएको छ ।”
उनले युवाहरूलाई केवल राजनीतिक गतिमा सीमित नरहेर खेलकुद, सिर्जनशीलता, उद्यमशिलता, प्रविधि र सामाजिक सेवामा समेत अग्रसर हुन आह्वान गरे । “वाइसीएल अब यस्ता युवाहरूको संगठन बन्नुपर्छ, जो सिर्जना गर्छन्, समाधान दिन्छन् र समाजलाई अघि बढाउँछन्,” उनले भने ।
बस्नेतले सामाजिक न्याय, समावेशिता र युवाको नेतृत्व विकासलाई संगठनको मूल आधार बनाउनुपर्नेमा पनि जोड दिए। उनले भने, “समाजमा भ्रष्टाचार, अन्याय र विभेदविरुद्धको लडाइँ अझै बाँकी छ । त्यो लडाइँको नेतृत्व वाइसीएलले गर्नुपर्छ ।”
उनले मुलुकमा स्थायित्व, समृद्धि र सुशासन स्थापनाका लागि युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै भने, “राजनीतिक स्थायित्वको जग युवा नेतृत्वले नै राख्नेछ । वाइसीएलले अब संगठन सुदृढीकरण सँगै विकास, रोजगारी र सामाजिक रुपान्तरणको अभियान अघि बढाउनुपर्छ ।”
कार्यक्रममा उनले स्थानीय तहमा युवाहरूको सशक्तिकरण, उद्यमशिलता र सकारात्मक राजनीतिक सहभागिता बढाउन वाइसीएलले विशेष अभियान चलाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा वाइसीएलका केन्द्रिय नेताहरू, जिल्ला इन्चार्ज, पार्टीका नेता तथा अन्य कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
सम्मेलनले संगठनात्मक समीक्षा, आगामी कार्यदिशा तय गर्ने र नयाँ नेतृत्व चयन गर्ने कार्यसूची तय गरेको छ । उक्त सम्मेलनमा जिल्लाभरका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।



